सहमति भएको तीनघण्टा नबित्दै फेरि उत्खनन्

|

भद्रपुर (झापा) : झापा र इलामको चुरे क्षेत्रलाई ढुंगा तस्करले अतिक्रमणको चपेटामा पारेको घटना बाहिरिएको छ। इलामको रोङ गाउँपालिका र झापाको मेचीनगर नगरपालिको सीमा क्षेत्रमा रहेको चुरे क्षेत्रमा अवैध रूपमा ढुंगा उत्खनन हुन थालेपछि रोङ गाउँपालिकाका जनप्रतिनिधि विरोधमा उत्रिएपछि यस्तो घटना बाहिरिएको हो। 

झापाका जनप्रतिनिधि र प्रशासनले चुरे क्षेत्रबाट हुने गरेको अवैध ढुंगा उत्खननमा चासो नदेखाएपछि रोङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय चुरे क्षेत्र बचाउ अभियानमा उत्रिएका हुन्। रोङ–६ स्थित सिद्धि र मेची खोलाबाट तस्करले दिनहुँ ढुंगा, गिट्टी उत्खनन गर्ने कार्य नरोकिएपछि स्थानीय युवाले सिँचाइ नहर बन्द गरेर विरोध गरेका छन्।

स्थानीय युवाले संघर्ष समिति गठन गरी सिद्धि खोलाको सिँचाइ नहर बन्द गरेपछि मेचीनगर वडा नम्बर १, २, ३ र ४ का कृषक नौ दिन पानीबाट बञ्चित हुनु पर्‍यो। सिद्धि नहरको पानीले मेचीनगरमा १७ सय हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गरेको क्षेत्रबाट मात्र ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न पाउने भनी मेचीनगर नगरपालिकाले ठेक्का लगाएको छ। तर, ठेकेदार र तस्करले चुरे क्षेत्रको इलामबाट ढुंगा तस्करी गरी झापा ल्याएर बेच्ने गरेका पाइएको छ।

चुरे क्षेत्रको दोहन रोक्न संघर्ष समितिले बन्द गरेको नहरमा रोङ गाउँपालिकाको नैतिक समर्थन रहेको रोङ–६ का वडाध्यक्ष सुभाष तामाङले बताए। 'म जनप्रतिनिधि नहुँदा र सिँचाइ नहरको निर्माण कार्य हुँदादेखि चुरे क्षेत्र बचाउ अभियानमा लागिपरेको छु', वडाध्यक्ष तामाङले भने, ‘तस्करको चपेटामा परेका चुरे क्षेत्र नै नरहे मेचीनगरवासीले सिद्धिको पानी कसरी पाउँछन्? चुरे क्षेत्र बचाउनु सबैको दायित्व हो। त्यसैले संघर्ष समितिले पानी बन्द गरेर विरोध गरेकै हो।’ 

जनप्रतिनिधिले नहर बन्द नगरेको प्रस्टाउँदै उनले भने, ‘मेचीनगरको बाहुनडाँगी र तिरिङका कृषकलाई नौ दिन पानी नहुँदा समस्या परेकै हो। चुरे दोहन रोकिएपछि कृषकले सधैँका लागि पानी पाउँछ। यस अभियानमा कृषकले पनि साथ दिनुपर्‍यो।’ उनका अनुसार वडा कार्यालयले त्यस क्षेत्रमा उत्खनन गर्ने ट्रयाक्टरलाई १० हजार जरिवाना तोकिदिएको छ।

नहर बन्द भएको नौ दिनपछि सर्वपक्षीय सहमति

चुरे क्षेत्र दोहनसँगै ढुंगा तस्करी रोक्नु माग गर्दै संघर्ष समितिले नहर बन्द गरेको नौ दिनपछि सोमबार इलाम र झापाबीच सर्वपक्षीय छलफल भएको छ। सोमबार अबेर साँझसम्म भएको सर्वपक्षीय छलफलमा चारबुँदे सहमति भएको छ।

सहमतिमा सिद्धि र मेची नदी चुरे बफर जोन क्षेत्रको नदीजन्य पदार्थ निषेधित क्षेत्र भएको हुँदा सो क्षेत्रका ढुंगा, गिट्टी र बालुवा उत्खनन कार्यलाई तत्काल बन्द गर्ने र यस क्षेत्रमा सवारी ढुवानीका सवारी साधनहरू ट्रक, ट्रयाक्टर र टिपर प्रवेशमा रोक लगाइएको छ। साथै‚ सो क्षेत्रमा त्यस्ता सवारी साधन प्रवेश गरेको भेटिएमा दुवै स्थानीय सरकारले कानुनी कारबाहीका लागि स्थानीय प्रशासनमा लेखेर पठाउने र सो क्षेत्रका स्थानीयले घरयासी प्रयोजनका लागि सवारी साधन नदीमा लगेको खण्डमा स्थानीय सरकारबाट अनुमतिपत्र अनिवार्य ल्याउने प्रावधान छ।

सिद्धि नहरको बन्द रहेको पानी मंगलबारदेखि सञ्चालन गर्ने, चुरे बफर जोन क्षेत्रमा उत्खनन भएको नदीजन्य पदार्थलाई  जिल्ला अनुगमन समितिको निर्णयअनुसार नियन्त्रण लिई कानुन बमोजिम प्रक्रिया अघि बढाउने र चुरे क्षेत्रलगायत आइइई नभएका क्षेत्रहरूलाई दुवै पालिकाहरूले उत्खनन नगर्ने/नगराउने प्रतिवद्धता हुँदै सार्वजनिक सूचना दुवै पालिकाले जारी गर्ने निर्णय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए। 

सर्वपक्षीय बैठकमा समन्वय समिति झापाका अध्यक्ष पोर्तेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राई, मेचीनगर उपप्रमुख मीना उप्रेती, समन्वय समिति इलामका उपाध्यक्ष चित्रकला बराइली, सदस्य चन्द्र मगर, झापाका सदस्य गंगा कार्की, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला, रोङ–६ नम्बर वडाध्यक्ष सुभाष तामाङ, मेचीनगर–१ का वडाध्यक्ष पासाङ तामाङ, संघर्ष समितिका संयोजक निर्मल स्याङबो (तामाङ) लगायत सिद्धि नहरका उपभोक्ता, पत्रकार, सुरक्षाकर्मीलगायतको उपस्थिति थियो।

सहमति भएको तीन घण्टा नबित्दै फेरि उत्खनन्

सोमबार बेलुका साढे ६ बजे सर्वपक्षीय सहमतिपछि चार बुँदे सहमति गरेर सबैजना आ-आफ्नो बाटो लागे। चुरे बफर जोनमा उत्खननसँगै सवारी साधन निषेधित क्षेत्र तोक्दै सहमति भयो। सहमति भएको तीन घण्टा नबित्दै उक्त क्षेत्रबाट ढुंगा उत्खनन भएको छ। त्यस क्षेत्रबाट उत्खनन गरी काँकडभिट्टा हुँदै बिर्तामोडतर्फ गइरहेको दुईवटा टिपर इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले नियन्त्रणमा लियो।

प्रहरीले ना ७ ख ६६२५ नम्बर टिपर धुलाबारी चोकबाट र को १ ख ४३९४ नम्बरको टिपर इँटाभट्टा चोकबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए। दुवै टिपरले चुरे क्षेत्रबाटै ढुंगा लोड गरी ल्याएको चालकलाई सोधपुछ गर्दा खुलेको उनले बताए।

चालकसँग मेचीनगरले ठेक्का लगाएको विनीता श्री ट्रेड एन्ड सप्लायर्स प्रालि इटहरी रसिद थियो। उक्त रसिदमा ढुंगा २६५ क्यु फिटको कर बापत एक हजार ७९६ रुपैयाँ लिएको देखिन्छ। टिपर चालकका अनुसार सोमबार बेलुका ६ बजे नेत्र सुब्बाबाट ढुंगा ल्याएको बताए।  

नौ दिनपछि नहर सञ्चालनमा  

झापाका जनप्रतिनिधिले चुरे क्षेत्र दोहनको विषयमा चासो नदेखाएपछि रोङ गाउँपालिकाका युवाले सिद्धि नहर बन्द गरेर दबाब दिन बाध्य पारे। युवाले संघर्ष समिति गठन गरेर पुस २७ गते नहर बन्द गरेका थिए। चारबुँदे सहमतिपछि मंगलबार बिहानदेखि नहर खोलिदिएको रोङ–६ का वडाध्यक्ष सुभाष तामाङले जानकारी दिए।

सिद्धि नहरको पानी मेचीनगरको तिरिङ र बाहुनडाँगी क्षेत्रमा आउँछ। नहरकै पानी त्यहाँका कृषकले खेतबारीमा प्रयोग गर्छ। नहर बन्दा हुँदा नौ दिनसम्म त्यहाँ कृषक समस्यामा परेका थिए। सरकारले ७० करोड बढी लगानीमा सिद्धि नहर सञ्चालनमा ल्याएको हो। 

आइइई गरेको स्थानमा बोर्ड नै छैन 

मेचीनगर नगरपालिकाले आइइई गरेको क्षेत्रमा बोर्ड नलाउँदा चुरे क्षेत्र नभई हडिया, निन्दा, मेची, टिमाई नदीमा जथाभावी उत्खनन् भइरहेको पाइएको छ। ठेकेदारले केही जनप्रतिनिधि र स्थानीय प्रहरीको आडमा ती खोलाको निरन्तर दोहन गरिरहेको छ। खोलाहरूको दोहन भइरहँदा समेत अनुगमन समितिले त्यसतर्फ चासो देखाएको छैन। 

गतवर्ष नदीजन्य पदार्थ जिल्ला अनुगमन समिति झापाले मेचीनगरमा अनुगमन गर्दा पनि नगरपालिकाले आइइई गरेको क्षेत्रबाहेकका क्षेत्रबाट पनि ठेकेदारले जथाभावी उत्खनन गरिरहेको पाइएको थियो। यस वर्ष पनि ठेकेदारले आइइई क्षेत्रबाहेक पनि नदीका सीमाहरू विभिन्न व्यक्तिलाई बेचेर रकम असुल्दै आएको छ।

आइइई क्षेत्र तोकेको स्थानमा सबैले देख्ने गरी बोर्ड राख्न मेचीनगर नगरपालिकालाई जानकारी गराइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए। उनले भने, ‘नियन्त्रण गर्ने प्रहरीलाई नै थाहा छैन। कुन क्षेत्र आइइई गरेको हो। कुन क्षेत्र होइन।’

‘बोर्डसहित आइइईको गरेको प्रतिवेदन मेचीनगरका प्रमुख विमल आचार्यसँग पेश गरेका छौं’, उनले भने, ‘मेचीनगरले नदीजन्य पदार्थको परिणाम खुल्ने गरी बोर्ड राखेपछि नदी दोहन आफैँ नियन्त्रण हुन्छ। यसका लागि प्रहरी लागि परेको छ।’ उनले चुरे क्षेत्रको दोहन रोक्न तिरिङ प्रहरी चौकीका इन्चार्जलाई खटाइसकेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.