मृतक सबैको सनाखत

|

- केशव अधिकारी


धादिङ : धादिङमा ढोलामण्डली तीर्थस्थलको दर्शन गरेर फर्कँदै गरेका यात्रु बोकेको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार मृतकहरूमा सेते गुरुङ, प्रेमबहादुर गुरुङ, बलबहादुर गुरुङ, नारायण श्रेष्ठ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ, र नजबहादुर गुरुङ रहेका छन्।

मृतकहरू नीलकण्ठ नगरपालिका-२ भुलभुले टोलका बासिन्दा हुन्। उनीहरूको उमेर खुल्न सकेको छैन। दुर्घटनामा परी चारजनाको घटनास्थलमा र तीनजनाको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए। 

दुर्घटनामा चालकसहित ३५ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनालाई हेलिकप्टरबाट काठमाडौंको ट्रमा सेन्टर लगिएको छ। चारजना जिल्ला अस्पतालबाट उपचारपछि घर फर्किएका छन्। २० जनाको अहिले जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ।

सदरमुकाम धादिङबेसीबाट ७ किलोमिटरको दूरीमा भएको सो दुर्घटनापछि जिल्ला सदरमुकाम धादिङबेसीबाट प्रहरी तथा उद्धारकर्मी तुरुन्तै घटनास्थल पुगेका थिए। सेनाको हेलिकोप्टर चार्टर खर्च नीलकण्ठ नगरपालिकाले व्यहोर्ने नगरप्रमुद भीमप्रसाद ढुंगानाले जानकारी दिए।  ट्रकमा ४० जनाभन्दा बढी यात्रु रहेका थिए।

धादिङको ज्वालामुखी गाउँपालिका-४ स्थित ढोलामण्डलीमा मंगलबार लागेको मेला हेरेर फर्केका यात्रु बोकेको ट्रक दुर्घटनामा परेको धादिङ प्रहरीले जनाएको छ। धादिङबेँसी फर्कँदै गरेको ग. १ ख ८०१२ नम्बरको आइचर ट्रक मंगलबार दिउँसो चार बजेतिर निलकण्ठ नगरपालिका-९ मैदी भञ्ज्याङमा एक्कासी अनियन्त्रित भई सडकमै पल्टिएको थियो।

हरेक साताको मंगलबार ढोलामण्डलीमा भाकल पूजा हुने गर्दछ। महिला जान नहुने र पाठी मात्रै बली लाग्ने यस मन्दिरमा बली चढाएको मासु मन्दिर क्षेत्रमै खाएर फर्कनु पर्ने मान्यता रहेको छ। पूजा गर्न प्रत्येक हप्ता समूह बनाएर गाउँ गाउँबाट सयौंको संख्यामा मानिसहरू पुग्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.