समाज

जीवन निख्रनै आँट्यो, गाउँमा सुविधा आएन

अर्घाखाँचीमा एकीकृत बस्ती विकास नेताको ओठमै सीमित

माघ ८, २०७६

    अर्घाखाँची : गाउँको विकास कुर्दाकुर्दै सिद्धाराका ज्ञानेश्वर बेल्बासेको उमेर ढल्किसक्यो। अहिलेसम्म विकासले गति लिएको छैन , वर्षौंअघि थालिएका योजना अझै अधुरै छन्। गाउँमा बाह्रै महिना गाडी चल्ने मोटरबाटो, खोला तर्न झोलुङ्गे पुल, पिउने पानी, स्वास्थ्यचौकी र विदेशमा रहेका सन्तानसँग घरमै बसेर कुरा गर्ने सुविधा चाहिएको छ। उनी भन्छन्‌, 'कुसुम खोलामा झोलुङ्गे पुल हाल्न प्रधानपञ्चदेखि हालसम्मका नेता र सांसदलाई भनिरहेको छु, बेल्बासेले भने आश्वासन दिन्छन् तर काम कसैले कहिल्यै गरेनन्। '

    सिद्धाराको धेरै भुगोलबाट कुसुमखोलाको पानी राप्ती खोलामा मिसिएको छ। मावि पढ्न बहखोर जान धेरै खोला तर्नुपर्छ। वर्षामा बाढी आउँदा छोराछोरीलाई धमिलो खोला तारेर विद्यालय पठाउन नसकिने उनले बताए। चुनावताका भोट माग्‍न गाउँमा आउने नेतालाई पुल बनाइदिन, मोटरबाटो ल्याइदिन, खानेपानी व्यवस्था गरिदिन सधैं माग गर्छन्। भोट तान्‍न चुनावताका नेताले आश्वासन दिन्छन्। जितेर गएपछि फर्केर कहिल्यै हेर्ने काम भएन उनले गुनासो गरे।

    जिल्लाको २७ प्रतिशत भुगोल ओगटेको साबिकको सिद्धारा गाविस नयाँ संरचना अनुसार शीतगंगा नगरपालिकाका तीनवटा वडामा विभाजित छ। एउटा टोलबाट अर्को टोलबस्तीसम्म पुग्‍न घण्टौं पैदल हिँड्नुपर्छ। विकासको गति सुस्त भएकै कारण वैदेशिक र स्वदेशी रोजगार एवं अन्य पेसा व्यवसाय गरेर पैसा कमाएपछि तराई, शहरमा घर–घडेरी किनेर उतै बसाइँ सर्छन्। जंगली जनावर बाघ, भालुको आक्रमणको उस्तै त्रास छ।

    एक बस्तीबाट अर्को बस्तीमा जान जंगल छिचोल्नु पर्ने भएकाले एक्लै हिँडे चितुवा र भालुको आक्रमणमा परिने डर हुन्छ। जल, जमिन, जंगल, जडीबुटीले बस्ती धनी भए पनि न्यूनतम सुविधा भने केही नभएकाले समस्या परेको यहाँका स्थानीय बताउँछन्। सिद्धारा स्वास्थ्य चौकी पुग्‍न लिसिकुना, पाकुरीलगायत धेरै बस्तीबाट ६/७ घण्टा पैदल हिँड्नुपर्छ।

    सामान्य रुघाखोकी, ज्वरो, झाडापखालाका बिरामीले उपचार पाउनै कठिन रहेको कमला बेल्वासेले बताइन्।  उनले भनिन्‌, 'म गर्भवती हुँदा नियमित स्वास्थ्य चौकीमा आउन एक दिन लाग्थ्यो। उनले भनिन् जोखिम हुन सक्छ भनेर बच्चा जन्माउने बेलामा दश दिनअघि नै गाँउबाट ऋण खोजेर बुटवल गएको थिएँ। '

    छरिएर रहेका बस्तीका घरमा पुगी बिरामी जाँच्न पनि स्वास्थ्यकर्मीलाई सम्भव छैन। सरकारले प्रत्येक नागरिकलाई स्वास्थ्यसेवा पाउने नीति अघि सारे पनि सिद्धाराका दुर्गम बस्तीका बासिन्दाले सेवा पाउन सकेका छैनन्‌। बिरामी भएमा आफुले जाने बुझेको घरकै जडीबुटीको भर छ।

    हर्रेका सन्तोष पोखरेललाई गाउँमा जताततै मोबाइल सेवा सहज भइदिए हुन्थ्यो भन्‍ने लाग्छ। मोबाइलमा इन्टरनेट चल्दैन। स्वदेश तथा विदेशमा रहेका साथीभाइ, नातेदारसँग भिडियो कलमा कुरा गर्न पाइँदैन, उनले भने  मोबाइलको टावर खोज्‍न अग्लो ठाउँ खोज्दै हिँड्नुपर्छ। नेपाल टेलिकमले टावर राखे पनि सबै ठाउँमा सेवा पुग्‍न सकेको छैन। मोबाइलमा अनलाइनका समाचार हेर्न पनि पाइँदैन, उनले भने, 'सांसद, जनप्रतिनिधि र दलका नेतालाई सुविधा उपलब्ध गराइदिन पटक पटक आग्रह गर्दा हुन्छ पहल गर्छौं भन्छन्, तर काम गर्दैनन्। जनताको कुरै सुन्दैनन्।'

    सिद्धाराको हर्रेबर्रेसम्म हिउँदमा बस आउँछन्। वर्षामा बाटो चिप्लो हुन्छ। सिद्धाराको लिसिकुना, पाकुरी, खयरबट्टी, बाटुले, दुम्सीलगायत गाउँमा मोटर बाटो खनिएको छ। तर सधैं गाडी गुड्न सक्ने अवस्था छैन। ग्रेड मिलेको छैन। डोजर चालकले आफैं अन्धाधुन्ध मोटरबाटो खनेकाले यस्तो भएको स्थानीय बताउँछन्। स्थानीय सीता आचार्यले भनिन्, सरकारी बजेट दुरुपयोग भए पनि अनुगमन गर्न कोही आउँदैनन्।

    सिद्धारामा पशुपालन र कृषि उत्पादन राम्रो छ। यस क्षेत्रलाई एग्री कल्चर क्षेत्र बनाउँछौं भनेर चुनावमा मात्रै होइन, विभिन्‍न कार्यक्रममा गाउँमा आउने सांसद, जनप्रतिनिधि र दलका नेताले भाषण गर्छन्। सिँचाइको कुनै योजना छैन। अनि, कसरी कृषि क्रान्ति होला। भाषणले मात्रै बारीमा तरकारी फल्दो रहेनछ। छरिएर रहेको बस्ती भएकाले विद्युत विस्तार गर्न पनि उस्तै समस्या छ। भूगोल नै जटिल भएकाले विकासका काम तीव्र गतिमा अघि बढाउन नसकिएको सांसद एवं जनप्रतिनिधि बताउँछन्।

    शीतगंगा नगरपालिका-१० का वडाध्यक्ष हिम्मत पोखरेलले भुगोलअनुसार बजेट अत्यन्तै न्यून भएकाले मागअनुसारका योजना सञ्चालन गर्न नसकिएको बताए। 'वडाको बजेटले साना योजना र कार्यक्रम सञ्चालन गर्नै पुग्दैन,' उनले भने, 'गाउँका सर्वसाधारणलाई सरकारी सेवा पुर्‍याउने लक्ष्य रहे पनि शहर र सुगमजस्तो दुर्गम बस्ती हुँदो रहेनछ।' 

    संघीय सरकारले दुर्गम भएका पालिकालाई विशेष क्षेत्र घोषणा गरेर थप बजेट पारेर विकासका काम गर्ने योजना अघि सारेको छ। तर  प्रदेश ५ को सरकारलाई शीतगंगा नगरपालिकाको धेरै भुगोल जटिल छ, बजेट धेरै चाहिन्छ भनेर विशेष क्षेत्रमा सिफारिस गरिदिन पटक पटक यस क्षेत्रका सांसदले मुख्यमन्त्रीलाई भने पनि चासो नदिएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए।

    उनले भने, 'भुगोल नमिलेको ६ सय ३० बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नेपालकै सबै भन्दा ठूलो शितगंगा नगरपालिका हो। ' तर नेपाल सरकारले बजेट बिनियोजन गर्दा ७०/८० बर्गकिलोमिटरमा फैलिएका नगरपालिकाको तुलना गरेर रकम पठाउदा न्यायोचित नभएको नगर प्रमुख अघिकारीले बताए। पर्याप्त बजेटको अभावका कारण गाउँ गाँउमा सोचे जस्तो काम गर्न नसकिएको अधिकारीको भनाई छ।  

    पटक-पटक विभिन्‍न कार्यक्रममा बस्ती एकीकृत गरेर विकास गर्ने कुरा उठे पनि योजना बनाएर लाग्‍न कसैले पहल गरेको छैन। समथर भूभागमा बस्ती विकास गर्ने, त्यहाँ विद्यालय, स्वास्थ्यचौकी, यातायात सुविधा, खानेपानी, सिँचाइलगायत पूर्वाधार विकास गर्ने योजना वर्षौंदेखि सांसद, दलका नेता र जनप्रतिनिधिका भाषणमै सीमित छन्। सिद्धाराका अधिकांश ठूलो क्षेत्रफलमा रहेका खेतियोग्य जमिन बाँझो छ।

    कसैले खेति गर्ने ईच्छा शक्ति राखेर खेति गर्न सुरू गरेपनि बन्य जन्तु बाँदर, बँदेल,भालु, हरिण लगायतले जङ्गलको बिचको खेती नोक्सान गरेर स्यार्नै पाउदैनन्। सबैले खेतीयोग्य जमिन बझाँएपछि एउटा दुईटाले खेति गरेर बन्जन्तुबाट जोगाउनै मुस्किल हुन्छ। त्यसैले यहाँका स्थानीयहरू खेतियोग्य जमिन बझाँएर परिवार सहित कामको खोजिमा शहर पसेका छन्।

    बन्यजन्तुले यहाँमात्रै होईन देशै भरि खेति खाईदिएर नोक्सान पुराएको छ। यहाँका किसान भन्छन् राज्यले बन्यजन्तु नियन्त्रण गर्नु पर्यो। होईन भने बाच्नका लागि सबै नेपाली नागरिकलाई भत्ताको ब्यवस्था गर्नु पर्ने स्थानीय बताउँछन्। गाउँ पुग्‍ने जिल्ला भित्रका अधिकांस कच्ची  मुख्य सडक जीर्ण भएका कारण अलि अलि पानी पर्ना साथ पहिरो जाने भत्किने गर्दा सडक अवरुद्ध नै हुन्छ। तर गाउँ पुग्‍ने दिगो मुख्य सडक निर्माण, स्तरोन्‍नतीको सट्टा ६ वटै स्थानीय तह र वडाहरूले स-साना खुद्रे योजना बनाएर गाँउका टोल टोलमा घरघरमा मोटरबाटो पुराउने होडबाजीले दिगो विकास नै हुन सकेको छैन। बर्षायाममा सडक बन्द भएपछि आवत जावत गर्न स्थानीय नागरिकले हैरानी खेप्दै आएका छन्। नगरपालिका, गाउँपालिका र वडाहरूमा आएको बजेट धेरै जसो सडक सोर्ने र मर्मत गर्नमै खर्च हुँदा बजेटको सदुपयोग भन्दा दुरूपयोग भएको देखिन्छ।

    गाउँमा बाह्रै महिना गाडी चल्ने मोटरबाटो, खोला तर्न झोलुङ्गे पुल, पिउने पानी, स्वास्थ्यचौकी र सञ्चारको सुविधा, ढुक्क सँग खेति भित्र्याउन सक्ने वातावरण स्थानीयले चाहेका छन्, यस तर्फ राज्यको ध्यान जान सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]