|

रुकुम : देशका बिभिन्‍न ठाउँमा पूल निर्माण जिम्मा लिएका ठेकेदारहरुले समयमै काम सम्पन्‍न नगर्दा धेरै योजनाहरु अलपत्र परेका छन्‌। सरकारले बेला बेला ठेकेदाहरुलाई कारवाही देखि कालोसूचीमा राख्दा निर्माणको काम केहि थालनी गरेजस्तो गर्ने र पछि पुनः बषौंसम्म योजनाहरु अलपत्र परेका धेरै उदाहरण छन्‌।

त्यस्तै उदाहरणको अर्को नमुना बनेको छ रुकुम पश्चिमको चौरजहारी र जाजरकोट जाड्ने पुलको कथाब्यथा! रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने मोटरेवल पुल निर्माणको काम थालिएको ६ बर्ष बितिसक्दा पनि सम्पन्‍न हुन सकेको छैन।

६ बर्षसम्म पुल निर्माणको १५ प्रतिशत पनि काम भएको छैन। मध्य-पहाडी लोकमार्गलाई सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिएको छ। तर मध्यपहाडी लोकमार्ग अन्तर्गतको पुल निर्माणको काम भने बषौं देखि अलपत्र छ। स्थानीय भिमबहादुर राणाका अनुसार ठेकेदार कम्पनीले केहि बर्षमा एकदुई पटक आएर काम गरेजस्तो गर्ने गरेको भएपनि बषौंसम्म पनि काम सम्पन्न नगरेको बताए।

‘यहाँका स्थानीयहरुले अब त पुल बन्दैन होला जस्तो नै सोचिसकेका छन’ उनले भने, ‘यस सडक मार्फत यात्रा गर्ने मान्छेहरु यहाँ पुल बन्‍न किन ढिलाई भैरहेको छ भनेर हामीलाई पो सोधेर हैरान बनाएका छन, हामी के जवाफ दिउँ?’ पुल निर्माणको जिम्मा ठेकेदार कम्पनी वाईपी कन्स्ट्रक्सनले लिएको छ। ठेकेदारकै ढिलासुस्ती र लापरवाहीका कारण पुल निर्माण अलपत्र हुदा मध्यपहाडी लोकमार्ग मार्फत यात्रा गर्न यात्रुहरुलाई निकै अफ्ठेरो भएको छ।

लोकमार्ग अन्र्तगत भेरी नदि यताको रुकुम खण्ड र उताको जाजरकोट खण्डको सडक स्तरबृद्धिको काम सम्पन्‍न भएपनि त्यस लोकमार्गबाट सिधा यातायात संचालन हुन सकेको स्थानीय संचारकर्मी गोपाल रेग्मीले बताए। उनका अनुसार पुल निर्माणमा भएको ढिलाईले रुकुम र जाजरकोटबासी सडक सञ्जाल जोडिनबाट बञ्चित छन्। दुवै जिल्लाका स्थानीय हाल पैदल मार्फत आवत–जावतका लागि झोलुंगे पुलको भरमा छन्।

‘सबैभन्दा दुखत कुरा मध्यपहाडी लोकमार्गमा सडकको काम सकिएर पनि पुल निर्माण नहुँदा सडक उपयोग बिहिन जस्तै भएको छ’ उनले भने। एक सय मिटर लामो पुल निर्माणका लागि करिब १५ करोड रुपैयाँमा सम्झौता भएको थियो। निर्माण कम्पनीले भने गलत डिजाइन स्टिमेटका कारण ढिलाई भएको दाबी गर्दै पटक–पटक म्याद थप गर्दै आईरहेको छ। 

३ बर्षको निर्माण म्याद भएपनि ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर्नुको साटो सरकारले पटक पटक म्याद गर्दै गएपछि स्थानीयबासी देखि स्थानीय सरकारका जनप्रतिनिधीहरु समेत अचम्ममा परेका छन। चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले आफुले यो पुलको निर्माण कार्य समयमै सिधाउन धेरै पटक पहल गरेपनि सुनुवाई नभएको बताए।

‘स्थानीय सकारलाई यस बिषयमा अधिकार पनि छैन, केन्द्रबाट नै ठेक्का सम्झौता भैरहेका हुन्छन’ उनले भने, ‘यसमा संघिय सरकारले पहल गर्नुपर्छ। दुखद कुरा यस्ता ठेकेदारहरु फेरी सिंहदरबार वरिपरि नै घुमिरहेका हुन्छन तर सरकारले देख्दैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.