|

बागलुङ : झण्डै दुई सय विद्यार्थीले सभाहल भरिएको थियो। जिल्ला प्रहरी प्रमुख नवराज भट्टले आफ्नो साथीको भविष्य सुरक्षित राख्नेभए सत्य कुरा लेखिदिन आग्रह गरेर सबैलाई एक/एकवटा चिट हातमा थमाए।

मंगलबार दिउसो विद्यामन्दिर माविका कक्षा ९, १० तथा कक्षा ११ का शिक्षा र मानविकी संकाय पढ्ने विद्यार्थीको भीडमा जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवाले सचेतना कार्यक्रम गरेको थियो। उक्त कार्यक्रममा भट्टले हरेक विद्यार्थीको हातमा एक/एकवटा चिट थमाएका थिए। आफ्नै साथी कसैले चुरोट, गाँजा वा अन्य लागुपदार्थ खाएको शंका भए लेख्न लगाए।

त्यसपछि विद्यार्थीले धमाधम आफ्नै साथीहरूको नाम लेखे। त्यो भीडबाट प्रअसहित चार शिक्षकको समेत नाम आयो। उक्त कार्यक्रममा केही विद्यार्थीले प्रअ शान्तमणी ढकाल, शिक्षकहरू छविरमण रेग्मी, थानेन्द्र गौतम र राजेश श्रेष्ठको नामसमेत लिन भ्याए। विद्यार्थीको पिसाब परीक्षण गराएर लागुपदार्थ सेवन गरे नगरेको खोज्न पुगेको प्रहरीले शिक्षकको पनि परीक्षण गर्न बाध्य भयो। उनीहरूको पनि पिसाब परीक्षण गराएको थियो। उनीहरूको पिसाबमा केही नभेटिएको भट्टले बताए।

शिक्षकबाहेक विद्यार्थी भित्रै व्यक्तिगत नाम किटेर लेखिएका ५० वटा चिट भेटिए। ती विद्यार्थीलाई एकातर्फ राखेर प्रहरीले पिसाब परीक्षण गरायो। परीक्षण गराएका मध्येबाट १५ विद्यार्थीले गाँजालगायतका लागूपदार्थ प्रयोग गर्ने गरेको भेटियो। तीमध्ये केही छात्रा पनि थिए। भट्टका अनुसार बढी सेवन गर्ने दुईचारजनामा छात्रा छन्।

बागलुङ नगरपालिकाको सहयोगमा खरिद गरिएका किटको प्रयोग गरेर विद्यार्थीको स्वास्थ्य परीक्षण गराइएको थियो। केही विद्यार्थीले साथीभाईले रिसले नाम दिएको टिप्पणी गर्दै थिए। तर, एक घण्टा नबित्दै सबैको पिसाब परीक्षण गराएपछि लागुपदार्थको सेवन गरे नगरेको प्रष्टै भयो।

किशोर र युवा अवस्थाका बालबालिकाले लुगा लगाउने, खाने र सरसफाइमा ध्यान नदिने, पढाइ बिग्रदै जाने, घरमा बाबुआमाले भनेको नमान्ने जस्ता क्रियाकलाप गरेपछि लागु पदार्थको दुर्व्यसनमा लागेको शंका हुने भन्दै लागु पदार्थ दुर्व्यसनविरुद्ध अभियान चलाएको छ।

‘युवा दुर्व्यसनमा फस्दा घरपरिवार, समाज र राष्ट्रसमेत विकासमा पछाडि परेको छ’ भट्टले भने, ‘युवालाई समयमा सही मार्गमा लैजान नसके भविष्य अन्धकार बन्छ।’ दुर्व्यसनमा फसेको युवालाई फेरि सामान्य मार्गमा ल्याउन कठिन हुने भन्दै समयमा सचेत बनाउन अभियान चलाएको बताए।

अहिलेसम्म प्रहरीले सदरमुकामका अधिकांस निजी तथा सार्वजनिक विद्यालय, ग्रामीण क्षेत्र र आमा समूहमार्फत दुर्व्यसनविरुद्धको अभियान चलाएको छ। 'बालबालिका दुर्व्यसनमा फसेको थाहा पाउने पहिलो व्यक्ति उसकै आमा हुन्छ' भन्दै भट्टले भने, 'आमाले चाहे भने समस्या समाधानमा धेरै सहज हुन्छ।'

समस्या लुकाएर भन्दा उजागर गरेर न्यूनीकरण गर्न सकिने समेत उनले बताए। स्थानीय तहलाई लागु पदार्थ दुर्व्यसनको न्यूनीकरणमा बजेट विनियोजन गरेर सचेतना अभियान, स्वास्थ्य परीक्षण र अन्य क्रियाकलाप संचालन गर्न पनि उनले आग्रह गरे।

उक्त कार्यक्रम उपयोगी भएको भन्दै विद्यामन्दिर माविका प्रअ शान्तमणि ढकालले अन्य संकायमा अध्ययन गर्ने विद्यार्थीमा पनि पिसाब परीक्षण गराउने बताए। ‘यो धेरै उपयोगी विधि र कार्यक्रम रहेछ, बिग्रन लागेका बालबालिकालाई समयमै सचेत गराउने अवसर हो’ ढकालले भने, ‘कक्षा ८ देखिमाथि पढ्ने हरेक विद्यार्थीको पिसाब परीक्षण गर्ने र उनीहरूको समस्याबारे अभिभावकलाई समेत जानकारी गराइनेछ।’ समयमा जानकारी गराउन सकियो भने बालबालिकाको संगत र व्यवहार परिवर्तनमा सहयोग पुग्ने समेत उनले बताए।

लागु पदार्थ दुर्व्यसनमा फसेको युवालाई सही मार्गमा फर्काउने भन्दा लाग्नै नदिने उपायाको खोजी गर्न यो अभियान थालिएको सामुदायिक प्रहरी सेवा गुठीकी अध्यक्ष लीला खड्काले बताइन्। बालबालिका दुर्व्यसनमा फस्दा अभिभावकको खर्च र लगानी बढ्ने भन्दै उनले समयमा सचेत बनाउन सकियो भने बालबालिकाको पढाइसमेत सुधार हुने पनि उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.