|

काठमाडौ : नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी 'इसेवा फोन पे प्रा.लि' आठौँ वर्षमा प्रवेश गरेको छ। आठ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ५० लाख बढीले सेवा लिइरहेको कम्पनीले जनाएको छ। 

यस कम्पनीले मोबाइल तथा इन्टरनेटबाट भुक्तानी तथा रकम आदान–प्रदान गर्न सकिने सेवा दिइरहेको छ। देशभर इसेवाका २० हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन्। इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या एक लाख ५० हजार नाघेको कम्पनीले जनाएको छ। इसेवा एकाउन्ट खोलेर कारोबार गर्नेको संख्या ७ लाखभन्दा बढी रहेको कम्पनीको दाबी छ। 

‘विश्वमा क्यासलेस ट्रान्जेक्सन बढिरहेका बेला नेपालमा पनि यसले गति लिइरहेको छ। नोटको प्रयोग घटाउने सरकारको नीतिलाई सफल बनाउने र मोबाइल वित्तिय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्‍याउने अभियानमा सहयोग पुर्‍याउन पाउँदा हामी गौरवान्वित छौँ,’ आठौँ वर्ष प्रवेशका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले भने। 

नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरुमा इसेवाको उपस्थिती रहेको उनले बताए। इसेवाले आफ्नो आठौँ वर्ष प्रवेशको उपलक्षमा रक्तदान लगायतका विभिन्न कार्यक्रम समेत आयोजना गरेको छ। इसेवाको केन्द्रीय कार्यालय हात्तीसारमा आयोजित रक्तदान कार्यक्रममा इसेवाका करिब सय जना कर्मचारीले रक्तदान गरे। कार्यक्रममा वर्षभरिमा उत्कृष्ट कार्य गर्ने विभिन्न विभागका कर्मचारीलाई पुरस्कृत समेत गरियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.