६ महिनामा १८ प्रतिशत खर्च हुँदा एक वर्षमा कति पुग्ला?

|

काठमाडौं : राष्ट्रिय गौरवका अधिकांश आयोजनाको खर्च अवस्था यो वर्ष पनि निराशाजनक देखिएको छ। गत वर्ष केही प्रगति देखिए पनि यो वर्षको ६ महिनायता खर्च केबल १८ प्रतिशत मात्रै देखिएको हो। 

राष्ट्रिय गौरवका १७ आयोजनालाई विशेष प्राथमिकता दिइएको दाबी सरकारले गर्दै आएको छ। यी आयोजना निर्माणका क्रममा कुनै समस्या आउन नदिने प्रतिवद्धता सरकारबाट आइरहँदा खर्चको अवस्था भने एकदमै कमजोर देखिएको हो।

सरकारको उच्च प्राथमिकतामा परेका राष्ट्रिय गौरवका आयोजनाको खर्च भने निराशाजनक देखिएको छ। यो आर्थिक वर्षमा सरकारको औषत खर्च भन्दा राष्ट्रिय गौरवका आयोजनाको खर्च कमजोर देखिएको छ। ६ महिनामा सरकारको औषत खर्च प्रतिशत पुगे पनि राष्ट्रिय गौरवका आयोजनाको खर्च केबल १८ प्रतिशत छ।

सरकारले उच्च प्राथमकितामा राखेर चालु आर्थिक वर्षमा २१ मध्ये १७ आयोजनलाई चालु आर्थिक वर्षमा खर्च विनियोजन गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको आधा अवधि सकिँदा राष्ट्रिय गौरवका आयोजनका खर्च १८ प्रतिशत मात्रै छ।

राष्ट्रिय गौरवका आयोजनामा सरकारको तर्फबाट कुनै समस्या पर्न नदिने जनाउँदै अन्य समस्या पनि समन्वय गरी समाधान निकालेर तोकिएकै सीमाभित्र पूरा गर्ने वाचा पटकपटक आइरहेको छ। तर खर्चको अवस्था हेर्दा सरकारको बाचा व्यवहारमा नउत्रेको देखिएको छ।

गत आर्थिक वर्ष राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्याएको ८८ अर्बको बजेटमा ८९ प्रतिशत खर्च भएको थियो। चालु आर्थिक वर्षमा सरकारले यी आयोजनाका लागि एक खर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको छ। 

पुरानै लय

अघिल्ला आर्थिक वर्षमा राष्ट्रिय गौरवको आयोजनामा समग्र खर्चभन्दा कम हुने गरेको थियो। गत आर्थिक वर्षमा केही उत्साहजनक देखिएको अवस्थामा चालु आर्थिक वर्षमा खर्च कमजोर देखिएको हो। एक खर्ब एक अर्बको बजेटमा ६ महिनायता १८ अर्ब ३२ करोड रुपैयाँ मात्रै खर्च भएको छ। 

त्यस्तो गत वर्ष अर्धवार्षिक समीक्षासम्मको अवस्थामा पनि २८ प्रतिशत मात्रै खर्च देखिए थियो। त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता देखाएका थिए। 

चालु आर्थिक वर्षमा भने ६  महिनाको अवधिमा अघिल्लो वर्षको तुलनामा १० प्रतिशत न्यून छ। आर्थिक वर्ष २०७४/७५ मा राष्ट्रिय गौरवका आयोजनामा बजेट विनियोजन गरिएको रकममा ४९ प्रतिशत खर्च भएको थियो गत आर्थिक वर्ष ८९ प्रतिश खर्च भएको रेकर्ड छ। 

राष्ट्रिय गौरवका आयोजनाको खर्च प्रगति ८९ प्रतिशत, कुन आयोजनामा कति खर्च?

तर चालु आर्थिक वर्षको ६ महिना बित्दा पनि २० प्रतिशत खर्च पुगेको छैन। यसमा पनि विकास खर्च प्रतिशतको तुलनामा राष्ट्रिय गौरवका आयोजनाको लागि लिएको ऋणको सावा वा व्याज तिर्न गरिएको खर्च प्रतिशत बढी छ। यस्तो खर्च अहिले ३७ प्रतिशत भएको छ। प्रशासनिक खर्च २५ प्रतिशत पुग्दा पुँजीगत खर्च भने १४ प्रतिशत मात्रै छ। 

ऋण तिर्दा बढेको खर्च

राष्ट्रिय गौरवका आयोजनामा गरिएको खर्चमा अहिलेसम्म कर्मचारीको तलबमा मात्रै बजेट केन्द्रित भएको देखिएको छ। सरकारले चालु खर्चको लागि दुई अर्ब १६ करोड रुपैयाँ पुँजीगत खर्चको लागि ८५ अर्ब सात करोड रुपैयाँ र वित्तीय व्यवस्थापनको लागि लिएको ऋणको ब्‍याज तथा सावा फिर्तामा १३ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ।

यस हिसाबले चालु खर्चको लागि १ प्रतिशत र पुँजीगत खर्चको लागि ८४ र वित्तीय व्यवस्थापनको लागि १५ प्रतिशत खर्च विनियोजन गरिएको छ। साढे चार महिनाको अवधिमा वित्तीय व्यवस्थापन शीर्षमा विनियोजन गरिएको रकममा ५ अर्ब १६ करोड ५३ लाख रुपैयाँ खर्च भएको छ। 

महाहलेखाका नियन्त्रकको कार्यालयका अनुसार ६ महिनाको अबधिमा ८५ अर्ब बजेटमा पुँजीगत खर्च १२ अर्ब ६१ करोड भएको छ भने चालु खर्च ५४ करोड ८५ लाख पुगेको छ। चालु खर्च मध्ये ६ महिनामा ५४ करोड ८५ लाख रुपैयाँ भएको छ।

यी पाँच आयोजना जसको ६ महिना वित्दा १० प्रतिशत पनि खर्च छैन, दुई आयोजनाको शून्य खर्च छ। पशुपति क्षेत्र विकास कोषको लागि ३५ करोड चालु खर्चतर्फ विनियोजन गरिएको थियो। तर उक्त रकम अहिलेसम्म निकासा नभएको महालेखाको तथ्यांकले देखाएको छ। त्यस्तै निजगढ विमानस्थलको लागि चालु वर्ष एक अर्ब ५० करोड रुपैयाँ विनयोजन गरिएपनि एक रुपैयाँ खर्च भएको छैन। 

१३ अर्ब ५७ करोड बजेट विनियोजन गरिएको बूढीगण्डकी जलविद्युत आयोजनाको खर्च ६ महिनाको अवधिमा एक अर्ब २ करोड छ। बहुप्रतिक्षित मेल्मची खानेपानी आयोजनाको खर्चको गति थप कमजोर देखिन्छ। 

६ महिनाको अवधिमा मेलम्चीलाई छुट्टाइएको बजेटमा ५ प्रतिशत मात्रै खर्च भएको छ। यस आयोजनाको लागि चालु वर्ष सात अर्ब ३८ करोड विनियोजन गरिएकोमा ६ महिनामा ३७ करोड खर्च भएको छ यसमध्ये २ करोड चालु हो भने ३५ करोड पुँजीगत भएको छ।

नेपाली सेनाले निर्माण जिम्मा लिएको द्रूर्त मार्गको खर्च पनि निकासको हिसाबले अत्यन्त न्युन देखिएको छ। सेनाले भौतिक प्रगति उल्लेख्य भएको जनाएपनि सरकारबाट चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ निकासा भएको छ। सरकारले चालु आर्थिक वर्षमा यो आयोजनालाई १५ अर्ब रुपैयाँ निकासा गरेको थियो। 

५० प्रतिशत माथिको खर्च

६ महिनाको अवधिमा ५० प्रतिशत माथि खर्च गर्ने आयोजनाको संख्या २ छ। तर दुबैको  ऋण तिर्न मात्रै रकम विनियोजन गरिएको थियो। माथिल्लो तामाकोशीको लागि चालु आर्थिक वर्षमा वित्तीय व्यवस्थापन शीर्षकमा एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो। ६ महिनाको अवधिमा सावा तथा व्याज भुक्तानी वापत ६६ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ। 

त्यस्तै सावा तथा व्याज तिर्न पोखरा क्षेत्रीय विमानस्थलको नाममा आठ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा चार अर्ब रुपैयाँ निकासा भइसकेको छ। 

सामान्य भौतिक प्रगति

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत राखिएका धेरै आयोजना एक दशकभन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको छ। कतिपय आयोजना भने चर्चा रहेका छन् तर प्रगति शून्य छ। अहिलेसम्म बूढीगण्डकी जलविद्युत् आयोजन निजगढ विमानस्थर र पश्‍चिमसेती जलविद्युत् आयोजनको भौतिक प्रगति शून्य प्रतिशत छ। 

प्रधानमन्त्री कार्यालयको विवरण अनुसार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लामो समयदेखि ९९ प्रतिश काम सकिएर पनि एक प्रतिशत काम नसकिँदा पूर्ण हुन सकेको छैन। मेलम्ची खानेपानी आयोजना ९४ प्रतिश काम सम्पन्‍न भएर पनि अलपत्र रहेको छ। 

लुम्बिनी र पशुपति विकास कोषको हालसम्मको भौतिक प्रगति क्रमश ८२ र ६५ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०६२/६३ बाट निर्माण प्रकिया सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको काम अझै ४० प्रतिशत बाँकी रहेको छ। गत वर्ष उल्लेख्य काम भएको  हुलाकी सडक आयोजनाको काम ४२ प्रतिशत र , पुष्पलाल मध्यपहाडी लोकमार्गको काम ४३ प्रतिशत सकिएको उल्लेख गरिएको छ।

हालसम्म दुई आयोजनाको काम ९० प्रतिशतमाथि दुई आयोजनाको काम ८० प्रतिशतदेखि ९० प्रतिशत सम्मको प्रगति भएको छ भने १० आयोजनाको काम दुई देखि ६५० प्रतिशतसम्म छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.