|

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानमाथि अमेजन कम्पनीका मालिक जेफ बेजोसको फोन ह्याक गरेको आरोप लागेको छ। एजेन्सीहरूले जनाएअनुसार, बेजोसको फोनबाट डेटा चोर्न साउदी राजकुमारको फोन प्रयोग गरिएको थियो।

साउदीले भने उक्त आरोप निराधार भएको जनाएको छ। अमेरिकास्थित साउदी दूतावासले उक्त आरोपलाई 'वाहियात' भन्दै छानबिनको माग गरेको छ।

सञ्चार माध्यमहरूले भने उक्त ह्याक प्रकरण जमाल खशोग्गी हत्या प्रकरणसँग सम्बन्धित रहेको दाबी गर्दै आएका छन्। 'वासिङ्टन पोष्ट'का लागि लेख्दै आएका साउदी पत्रकार खशोग्गीको टर्कीस्थित साउदी दूतावासमा हत्या भएको थियो। फोन ह्याक भएको भनिएका अमेजन कम्पनीका मालिक बेजोस वासिङ्टन पोष्टका मालिकसमेत हुन्।

गार्डियन पत्रिकाले जनाएअनुसार, मोहम्मद सलमानको फोनबाट ह्वाट्स एपमा मेसेज आएलगत्तै बेजोसको फोन ह्याक भएको थियो। राजकुमार सलमानको 'इन्क्रिप्टेड भिडियो रिसिभ गर्नासाथ' बेजोसको फोनबाट डेटा ट्रान्सफरको क्रम सुरु भएको थियो।

यसबारे बेजोसले कुनै प्रतिक्रिया जनाइसकेका छैनन्। उनी मातहतको कम्पनी अमेजनले पनि मुख खोलेको छैन। एक अमेरिकी ट्याब्लोइड पत्रिकाले 'गोप्य स्रोत'लाई आधार बनाएर समाचार लेखेपछि घटना बाहिर आएको हो।

साउदी दूतावासले आफ्नो राजकुमारमाथिको आरोप नकार्दै छानबीनमार्फत सत्य-तथ्य पत्ता लगाउन माग गरेको छ।

यसअघि पनि साउदी अधिकारीहरूले बेजोसको 'फोन ह्याक गर्न प्रयास गरेको' समाचार आउने गरेका थिए।

आफ्ना गोप्य कुराकानी लगातार बाहिरिन थालेपछि ह्याकर पत्ता लगाउन बेजोसले विशेषज्ञ नै नियुक्त गरेका थिए। गेभिन डे बेकर नामका ती विशेषज्ञले उक्त डेटा चुहावटलाई खशोग्गी हत्या प्रकरणसँग जोडेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.