नगरप्रमुख भन्छन् : उपप्रमुख नहुँदा विकास योजना रोकिए

|

सुर्खेत : कालिकोटको तीलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) चार महिनादेखि सम्पर्कविहीन भएकी छन्।

गत असोजदेखि उपप्रमुख नेपाली नगरपालिकाको सम्पर्कमा छैनन्। उपप्रमुख नगरपालिकाबाट सम्पर्कविहीन हुँदा दैनिक कामकाजमा समेत असर परेको छ।

नगरपालिकाकी उपप्रमुख नेपाली असोज महिनामा नगरपालिका संघको संयोजनमा 'अमेरिका भिजिट'मा गएको तर अहिलेसम्म पनि नफर्केको नगरपालिका प्रमुख रत्नबहादुर शाहीले बताए।

'उपप्रमुख नेपाली नगरपालिका संघको आयोजनामा अमेरिका भिजिटमा जानु भएको हो', प्रमुख शाहीले भने, 'केही समयअघि पुससम्म च्याटमा कुराकानी हुन्थ्यो। तर, अहिले सम्पर्क भएको छैन्।'

केही समयअघि च्याटमा उपप्रमुखले आफू बिरामी भएको र उपचारको क्रममा रहेको अलि ढिला हुने भने पनि पछि खबर नआएको प्रमुख शाहीले बताए। उपप्रमुख नहुँदा अहिले नगरपालिकाको काममा असर परेको प्रमुख शाहीले बताए।

‘जनताका काम दैनिक रूपमा गर्नुपर्ने हुन्छ, उपप्रमुख केही समितिहरूको प्रमुख हुने प्रावधान पनि रहेको छ’ उनले भने, ‘उपप्रमुख नहुँदा समितिका काम कारवाही प्रभावित भएका छन्।’

नगरपालिकाको उपप्रमुख न्यायिक समिति, योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुरपरिवेक्षण समितिको अध्यक्ष रहेको अहिले यी काम अलपत्र परेको नगरपालिकाका प्रमुख शाहीले बताए। ‘उपप्रमुख नहुँदा योजना कार्यान्वयनमा समेत समस्या परेको छ’ उनले भने, ‘उहाँ संयोजक रहेका सबै समिति अलपत्र अवस्थामा रहेका छन्।’

योजना अनुगमन समितिको संयोजक उपप्रमुख नै नहुँदा काम सम्पन्‍न भएका योजनाको भुक्तानीमा समेत समस्या भएको नगरप्रमुख शाहीले बताए। २०७४ सालमा भएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट १८४३ मत ल्याएर विजयी भएकी थिइन्।

स्थानीय तहको सेवा संचालन तथा व्यवस्थापनसम्बन्धीको आदेश, २०७४ को दफा ९ को उपदफा ३४ मा नगरपालिका प्रमुखले तीन दिनभन्दा बढी समय आफ्नो नगरपालिका क्षेत्र छाडी बाहिर जानुपर्दा उपप्रमुखलाई कार्यभार दिएर जानुपर्ने उल्लेख भएको छ। तर उपप्रमुखका विषयमा कुनै बुँदा नसमेटिएका कारण पनि समस्या भएको नगरप्रमुख शाहीले बताए।

स्थानीय तहको सेवा संचालन तथा व्यवस्थापनसम्बन्धीको आदेश, २०७४ को दफा १० मा उपप्रमुखको काम कर्तव्य अधिकारमा न्यायिक समितिको संयोजक भई काम गर्ने, अध्यक्ष वा प्रमुखको अनपस्थितिमा कार्यवाहक अध्यक्ष भई काम गर्ने, प्रमुखबाट प्रत्योजन भएका भई आएका काम गर्ने र तोकिएका अन्य काम गर्ने जिम्मेवारी तोकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.