|

तनहुँ : सवारीसाधनमा राखिएका थप सिट निकाल्न थालिएको छ। सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटना बढेको गुनासो आएपछि जिल्ला ट्राफिक कार्यालय तनहुँले थप सिट निकाल्न थालेको छ।

क्षमताभन्दा बढी राखिएको सिट निकालिएपछि दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ। सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्दा अनियन्त्रित भएर दुर्घटना हुने गरेकाले थप सिट निकाल्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक पूर्णबहादुर अधिकारीले बताए।

‘यात्रुको चापले सवारीले थेग्न नसक्ने र अनियन्त्रित भई दुर्घटना बढ्छ, त्यसैले यो कदम चालेका हौं,’ उनले भने। दुई दिनमा २१ वटा माइक्रो बसबाट थप सिट निकालिएको प्रहरी निरीक्षक अधिकारीले बताए। उनका अनुसार माइक्रो बस, म्याजिक, उइन्गर लगायतका सवारीसाधनबाट ६१ वटा मुडा बरामत गरिएको छ।

‘दुई दिनमा धेरै संख्यामा थप सिट र मुडा निकालिएपछि सवारीसाधनबाट त्यस्ता सामग्री राख्न कम गरेका छन्, सवारीसाधनमा केही समयको अन्तरालमा चेकजाँच गरिरहनेछौं, यो निरन्तर भइरहनेछ,’ उनले भने।

ट्राफिक प्रहरीले प्रत्येक सवारीसाधन चेकजाँच गरी थप सिट र मुडा निकालिएपछि दुर्घटनामा न्यूनीकरण हुने अपेक्षा गरिएको छ। केही सवारी साधनबाट जरीवाना लिइएको प्रहरी हवल्दार भूमिराज घिमिरेले जानकारी दिए। उनका अनुसार जरिवानास्वरूप एक हजार ५०० रुपैयाँ रसिद काटिएको छ। ट्राफिक नियम उल्लंघन गरेवापत बढीमा एक हजार ५०० रुपैयाँसम्म लिन पाउने प्रावधान छ।

दुई दिनमा ५८ हजार ५०० राजश्व संकलन

दुई दिनमा विभिन्न सवारीसाधनलाई कारवाही गरी ५८ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ। जिल्ला ट्राफिक कार्यालय तनहुँले थप सिट तथा मुडा राखेर क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारवाही गरी सो रकम संकलन भएको हो।

माइक्रो बस, म्याजिक, उइन्गरलगायतका ६१ वटा मुडा र २१ वटा थप सिट राख्ने सवारीसाधनबाट उक्त राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय तनहुँका हवल्दार भूमिराज घिमिरेले जानकारी दिए। उनका अनुसार ६१ वटाबाट ४० हजार र २१ वटाबाट १८ हजार ५०० रुपैयाँ संकलन भएको छ।

छ महिनामा २८ जनाले ज्यान गुमाए

विभिन्न सवारी दुर्घटना परी छ महिनामा जिल्लामा २८ जनाको ज्यान गएको छ। आर्थिक वर्ष २०७६/७७को छ महिनामा २८ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक पूर्ण बहादुर अधिकरीले जानकारी दिए।

उनका अनुसार साउनमा सात, भदौमा नौ, असोजमा नौ, कात्तिकमा छ, मंसिरमा एक र पुषमा ११ सवारी दुर्घटना भएका छन्। जिल्लाका विभिन्न स्थानमा ४३ वटा सवारी दुर्घटना भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.