कैदी भन्छन् : परिवारसँग नयाँ अध्यय सुरु गर्ने सपना अधुरै होला जस्तो छ

|

डोल्पा : डोल्पा कारागारका कैदीबन्दीले सजायको भन्दा भवनको डर लाग्न थालेको बताएका छन्। वर्षौं पुरानो जीर्ण र चर्केको भवनमा सजाय भुक्तान गर्नु परेकाले कारागारका ३३ जना कैदीबन्दीलाई सजायभन्दा भवनको डर लाग्ने गरेको हो।

'हामीहरू कुनै न कुनै अपराध गरेरै जेल परेका छौँ, एक त लामो कठिन जेल जीवनले सताइ रहेको हुन्छ, त्यसमा पनि चिरा–चिरा भवनले थिचिने डर उत्तिकै हुन्छ' कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका एक गोबिन्द बुढाले भने।

'जीर्ण भवनकै कारण कहिलेकाहीँ आफ्नो सजाय भुक्तान गरिसकेपछि बाँकी रहेको जीवन परिवार र आफन्तसँग बिताउने र नयाँ अध्ययको सुरुवात गर्ने सपना पनि अधुरै होला जस्तो लाग्छ' उनले थपे।

साँघुरो संरचना र डरलाग्दो भवनबाट मुक्त बनाएर नयाँ भवनमा सार्न कैदीबन्दीहरूले बारम्बार सम्बन्धी निकायसँग माग गर्दै आएका छन्।

नयाँ भवन अधुरै

सात वर्षदेखि निर्माणधीन नयाँ कारागार भवनले अझै पूर्णता पाउन सकेको छैन। तीन वर्षभित्र निर्माण सक्नु पर्ने भवनको पटकपटक म्याद थप्दासमेत मुश्किले कारागारको भौतिक संरचना मात्र तयार भए पनि पूर्णरूपमा तयार भइनसकेको जिल्ला कारागार डोल्पाले जनाएको छ।

एटलस थोदुङ् कन्ट्रक्सनले तीन करोड बढीको लागतमा निर्माण गर्ने जिम्मा पाएको उक्त भवनको ०७२ असारमा भौतिक संरचना निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएता पनि मुश्किलले एक वर्षअघि मात्र सो कार्य सम्पन्न गरेको थियो।

भवन बनाउका लागि प्रयोग गरिएका निमार्ण सामग्री कम गुणस्तरका प्रयोग गरिएकाले भवन गुणस्तरीय नबनेको जिल्ला कारागारका डोल्पाले जनाएको छ। एउटा निर्माण कम्पनीले संरचना तयार गर्ने र अर्को कम्पनीले फिनिसिङको काम गर्ने गरी जिम्मेवारी बाँडिएको कारागारले जनाएको छ।

भवनको बाहिरी र भित्री भागमा प्लास्टर गर्नेलगायतको कामको जिम्मा बिएन त्रिशक्ति, दावा जेबी कन्ट्रक्सनले लिएको छ। अघिल्लो निर्माण कम्पनीले कछुवाको गति भवन निर्माण सम्पन्न गरेकाले नयाँ कम्पनीले पनि समयमै काम सक्ने कुरामा विश्वस्त नरहेको पाइएको छ।

एउटा सम्पन्न नहुँदै अर्को भवन बन्दै

जिल्ला कारागार डोल्पाको अर्को नयाँ भवन बन्ने भएको छ। एउटा भवन निर्माण नहुँदै थप अर्को नयाँ भवन बन्न लागेको हो। बिएन त्रिशक्ति र दावा जेबी कन्ट्रक्सनले ३ करोड ३७ लाख लागतमा नयाँ भवन बनाउने जिम्मा पाएका हुन्।

भवन निर्माण जिम्मा पाए पनि कामको सुरुवात अझै भइसकेको छैन्। कन्ट्रक्सनले चिसोको कारण देखाउँदै भवन बनाउने कामको सुरुवात गरेका छैन। चिसोले सिमेन्टको काम हुन नसकेकाले फागुनबाट तीब्र रुपमा काम अगाडि बडाउने ठेकेदार पामा लामाले जानकारी दिए।

शहरी विकास तथा भवन निर्माण विभाग र संघीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतले जिल्ला कारागार डोल्पाको भवन निर्माणको निगरानी गरिरहेको छ।

क्षमताभन्दा धेरै कैदी

जिल्ला कारागार कार्यालय डोल्पामा क्षमताभन्दा धेरै कैदीबन्दी बस्न बाध्य छन्। कारागारको क्षमता २० जना पुरुष र ३ जना महिला अटाउने भए पनि अहिले ३३ जना कैदीबन्दी कोचाकोच गरेर बस्न बाध्य भएका हुन्।

नयाँ भवन समयमै निर्माण नहुँदा बिस २०२६ सालमा स्थापना भएको जीर्ण कारागार भवनमा कोचाकोच गरेर कैदीबन्दी बस्न बाध्य भएको जेलर दिनेश राउले जानकारी दिए। नयाँ भवनमा पर्याप्त कोठा र फराकिले भए पनि पूर्ण रूपमा भवन निर्माण कार्य सम्पन्न नभएकाले कैदीबन्दीलाई सार्न नसकिएको उनको भनाइ छ।

भत्कँदै टाल्दै

५० वर्ष पुरानो भवन बेलाबेलामा भत्केर हैरान दिने गरेको छ। भारी हिमपात र वर्षात हुँदा भवनका गाह्रो भत्कने र टाला टाले झैँ गरेर टाल्दै कैदी थुन्नु पर्ने बाध्यता भएको जेलर रावतले बताए।

'एक वर्षअघि मात्रै मध्यरातमा भवनको पर्खाल नै भत्केपछि ठूलो हैरानी ब्यहोर्नु परेको थियो, कैदीबन्दी भाग्ने डरले व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो' रावतले भने।

उनका अनुसार भोलिपल्ट बिहानै जीर्ण भवनको पर्खाल टालिएको थियो। 'यसरी कति दिनसम्म टाल्दै बसाल्नु पर्ने हो कुन्नी, कुनै अप्रिय घटना घटिहाल्छ कि भन्ने ठूलो चिन्ता लाग्छ' जेलर रावतले गुनासो गरे।

कारागारभित्र रहेका कैदीबन्दीको गतिविधि नियाल्न भवनको छेउमा बनाइएका सुरक्षाकर्मीका पोष्ट पनि जीर्ण भएर भत्कने डर रहेको उनले बताए।

समस्यै समस्याले ग्रसित

जिल्ला कारागार डोल्पामा भवन मात्रैले जीर्ण नभई अन्य समस्या पनि थुप्रै रहेका छन्। कारागारमा बत्ती र खानेपानीको व्यवस्था हुन नसक्दा कैदीबन्दी र कर्मचारीलाई समस्या हुने गरेको छ। बत्तीको असुविधाले बढी समस्या हुने गरेको कारागारले जनाएको छ।

पर्याप्त कर्मचारीको दरबन्दी हुँदा र सबै कर्मचारीको पदपूर्ति नहुँदा व्यवस्थापनमा समस्या भएको जेलर राउतले बताए। कारागारमा कार्यरत एचए समायोजनपछि अर्को ठाउँ गएपछि कैदीबन्दीको नियमित स्वास्थ जाँच गर्न समस्या भएको समेत बताइएको छ।

तराईका जिल्लामा रहेका कैदी र डोल्पाका कैदीलाई एक समान दिने दैनिक ६० रुपैयाँ भत्ताले असमान भएको उनले बताए। तराईका जिल्लामा ६० रुपैयाँमा पर्याप्त तरकारी आएर केही रकम बचत गर्न सकिने भएता पनि डोल्पामा भने  ६० रुपैयाँले तरकारी किन्नै पनि नपुग्ने बताए।

मानव अधिकारकर्मीको ताकेता

पटकपटक कारागारलगायत समग्र जिल्लामा मानव अधिकार कार्यान्वयनको अवस्था बुझ्न आउने मानव अधिकारकर्मीले जीर्ण कारागार कैदी नराख्न निर्देशन दिने गरेका छन्। जीर्ण कारागारमा त्रासपूर्ण वातावरणमा कैदीबन्दीलाई थुन्नु मानव अधिकार विपरीत हुने बताउँदै सम्बन्धित निकायलाई निर्देशन दिन गरेता पनि कार्यान्वयन हुन सकेको छैन।

जिल्ला प्रशासन कार्यालयमा सम्पूर्ण कार्यालय प्रमुखको भेला गरेर पुरानो जीर्ण भवनबाट नयाँ कारागार भवनमा कैदीबन्दी सार्नुपर्ने बताउने गरेका हुन्। मानव अधिकारको क्षेत्रीय कार्यालय नेपालगञ्जमा हुँदा आफूले दुईपटक डोल्पा कारगारको निरीक्षण गर्दा कैदीबन्दी जीर्ण भवनका कारण त्रासमय वातावरणमा सजाय काटिरहेको पाएको मानव अधिकार अधिकृत टंक खनालले बताए।

सरकारले जेल जीवन बिताराइरहेका कैन्दीबन्दीको सुरक्षाको ग्यारन्टी हुनुपर्ने बताउँदै डरलाग्दो भवनमा राख्नु मानव अधिकारविपरीत हुने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.