|
फाइल फोटो

काठमाडौं : बागमती प्रदेश सरकारले यही माघ १० गते  प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ। तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको बागमती  प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सो दिन सार्वजनिक बिदा दिइएको जनाएको छ। प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर छुट्टी हुने बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिए। काठमाडौं उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रानुसार हुने उनले बताए।

गृह मन्त्रालयले गत वैशाखमा प्रकाशन गरेको राजपत्रानुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा  बन्द रहनेछन्। केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ। सोही अख्तियारीअनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्व आदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ। छ दिनभन्दा बढी बिदामा भने केन्द्र मातहतका कार्यालयलाई गृह मन्त्रालयको निर्णय लागू हुनेछ।

राजपत्रानुसार काठमाडौं उपत्यकाका तीन जिल्लाका केन्द्र मातहतका कार्यालयलाई भने प्रदेश सरकारको बिदा लागू हुने छैन। उक्त राजपत्रको खण्ड गमा काठमाडौं उपत्यकाका तीन जिल्लामा प्रदेश सरकारले दिएको बिदा नेपाल सरकार, गृह मन्त्रालयको निर्णयअनुसार हुनेछ भनी उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.