|

काठमाडौं : नेपाली कांग्रेसमा जारी आन्तरिक विवाद अन्त्यका लागि आज शीर्ष नेताहरु छलफलमा जुट्दैछन्। 

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान ९ बजे शीर्ष नेताहरुबीच छलफल हुन लागेको हो। संस्थापन पक्षले विधान मिचेको भन्दै इतर पक्षले लामो समयदेखि जनाउँदै आएको असन्तुष्टि अन्त्यका लागि आज बैठक बस्न लागेको सभापति देउवा निकटका नेताहरुले बताएका छन्।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र प्रकाशमान सिंहलगायतका नेताहरु उपस्थित हुने इतरपक्षबाट वार्ता टोलीमा रहेका केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए। यसअघि बुधबार पनि शीर्ष नेताहरुबीच छलफल भएको थियो। 

आजको बैठकले केन्द्रीय विभागहरु घटाउने तथा नेपाल विद्यार्थी संघलगायतका भ्रातृ संगठनको महाधिवेशनका लागि तदर्थ समिति गठन गर्ने तयारी गरेको छ। संस्थापन र इतरपक्षबीच भागबाण्डाका आधारमा विभाग तथा भ्रातृ संगठनहरुलाई नेतृत्व दिने तयारी छ। 

असन्तुष्ट पक्षको दाबीअनुसार तरुण दलमा असन्तुष्ट पक्षको ३५ र संस्थापनको ६५, विभागमा असन्तुष्ट पक्षको ४० र संस्थापनको ६०, नेविसंघमा असन्तुष्ट पक्षको ४० र संस्थापनको ६० र कार्यसम्पादनमा पनि असन्तुष्ट पक्षको ४० र संस्थापनको ६० को हिसाबले नेतृत्व तथा पदहरुको बाँडफाँट गर्ने मोटामोटी सहमति यसअघिको वार्ता समितिमा भएको छ। 

संस्थापन इतरपक्षले सभापतिले विधान विपरित केन्द्रीय विभागहरु थप गरेको, बहुमतका आधारमा आफूखुसी निर्णयहरु गरेको आरोप लगाउँदै पछिल्ला केन्द्रीय कार्य समिति बैठकहरु लगातार बहिस्कार गर्दै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.