साहित्य

फर्किएन सागर

माघ ११, २०७६

    काठमाडौं :  ‘तिमी मेरो अन्तिम प्रेमिका हुने छौ।’

    उसले केही भावुक हुँदै भनेको थियो।

    ‘डुल्दा र डुलाउँदा थाकिसकेँ। सरकारी जागिर भए पेन्सन हुने बेला भइसक्यो,’ फेरि मुस्कुरायो। 

    ‘कहिलेदेखि सुरु गरेऊ?’

    ‘१४ वर्षको हुदाँ। मैले होइन, उसैले सिकाएकी हो। कक्षा नौ मा पढ्थेँ।’

    ‘अनि?’

    ‘बिर्सनै नसक्ने चाहिँ पाँच नम्बरकी थिइ।’

    रक्सी भट्टीको कुनामा छ ऊ। लोकल रक्सीसँग सुकुटी चपाउँदै। पिएर साथ नदिए पनि एउटै टेबलमा बसेर उसले खाएको रक्सीलाई मौन समर्थन गर्दै थिएँ। रक्सी र सुकुटीमा मस्त ऊ बेला बेलामा मेरो नाडीसम्म हात ल्याईपुर्‍याउँछ।

    रात छिप्पिँदै छ। रातसँगै ठूलेको जिब्रो पनि लरबराउन थाल्यो।

    ‘कसम सानु म तिमीलाई मन पराउँछु। तिमी नै मेरी अन्तिम प्रेमिका हुनेछौ।’ मेरो अनुहारमा एकोहोरो हेरिरह्‍यो।

    दिनभरि कुल्ली काम गरेर थाकेको शरीर फतक्कै गलेको छ।

    ‘अब सुत्‍न जानुपर्छ।’ उसको कुराको बेवास्ता गर्दै भनेँ।

    गिलासको पिँधमा भएको रक्सी र प्लेटमा बाँकी रहेको एक चोक्टो मासु एकैपटक रित्यायो उसले।

    ‘म गएँ, तिमी पनि जाऊ।’ जुरुक्क उठेर हिडेँ।

    भट्टी पसल बाहिर निस्कँदै गर्दा मेरो हात समात्यो। एउटा हातले आफ्नै गला छुँदै उही कुरा दोहोर्‍यायो। ‘कसम सानु म तिमीलाई माया गर्छु।’

    एकपटक मुस्कुराएँ। उसलाई हेर्दै छुट्टिएँ।

    उसले गाउँ छोड्दा म कक्षा पाँचमा पढ्थेँ। गाउँमा मोटरबाटो खन्दादेखि कुल्ली काम सुरु गर्ने ऊ अहिले ठेकेदार भएको छ।

    म भन्दा ७ वर्षजति जेठो।

    बाटोमा जाँदै गर्दा ठूलेको ‘साँच्चै मन पराउछु’ भन्‍ने आवाज पटक पटक कानमा गुञ्‍जिरह्‍यो।

    गाउँमा हुँदा म पनि ठूलेलाई मन पराउथेँ नि! त्यसबेला समय फरक थियो, मैले मन पराउँछु भन्‍न सकिनँ, अहिले उसले भनेको बेलामा .......

    बिनागेटको, सानो घर। नीतिले छोडेर गएकी मैला भएका सिरक डसना, कहिल्यै रंग नलगाएको र अलिअलि ढुसी गन्हाएको कोठा। सधैँ अल्छीलाग्दो भए पनि आज खासै नराम्रो लागेको छैन। एक पटक फेरि ठूलेको अनुहार सम्झिन्छु। मान्छे उस्तो राम्रो त छैन, तर पनि साथ दिन्छु भन्छ।

    मलाई जिन्दगीमा साथ दिन्छु भन्‍ने ठूले दोस्रो व्यक्ति हो। त्यसअघि सागर थियो।

    क्याम्पस पढ्दाको साथी। सँगै भूमिगत भइयो। युद्धका धेरैवटा मोर्चा पनि सँगै लडेका थियौँ।

    अहिले ऊ काठमाडौको रैथानेजस्तै बनेको छ। गाडी, बंगला, नोकर चाकर सबैले परिपूर्ण छ।

    युद्धमा गरेका कुरा र अहिलेको जीवनशैली पूरै फरक थियो।

    मनभरि पीरो भएर आयो, हामी हुकुमी र सामन्ती शैली अन्त्य गर्ने भन्थ्यौँ। त्यहीमध्यको सागर अहिले मालिक बनेको छ। कसरी पूरा भयो हाम्रो मिसन?

    उसलाई सम्झिएपछि झन् अन्याय भएको महसुस गरेँ।

    त्यही भट्टी पसलमा खाएको छोइला र चिउराले नै आजको रात कटाउने सोचमा थिएँ। ठूलेले फोन गर्‍यो।

    उही लरबरिएको स्वरमा उसले भन्यो, ‘सानु म तिमीसँग कहिल्यै ढाट्दिनँ। साँच्चै मेरो अन्तिम प्रेमिका नै तिमी हुने छौ।’

    ‘पहिलेकीसँग के भयो र?’ मैले प्रतिप्रश्‍न गरेँ।

    एकपटक उ हिक्क हिक्क गर्दै रोयो। मैले केटा मान्छे रोएको देखेको युद्धमा हिँड्दा हो। नातीसँगै सुतेको हजुरबालाई मारेपछि करिब २३ वर्ष जतिको ऊ नमज्जाले रोएको थियो। त्यसपछिका कुनै आँसुले पनि नछोएको मलाई ठूलेको आँसु अलि भारी लाग्यो। पहिलो पटक आँसु महसुस गरेझैँ नमीठो दुख्यो मन।

    हजुरबा मरेपछि कहालिँदै रोएको नातिलाई हाम्रो कमाण्डरले मार्ने धम्की दिएका थिए।

    ठूले रुदाँ म प्रतिक्रियाविहीन र चुपचाप छु।

    केहीबेरपछि ठूले बोल्यो। ‘सब छोड, म तिमीसँग प्रेम गर्छु, अन्तिम र मायालु प्रेम।’

    ठूलेकी अन्तिम प्रेमिका! मन चसक्क भयो। ‘प्रेमिका भनिसकेपछि अन्तिम नभनेको भए हुन्थ्यो नी। यसअघि उसका अन्य प्रेमिका भए पनि किन सुनाउनुपर्थ्यो र?’

    सागरले तिमी मेरी पहिलो प्रेम हौ भन्दा मन जति खुसी भएको थियो, ठूलेले अन्तिम प्रेमिका भन्दा त्यति नै दुख्यो। अनायास रिस उठ्यो। फोन काटिदिएँ।

    फेरि, फेरि फोन गरिरहेको थियो।

    धेरै बेरपछि फोन उठाएँ ‘किन म सँग बोल्न मन छैन सानु?’

    यो निष्पट्ट रातमा, सानो र मायालु स्वरमा ठूले प्रेम शैलीमा बोल्दै थियो।

    मोबाइल नै स्वीच अफ गरेँ।

    प्रेम शब्द नसुनेको १० वर्ष भएछ। जहाँ थिए, हार जित र आवश्यकताको कुरा हुथ्यो।

    करिब १० वर्षअघिको समय सम्झिएँ। २०५६ साल, एसएससी पास गरेपछि उच्च शिक्षाका लागि काठमाडौं आएकी थिएँ।

    एक वर्षपछि जेठो दाजु एकाएक वेपत्ता भयो। कमाएर ल्याउने र सँगै बस्‍ने दाजु हराएपछि अलपत्र परेँ। कहाँ जाने जाने केही अत्तो थिएन।

    क्याम्पसबाट प्रहरीले नै दाजुलाई बेपत्ता पारेको थाहा पाएपछि साथीहरुले कोठामा नबस्‍न सल्लाह दिए।

    विकल्प खोज्दै विद्यार्थी आन्दोलनमा लागेँ, पूर्ण भूमिगत।

    राष्ट्र र नागरिकका लागि भूमिगत भएको। त्यसबेला अधिकारका कुरा खुबै गरियो। दमन गर्नेहरु र सामन्तीको अन्त्य गर्नु थियो।

    समाजलाई स्वतन्त्रता दिलाएर मुक्तिको श्‍वास फेर्नसक्ने बनाउनु थियो। नागरिकको शासन ल्याउन चाहन्थ्यौँ। नागरिक सर्वोच्चता! उफ! कहाँ पुग्यो?

    फोन अन गरेँ।

    ठूलेले फेरि फोन गर्‍यो। ‘सानु किन चुप लागेकी?’

    ‘निन्द्रा लाग्यो ठूले, अब भोली भेटौँला।’

    उसले एकछिन फोन नकटाउन भन्यो, ‘साँच्चै सानु मलाई तिम्रो असाध्यै माया लाग्छ।’

    अझै चुपचाप थिएँ। ठूलेको फोनले सागरको याद बढ्दै गयो।

    मेरो पहिलो प्रेमी हो सागर, ऊसँगका क्षणहरु लामा नभए पनि स्मरणीय छन्। अब ठूलेसँग बोल्नै मन लागेन, फोन कटाएँ।

    सागरसँगै भूमिगत भएको जीवन सम्झिएर बेचैनी अझै बढेको थियो।

    भूमिगत हुनुअघिको प्रेम। दाजुको हत्या नभएको भए, सागरसँग विछोड हुने थिएन। हामी खुसी हुनेथ्यौँ। सागरको यादले निन्द्रा हरायो। छटपटी अझै बढ्यो। 

    रातभरि सम्झिएँ, भूमिगत भएपछिको समय। समानता, बालअधिकार, महिला अधिकार, जनजाति, दलित मुक्ति, विशेष अधिकार, मजदूर हित, नागरिक सर्वोच्चता। अहिले कहाँ छन ती समानताका नाराहरु?

    सायद अबको चुनावसँगै ती नारा पनि गाउँ छिर्छन् होला।

    दिनभरि गिट्टी बोकेको ढाड नमज्जाले दुख्यो।

    ब्यूझँदा घाम डाँडामाथि पुगिसकेका थिए। ठूलेको फोन आयो, ओछ्यानमा सुती सुती फोन उठाएँ। ठूलेले बेलुका बोलेको एक शब्द पनि दोहोर्‍याएन। भट्टी पसलमा बस्दा हरेक वाक्य बोल्दा प्रेम गर्छु भन्‍ने ठूले घाम उदाएसँगै फेरिएको थियो। ऊ पूरा कामको कुरा गर्दै थियो। ढलान छाप्‍न ढिला भएको, गिट्टी बोक्न बेलैमा नपुगेको भन्दै अलिक रुखो देखियो। हुनत ठूलेले भन्दा पनि रुखो व्यवहार गर्थेँ नि म।

    त्यसपछि ठूलेसँग कहिल्यै भेट भएन, अर्थात म कुल्ली काममा गइनँ।

    वर्षौपछि सागरको यादले सताएको छ।

    दिनभरि कोठामा बसेँ। अल्छी लाग्दो समय। फेरि सागरलाई सम्झिएँ। अन्तिम पटक एक वर्षअघि सम्पर्क भएको थियो।

    हामी दुईको जीवनशैली पूर्ण फरक छ।

    ऊ समयसँगै परिर्वतन भएको। समयलाई सदुपयोग गर्नुपर्छ भन्थ्यो। 

    कार्यक्षेत्र फरक भएपछि छुट्टिएका हाम्रो आजसम्म पहिलेको जस्तो आत्मीय भेट भएको छैन।

    सागरले दिएको भिजिटिड कार्ड खोज्‍न थालेँ। जे त पर्ला अब सागरलाई भेट्छु। मोबाइलबाट नम्बर डायल गरेँ, फेरि कटाएँ, बेवास्ता गर्‍यो भने झन् नराम्रो लाग्छ। म जहाँ छु ठीक छु, उसलाई भेटेर किन बिथोलिनु? मोबाइल फोन टेबलमा राखेँ।  

    झ्याल बाहिर हेरेँ, पैयूँ फूलेको, केही फूलहरु भुइँभरि थिए। तर पुतलीहरु रुखैमा भएका फूलमा झुम्मिरहेँ, घुमिरहे।

    भुइँमा झरेको फूल हेरेँ। कस्तो विडम्बना यति राम्रो फूल पनि ओइलाउनुपर्ने। बरु नफूलेकै भए हुन्थ्यो। पुतली बसेको फूल भुइँमा झर्‍यो। आफैंलाई चिमोटेझै लाग्यो, कताकता चर्कियो मन, अब यो फूल पनि ओइलाउनुपर्छ।

    एकपटक आखाँ चिम्लिएँ। 

    सागरकै नम्बरबाट फोन आयो, यो नम्बरबाट मिस्डकल आएको थियो। परिचित लाग्‍ने बोलीमा बोल्यो। उसको बोली त फरक भएको रहेनछ, व्यवहार कसरी परिर्वतन गर्छ होला र?

    आफैंप्रति विश्वास बढ्यो।

    सागर, म सरिता।

    उसले अचम्म मानेन, मानौं मलाई नै सम्झेर बसेझैँ भन्यो, ‘सरिता आज भेट्नुपर्छ।’ आदेश दिएझैँ बोल्यो।

    मेरो कोठासम्म लिन आयो। उसलाई जनयुद्धपछिको मेरो कोठा देखाएँ र एकपटक प्रहरीले गाउँ नै घेरा हालेको दिन सुँगुरको खोरमा रात बिताएको सम्झाएँ। त्यो भन्दा अलि व्यवस्थित छ नी मेरो कोठा। बोल्दै गर्दा, कोठादेखि मेरो शरीर पनि नियाल्यो। मैले लगाएको कपडा, र्‍याकमा राखेको जुत्ता, किचनको सामान सबै सबै।

    उ खिस्स गर्‍यो र चुपचाप बाहिरियो। मलाई उसकै कारमा बस्‍न भन्यो। सिधै सपिङ मल।

    कपडा रोज्‍न लगायो, जुत्ता, ब्यागसहित अन्य केही आवश्यक सामान पनि किन्‍न भन्यो। हामी युद्धमा हुदाँ पनि चन्दा उठाएकोमध्य केही पैसाले आफ्ना लागि यसैगरी सामान किन्‍ने गर्थ्यौँ। तर अहिले त्यसबेला जस्तो हतारमा किन्‍नु परेको छैन। को आए, आएनन भन्‍ने चिन्ता छैन।

    पसल पसल चहार्दै,  निस्फिक्री सामान किन्यौँ र न्यूरोडको एउटा क्याफेमा गयौँ।

    बाटोभरि कमै मात्र बोलेको सागर क्याफेमा पुगेपछि खुलेर बोल्न चाह्यो। ‘अब के चाहन्छौ?’

    ‘मैले चाहेको के नै पाएको छु र?’

    ‘तिम्रो त्यो चञ्‍चलतासँगै उत्साह पनि मरेको हो र? इच्छा त हुन्छ नी?’

    ‘सायद’

    धेरैबेरसम्म टेबुल शान्त भयो। म जस्तै चुपचाप थियो सागर तर मोबाइलमा घण्टी बजिरह्‍यो

    शून्यता तोड्दै भनेँ, ‘कायकर्ता, कमाण्डरदेखि कुल्लीसम्मको जीन्दगी बाचेँ। जीवनप्रति उत्साह मात्र होइन, निराशा पनि छैन। एउटै इच्छा छ, मेरो मृत्युमा अब धेरै मलामी हुन्। हत्यारा नहुन्। अहिलेसम्मको जिन्दगी किन जिएँ? थाहा छैन। तर अबको जीवन मलामी कमाउनका लागि ज्युँन मन छ।’

    उसले के बुझ्यो? तत्काल कुर्सीबाट उठेको सागर अहिलेसम्म फर्केको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]