|

हेटौँडा : २५७ वर्षअघि गोर्खाली सेनाले अंग्रेज फौजलाई पराजित गरेको ऐतिहासिक किल्ला मकवानपुरगढीमा विजयोत्सव मनाइएको छ। वि.सं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई सोही किल्लाबाट पराजित गरिएको सम्झनामा माघ १० गते मकवानपुरगढी किल्लामा एक भव्य समारोहका बीच विजयोत्सव मनाइएको हो।

मुगल बादशाह मिरकासिमको नेतृत्वमा रहेको अंग्रेज फौजलाई पराजित गरेको सम्झनामा शुक्रबार मकवानपुर जिल्लाको ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा विजयोत्सव मनाइएको छ।  मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको विजयोत्सव कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा सेतो हात्तीको प्रतीमा अनावरण गरेका थिए।

विसं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरिएको सम्झनामा मकवानपुरगढी किल्लामा केही वर्षदेखि विजयोत्सव मनाउँने गरिएको छ। सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय स्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशकै देशकै सबैभन्दा ठूलो र पुरानो गढी भएको मानिन्छ। तीन हजार अंग्रेजको फौजलाई मकवानपुरगढीबाट केही तल शिखरकटेरीबाट अघि बढ्न नदिएर तत्कालीन गोर्खाली फौजले पराजित गरेको थियो। उक्त स्थानमा तत्कालीन मकवानपरे राजा मुकुन्द सेनकी रानीले रानी चौतारा बनाउन लगाएकी थिइन्। उक्त चौतरा अझै पनि रहेको छ। उक्त स्थानमा अझै पनि पुराना बन्दुकका नाल, गोलाहरू भेटिने गरेको स्थानीय बताउँछन्।

चारैतिर अग्लो पर्खालले घेरिएको मकुन्दसेनको दरबार छ। त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली पनि हो। हाल सो दरबारको भग्नावशेष देख्न सकिन्छ। मकवानपुरगढी किल्ला करिब १३५ रोपनी क्षेत्रमा फैलिएको छ । मकवानपुरगढी दरबार १६१० सालमा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको बताइन्छ।

बाग्मती प्रदेशको राजधानी हेटौँडाबाट करिब १६ किलोमिटर उत्तरपूर्वमा रहेको मकवानपुरगढीमा गत वर्षको विजयोत्सव कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी आएकी थिइन्। उनले नेपालको राष्ट्रिय झण्डोत्तोलन तथा गढीमा निर्माण गरिएको संघीय नेपालको नक्सा अनावरण गरेकी थिइन्। पछिल्ला वर्ष यसको संरक्षण र विकासका लागि संघीय सरकार, प्रदेश सरकार र मकवानपुरगढी गाउँपालिकाले बजेट छुट्याएर काम गरिरहेका छन्।

पर्यटन कृषि समृद्धिको आधार : मुख्यमन्त्री पौडेल

मुख्यमन्त्री पौडेलले समृद्धिको आधार कृषि र पर्यटन रहेको बताएका छन्। विजयोत्सवको अवसरमा सेतो हात्तीको अनावरण र ५२ फिटको राष्ट्रिय झण्डात्तोलन गर्दै पौडेलले पर्यटन र कृषिले प्रदेशका आर्थिक स्थिति बलियो बनाउने बताएका हुन्।

उनले  मकवानपुर गढीको विषयमा बोल्दै गोर्खाली सेनाको वीरतालाई विश्वसामु सुपरिचित गराउने काम गोर्खा-मुगल युद्धले गराएको बताए। गोर्खालीको अदम्य साहसका कारण आज विश्वमा नेपालीको शिर उच्च रहेको मुख्यमन्त्री पौडेलले उल्लेख गरे। गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक दिन गौरवपूर्ण र ऐतिहासिक दिन भएको उनले बताए। अंग्रेजलाई पराजित गरेर गोर्खाली सेनाले नेपाललाई सार्वभौम र स्वतन्त्र कायम गर्न मकवानपुर गढीले ठूलो योगदान दिएको पौडेलले बताएका छन्।

'आजभन्दा २५७ वर्ष अगाडि भएको युद्धमा नेपालीले पराजय व्यहोर्नु परेको हुन्थ्यो भने आज नेपाल स्वतन्त्र देश हुँदैन थियो। त्यसैले आजको दिन नेपाली इतिहासमा महत्वपूर्ण छ,' मुख्यमन्त्री पौडेलले भने, 'नेपालको पक्षमा लड्दा लड्दै ज्यान गुमाएका ३० जना तथा युद्धमा देशका लागि लडेर बहादुरी प्रदर्शन गरेका सम्पूर्ण वीर योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु।'

विजयोत्सवको अवसरमा पुरानो गोरख गणका सेनाहरूले विभिन्न पुरानो शैलीमा नेपाली सेनाको प्रदर्शनी गरेका थिए।

यस्तो छ इतिहास

गोर्खालीले अंग्रेज सेनालाई पराजित मात्र गरेन्, ५०० भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोपहरू नियन्त्रणमा लिन सफलता प्राप्त गरेको जनाइएको छ। इतिहासकारका अनुसार गोर्खाली सेनाले एकैदिन मुगलको १७ सय सेनालाई पराजित गरिदिएको थियो। गोर्खाली सेनाले ऐतिहासिक विजय प्राप्त गरेको २५७ वर्ष पुगेको छ। गोर्खाली सेनाले विदेशी सेनासित लडेको पहिलो युद्धका रुपमा लिइन्छ।

पहिलो विजयोत्सव मनाउन तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयम् गढीमा उपस्थित भएको बताइएको छ। सोही समयदेखि विजयोत्सव मनाउन थालिएको भए पनि व्यवस्थित र भव्य कार्यक्रम गरेर मनाउन थालेको केही वर्ष मात्रै भएको  गढी संरक्षण र व्यवस्थापनमा सक्रिय बद्री खतिवडाले जानकारी दिए।

गढी र तिनको ऐतिहासिकताको अध्ययन गरेका केदार न्यौपानेका अनुसार देशभरीका २०० गढीमध्ये मकवानपुर गढीको इतिहास लामो र महत्पूर्ण रहेको बताए। उनले पाल्पाका राजा मणिमुकुन्द सेनले नै आफूलाई मकवानी राजाको सन्तान भएको दाबी गरेकाले मकवानपुर पुरानो राज्य भएको र पछि राजधानीलाई पाल्पामा सारेको हुनसक्ने बताए।

तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सेनवंशको चिनारी नामक पुस्तकमा पाल्पाका सेनहरू मकवानपुरकै भएको उल्लेख गरेका छन्। मुकुन्द सेनले राज्य बाँडफाँड गर्दा मकवानपुर कान्छा छोरा लोहाङ सेनको भागमा पर्‍यो। लोहाङले विसं १६१० पछि गढीको पुनःनिर्माण गरी मकवानपुर राज्यको पुनःनिर्माण र विस्तार गरेका बताइएको छ।

प्राध्यापक दिनेशराज पन्तले मकवानपुर गढीको बारेमा लेखेका एक लेखका अनुसार विसं १७९४ मा गोरखाका युवराज पृथ्वीनारायण शाहको विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भएको थियो। हेमकर्ण सेनका छोरा दिग्बन्धन सेनसँग पृथ्वीनारायणको सम्बन्ध राम्रो थिएन। हेमकर्ण सेनले कन्यादानको समयमा छोरीलाई गजमोतीको हार लगाइदिएका थिए र दुलाहा दुलहीलाई एकदन्ता हात्तीमा चढाएका थिए। पृथ्वीनारायणले ती हार र हात्ती माग गर्दा दिग्बन्धन सेनसँग झगडा पर्‍यो र पृथ्वीनारायण बेहुली नै नलिइ फर्केका लेखमा रहेको छ।

गढीगाउँपालिका अध्यक्ष विदुर हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री पौडेल रहेका थिए। कार्यक्रममा संघीय ससदका सांसद कृष्णप्रसाद दाहाल, प्रदेश सांसद मुनु सिग्देल, प्रेमबहादुर पुलामी, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, संविधानसभाका सदस्य अन्नत पौडेललगायतको सहभागिता रहेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.