|

म्याग्दी : म्याग्दीमा पर्यटन वर्ष २०२० को अवसरमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले ७० वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनको तयारीका लागि नारच्याङमा पर्यटन महोत्सवको आयोजना गरिएको छ।

अन्नपूर्ण गाउपालिकाले विश्वकौ दसौं र नेपालको नवौ (८ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको हो।

माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेशीगाउमा महोत्सवसँगै अध्यक्ष कप खेलकुद प्रतियोगिता पनि सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। ‘ओझेलमा परेको अन्नपूर्ण हिमाल र आधार शिविरलाई पहिचान गराउन महोत्सव गर्न लागेका छौ,’ अध्यक्ष पुनले भने ‘नारच्याङ हुदै अन्नपूर्ण आधार शिविर जाने छोटो र सजिलो पदमार्ग तयार भएको सन्देश फैलाउनु महोत्सवको मुख्य उद्देश्य हो ।’

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नया गन्तब्यको रुपमा नारच्याङ-अन्नपूर्ण आधार शिविर पदमार्ग सञ्चालन गर्न लागिएको हो। आधारभूत स्तरको पदमार्ग, झोलुङ्गे पुल र क्याम्पिङ साइटहरू निर्माणका साथै नक्सासमेत तयार पारिएको छ।

अध्यक्ष पुनको संयोजकत्वमा मुल र विभिन्न उपसमिति गठन गरेर महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी तिब्र बनाइएको प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक कृष्णप्रसाद बरुवालले बताए।

स्थानीय अन्नपूर्ण युवा क्लवको समन्वयमा महोत्सव स्थलमा पूर्वाधार निर्माण सुरु भएको छ। महोत्सवसँगै वडास्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामूहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक ओमप्रकाश फगामीले बताए।

ती सबै प्रतियोगितामा गाउपालिकाका ८ वटै वडाको सहभागिता हुने भएको छ। पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडलसहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।

यसैगरी, महिला भलिबलको विजेता र उपविजेतालाई ट्रफी, प्रमाणपत्र र मेडलसहित ६० हजार र ४० हजार तथा प्रौढ भलिबलको विजेता र उपविजेतालाई ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ।

सामूहिक नृत्य प्रतियोगिताको विजेतालाई बीस र उपविजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई दश हजार र उपबिजेतालाई छ हजार रुपैयाँ पुरस्कार दिइने आर्थिक संयोजक आत्मा तुलाचनले बताए।

नारच्याङ गाउँदेखि तीन दिनको यात्रामा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ। सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हार्गोजले पहिलो पटक अन्नपूर्ण हिमालको आरोहण गरेका थिए। अन्नपूर्ण प्रथम हिमाल र आधार शिविर म्याग्दीमा पर्छ भन्ने विषय ओझेलमा परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.