|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको काम कारबाहीलाई मूल्यांकन गर्ने नयाँ परिपाटीको थालनी गरेको छ। ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही तथा गतिविधिलाई विभिन्न चार खण्डमा बिभाजन गरी ४०० पूर्णांकका ५० प्रश्न तयार गरी मूल्यांकनको आधार बनाएको छ।

जसमध्ये कार्यालय व्यवस्थापन, प्रहरी आचरण व्यवहार एवं अनुशासनबापत २५ अंक, फि ट्राक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणबापत २०० अंक, सवारी चोरी एवं सवारी दुर्घटनासम्बन्धी अनुसन्धानमा ६० अंक र सिर्जनशील एवं उपलव्धिमूलक कार्य सम्पादन गरे बापत ११५ अंकमा बिभाजन गरेको छ।

ट्राफिक प्रहरीका आफ्ना हरेक काम कारबाहीको वस्तुनिष्ठ आधारमा वास्तविक मूल्यांकन गरी व्यवसायिकता, स्तरीयता एवं कार्य सम्पादनमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ महाशाखाले सम्पूर्ण इकाइसँग अन्तर इकाइ कार्य सम्पादन परीक्षाको करार सम्झौता गरी ३/३ महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीलाई समेत पुरस्कृत गर्ने व्यवस्थाको शुरुवात गरेको छ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कार्य सम्पादन करार सम्झौताले ट्राफिक प्रहरीलाई कामको प्रतिष्पर्धात्मक भावना बोकेर आफ्नो व्यवसायिक उत्तरदायित्व बहन गर्न सक्ने क्षमताको विकास गर्दै कार्य सम्पादनको स्तरलाई अझै प्रभावकारी, पारदर्शी एवं जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

बरिष्ठ उपरीक्षक ढकालले ट्राफिक प्रहरी कर्मचारीले गरेका हरेक गतिविधि र प्रत्येक काम कारबाहीबापत त्यसको मूल्य तोकी नम्बर दिने परिपाटीको थालनी गरी पुरस्कृत गर्नाले कामको वास्तविक लेखाजोखा हुँदा प्रतिस्पर्धाको भावनामा बृद्धि भई काम गर्ने थप हौसला प्रदान हुने र समग्र ट्राफिक व्यवस्थापनमा सुधार हुने बिश्वास व्यक्त गरे।

अन्तर इकाइ कार्य सम्पादन परीक्षा २०७६ मा कार्यालयको उचित व्यवस्थापन गर्दै नागरिकमैत्री व्यवहार, भ्रष्टाचारमा शून्यसहनशिलता, विगतको भन्दा दुर्घटनामा न्यूनीकरण गरेमा, मापसे गरी सवारी चलाउनेलाई कारबाही गरेमा, लेन अनुशासन उल्लंघनकर्तालाई कारबाही एवं कार्यान्वयन गरेमा, ट्राफिक व्यवस्थापनमा सहज हुने बताइएको छ। त्यसैगरी बढी भाडा लिने, मिटरमा नजानेलाई नियन्त्रण र कारबाही गरेमा, ठूलो आवाज निकाल्ने, मोडिफाई गरी तीब्र गति र लापर्बाही साथ चलाउने मोसा चालकलाई कारबाही गरेमा, ओभरलोड नियन्त्रण गरेमा, अबस्था ठिक नभएका र तीब्र गतिमा सवारी चलाउने टिपरलाई नियन्त्रण एवं कारबाही गरेमा, भाडाका सवारी साधनमा यात्रुमैत्री हुने गरी गरेको सुधार, आरक्षण सिटको व्यवस्थापन, सवारी जाम कम गर्न गरिएको प्रयास, निषेधित स्थानमा पार्किङ गर्नेलाई कारबाही गर्दै पार्किङ व्यवस्थापनलगायतका प्रत्येक कार्यमा नम्बर दिने व्यवस्था मिलाइएको छ।

यस्तै गरी ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी सचेतनाका कक्षाहरू संचालन गरेमा, अन्य निकायसँग समन्वय गरी ट्राफिक लाइट, सिसिटिभी, ट्राफिक संकेत थप गरेमा, सडक फुटपाथ अतिक्रमण हटाउने, पिक एन्ड ड्रप लाई व्यवस्थित गरेमा, लेन मार्किङंग गराउने, पैदल यात्रीको सुरक्षालगायतका सडक सुधारका कार्यहरू गरेमा प्रत्येक सुधारमा पनि नम्बरिङको व्यवस्था गरिएको छ।

यसरी ट्राफिक प्रहरीले गरेका हरेक कामको मूल्य तोके पछि सबै इकाइ प्रमुख र अन्य कर्मचारी स्वत:स्फूर्त रुपमा काम गर्न उत्साहित भइरहने बिश्वास गरिएको छ। साथै नागरिकले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा थप सुधारको अनुभूति समेत गर्ने छन्। '४०० पूर्णाङ्कको यस प्रतियोगितामा ८०.५ भन्दामाथि ल्याउने बिशिष्ट श्रेणी, ६५-७९.९५ ल्याउनेलाई प्रथम श्रेणी, ५५-६४.९५ ल्याउनेलाई द्वितीय श्रेणी, ४५-५४.९५ ल्याउनेलाई तृतीय श्रेणी तोकिएको छ।

बिशिष्ट श्रेणीलाई बढुवामा सहयोग हुने गरी पुरस्कृत गरिने, प्रथम श्रेणी ल्याउनेलाई प्रशंसा पत्र दिइने, दोस्रो हुनेलाई सान्त्वना र तृतीय हुनेलाई थप सुधारको लागि सचेत गराइने तर भ्रष्टाचार गरेमा, आर्थिक अनियमितता वा त्यस्तै प्रकारको गल्ती गरेमा विभागीय कारबाहीका अतिरिक्त प्राप्त भएको अंकमा २० अंकसम्म घटाइने व्यवस्था पनि गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.