|

मुगु : हिमाली जिल्ला मुगुमा स्थानीयले डाँडापाखा नै उजाड पार्नेगरी वन फडानी गरेका छन्‌। जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं १४ मा रहेका चंंखेली र मिन डाँडा सामुदायिक वन सबैभन्दा बढी फडानी भएको छ।

स्याउ बगैंचा बनाउने, खेती गर्ने र जग्गा-घर बनाउने होडवाजीले सामुदायिक वन तीब्र रुपमा फडानी भएको हो। नगरपालिकाको १४ नम्बर वडामा पर्ने बाम, फैपाटा, दर्खे, नार्फालगायत बस्तीहरुमा बस्‍ने ३०० भन्दा बढी घर परिवारले उपभोग गदै आईरहेको मिनडाँडा सामुदायिक वन र चंंखेली सामुदायिक वनमा स्थानीयले व्यापक फडानी गरिरहेका छन्‌। अहिले सामुदायिक वन क्षेत्रको जताततै नियम कानुन विपरित हाते आरो प्रयोग गरि धमाधम रुख ढालिरहेको र काठ तयार गरिरहेको देखिन्छ।

समुदायलाई नै हस्तान्तरण गरेपछि वनक्षेत्र सुरक्षित हुने भन्दै सामुदायिक वनको अवधारणा कार्यान्वयन गरेपनि मुगुमा भने यसको नकारात्मक नतिजा निस्किएको छ। सामुदायिक वनको नियमअनुसार समितिले काम नगर्दा फडानी भइरहेको स्थानीय दलबहादुर बुढाले बताए। उनले भने, 'वन फडानी गर्ने, घर जग्गा बनाउने सबै आफ्ना मान्छे छन्‌, कसले कसलाई कारवाही गर्ने?' तीव्र रुपमा वन फडानी भएपनि उपभोक्ता समूहका पदाधिकारीले माैनता साँधेको बुढा बताउँछन्‌। 

स्थानीयका अनुसार व्यापक फडानी भइरहेको वन क्षेत्रको अनुगमन गर्न डिभिजन वन कार्यालयबाट कुनै अधिकारी या कर्मचारी आएका छैनन्‌। फडानी गर्न पल्केका स्थानीयले सामुदायिक वनको अपनत्वलाई समेत दुरूपयोग गरेको जर्मनसिहं बुढाले बताए।

मीनडाँडा सामुदायिक वन र चंखेलि सामुदायिक वन फडानी भएको गुनासो निकै अघिदेखि चलिरहेको बुझिएको छ। वनको संरक्षण गर्न नसकेपछि गठित नयाँ समितिलाई पुरानो समितले कागजपत्र नै नदिएको भन्‍ने निवेदन परेको डिभिजन वन कार्यालय मुगुले जनाएको छ। 

अवैध तरिकाले वन फडानी भएको पाइए कानुनबमोजिम कारवाही हुने डिभिजन वन कार्यालयका निमित्त प्रमुख वसन्तबहादुर शाहीले बताए। निवेदन आएलगत्तै फडानी भएको क्षेत्रमा कर्मचारी खटाइएको, अवैध काठ काट्दै गर्नेहरुको भागाभाग भएको र रुख काट्न प्रयोग गरिएको आरा र मेसिनसमेत बरामद गरिएको वन कार्यालयले दाबी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.