|

काठमाडौं : नुवाकोट जिल्लाको विदुर नगरपालिकाका पूर्व नगरप्रमुख कमानसिंह लामाले आफूलाई अन्य व्यक्तिको लेनदेनमा मुछेर बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्। लामाले धनमाया तामाङ र कृष्ण तामाङको लेनदेनको विवादमा आफूलाई मुछेर बदनाम गर्न खोजिएको भन्दै न्यायका लागि अदालतदेखि मिडियासम्म आउन बाध्य भएको बताए।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य समेत रहेका लामाले कृष्ण तामाङ र धनमाया तामाङको ९ लाख ५२ हजार रुपैयाँ घरायसी लेनदेन मिलिसकेको प्रमाण पेश गर्दै यसमा आफूले कसैलाई अन्याय नपरोस् भनेर उल्टै सहयोग गर्दा नियोजित रुपमा बदनाम गरिएको स्पष्ट पारे। उनले भने, ‘कमानसिंह लामा कसैको एक पैसा खाएर हिंडेको मान्छे होइन। पैसाको लेनदेनमा मकहाँ आएपछि उल्टै सहयोग गर्दा मेरै बदनाम गर्ने काम भयो।’

कृष्ण तामाङ आफू कहाँ आएर मर्नुपर्ने अवस्थामा पुगेँ भनेपछि धनमाया तामाङलाई डाकेर रकम पाउने वातावरण मिलाइदिएको उनको स्पष्टोक्ति थियो। कृष्ण तामाङको भविष्यलाई ध्यानमा राखेर आशिष थापालाई डाकेर रकम दिने वातावरण बनाएको उनले बताए। उनले आशिष थापाले आफूले असोज २८ गते चार लाख बाउन्न हजार नगद, मंसिर २७ गते चार लाख नगद र सिटी एक्सप्रेसमार्फत् ५० हजार रकम प्रदान गरेको प्रमाण पेश गरे। त्यस्तै, आइएमईमार्फत पनि ५० हजार रकम आफूहरूले धनमाया तामाङलाई पठाएको सुनाए।  

पैसा दिने प्रतिवद्धता व्यक्त भइसकेपछि आफूहरूलाई किरण सिंह र बमबहादुर तामाङ भन्ने व्यक्तिले रकम नदिए मार्ने धम्की दिएको लामाले बताए। उनले भने,‘मसँग धम्कीको रेकर्ड र फोन नम्बर समेत सुरक्षित छ।’ त्यसपछि धनमायालाई डाकेर किन यस्तो गरेको रकम दिइहाल्थे भनेको बताए। 

विदुर नगरपालिकाका तरुण दल इकाई सदस्य समेत रहेका आशिष थापाका अनुसार २०७६ असोज २८  ४ लाख ५२ हजार रुपैयाँ धनमायाले भनेबमोजिम किरण सिंहलाई नगद रकम पठाइएको थियो। २७ मंसिरमा ४ लाख दिइएको र बाँकी ५० हजार २८ पुसमा दिइएको थियो। चेक र मनि एक्सप्रेसमार्फत् रकम दिएर सादा कागजमा भौचर बनाएर टाइप गरेर हस्ताक्षर समेत गराइएको थापाको भनाई छ ।

आफू अस्वस्थ भई बस्दा समेत रकम पठाएको भन्दै अनावश्यक रुपमा कमानसिंह लामालाई मुछेको भन्दै आपत्ति जनाए। अन्तिम किस्तावापतको रकम सिटी मनी एक्सप्रेसबाट पठाएको थापाले बताए। 

रकम पूरा दिइसक्दा पनि आफूहरूलाई नियोजित रुपमा बदनाम गरिएको भन्दै लामा र थापाले गम्भीर आपत्ति जनाए। लामाले आफूले कुनै गल्ती गरेको भए प्रहरीमा उजुरी दिई वा अदालतमा मुद्दा दायर गरी कारबाही अगाडि बढाउन चुनौती दिए। उनले भने,‘मलाई नखाएको विष लाग्यो।’

आफ्नो परिवारका सदस्यलाई समेत तनावमा पार्ने गतिविधि भएको भन्दै झुटा विषय बाहिर आएकोमा दूधको दूध पानीको पानी गर्न पत्रकारलाई आग्रह गरे। लामाले आफूमाथि मानहानी भएको भन्दै अदालतको ढोका ढकढकाएको समेत बताए। उनले भने, ‘मानिसहरु किन विनाकारण आत्महत्या गर्दा रहेछन् भन्ने अहिले बुझ्दैछु। नभएको कुरा प्रचार नगरियो्स।’

आफूले अन्याय गरेको भए जस्तोसुकै सजाय भोग्न तयार भएको उनको भनाई थियो। पैसा लिइसकेको चेकको भुक्तानीलगायत सबै प्रमाण आफूहरूसँग रहेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.