|

- विमला ढकाल

बर्दिया : हात्तीपाइले रोग निर्मूल नभएपछि बर्दियामा ९ वर्षभित्र नवौं पटक हात्तीपाईले विरुद्धको औषधी खुवाईंदैछ। सरकारले २०६७ सालदेखि बर्दियामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउँदै आएको छ।

यो बर्ष पनि माघ २५ देखि २७ गतेसम्म हात्तीपाइलेको औषधी खुवाउन लागिएको हो। पहिलो दिन तोकिएका स्वास्थ्य बुथ तथा दोस्रो र तेस्रो दिनमा घर-घरै गएर औषधी खुवाइने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कृष्णगोपाल चौधरीले जानकारी दिए।

लगातार ६ बर्षसम्म औषधी सेवन गर्नुुपर्ने भनिएपनि बर्दियामा भने परिक्षणका क्रममा अझै उक्त रोगको परजीवी भेटिएकाले नवौं बर्षमा पनि औषधी खुवाइँदैछ। हात्तीपाईले परिक्षणका क्रममा उक्त रोगको परजीवी १ प्रतिशतभन्दा तल झारेमा मात्रै अभियान सम्पन्न भएको मानिन्छ।

सन २०२० सम्ममा विश्वबाटै हात्तीपाईले निवारण गरिसक्ने लक्ष्य राखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले औषधी सेवन गरी यो अभियान सफल पार्न निर्धक्क भई औषधी सेवन गर्न जिल्लावासीलाई आग्रह गरेको छ। 

२०७३ मा बर्दियाका दुई ठाउँमा हात्तीपाईले रोगको अनुसन्धान परीक्षण गरिएको थियो। ठाकुरबाबा नगरपालिकाको डुम्रेनीमा परीक्षण गर्दा १५ जनामा हात्तीपाईले संक्रमण देखिएको थियो भने बैदिमा ३७ जना संक्रमित भेटिएका थिए। २०७५ मा परिक्षण गर्दा पनि डुम्रेनीमा १० जनामा तथा बैदीमा १७ जनामा हात्तीपाईलेको परजीवी भेटिएको थियो।

नेपाल सरकारले देशभरका ६३ जिल्लाहरुमा हात्तीपाईले विरुद्धको औषधी सेवन अभियान शूरू गरेको थियो। हालसम्म ५० जिल्लामा उक्त अभियान सम्पन्न भैसकेको छ भने बर्दिया, दाङ, कपिलवस्तुलगाएतका १३ जिल्लामा यो अभियान अझै जारी छ। 

गलत बुझाई र सेवनका गरेपछि यसअघि भएका केही दूर्घटनाहरुका कारण मानिसहरुले औषधी सेवन गर्न आनाकानी गर्ने गरेका छन्‌। ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा संयोजक ईन्द्र बहादुर राजबंशीले भने,'औषधी सेवनबारे अफवाह, सामाजिक तथा धार्मिक मूल्य-मान्यता, प्रत्यक्ष निगरानीमा औषधी सेवन गराउन कठिन, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय अभावलगायतका चुनौतीहरु कायमै रहेकाले रोग पूर्ण रुपमा निर्मूल पार्न सकिएको छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.