|

रसुवा : उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको छ। 

भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा सामान आयात बृद्धि भएपछि प्रतिबन्ध लगाइएको जानकारी दिइयो। 

कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको बताए। उनले शुल्क नतिरी ल्याइएका सबै खाले झोले पोके व्यापारीको सामान जफत गरिने बताए। स्थायी लेखा नम्बर र वाणिज्य दर्ता प्रमाणपत्र लिई आयातनिर्यातको गर्न चाहने सबै व्यक्तिलाई सम्पर्क राख्न कार्यालयले आग्रह समेत गरेको छ। 

सशस्त्र प्रहरी भन्सार सुरक्षा एवम्‌ राजश्व चुहावट नियन्त्रण २१ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बिना इजाजतका झोले पोके व्यापारी नियन्त्रण गरिने जानकारी दिए। यही माघ १० गतेसम्म आयातनिर्यात भएका सामग्रीबाट भन्सार शुल्क कूल १९ अर्ब ७२ करोड ६४ लाख ४५ हजार रुपैयाँ राजश्व आर्जन भएको कार्यालयले जनाएको छ। 

यस्तै नेपाल र चीनबीच आइतबार रसुवागढीमा कोरोना भाइरस रोगथामसम्बन्धी छलफल सम्पन्न भएको छ। सीमा क्षेत्रमा त्यस्ता रोग लागेका व्यक्तिलाई आवतजावतमा रोक लगाउने, अस्पताल पठाउने र शङ्कास्पद व्यक्ति देखिएमा रसुवागढीमा रहेको हेल्थडेस्कमार्फत परीक्षण गराउने व्यवस्था मिलाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.