|

काठमाडौं : नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विषयलाई लिएर अहिले हतार गर्नु नपर्ने बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको सभामुख पदको पदभार ग्रहण गर्दै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमसिसीको विषयमा हतार गर्नु नपर्ने बताएका हुन्। 

एमसिसीको विषयले यतिबेला सत्ताधारी दलका नेताहरू नै विभाजित भइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र ओली निकटका प्रायः नेताहरू एमसिसी पास गराउनैपर्ने पक्षमा देखिएका छन्। 

नेकपाको स्थायी कमिटी बैठकमा समेत एमसिसी विवादमा नेताहरूबीच चर्काचर्की परेको थियो। एमसिसी नेपालको संविधानविपरीत भएको भन्दै केही नेताहरूले यसलाई नेपालमा कार्यान्वयन गर्न नहुने धारणा राखेका थिए। 

विवादले उग्ररूप लिएपछि स्थायी कमिटी बैठकले पार्टी सचिवालयलाई नै यसबारे निर्णय  लिन भनेको थियो। तर, स्थायी कमिटीले सचिवालयलाई निर्णयको लागि पठाएको भए पनि त्यसपछिको बैठकमा एमसिसीको विषयमा प्रवेशसमेत पाएको छैन। 

एमसिसीको विपक्षीमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, देव गुरुङ र रघुजी पन्त लगायतका नेताहरू उभिएका छन्। एमसिसीको विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले शर्त संशोधन गरेर मात्रै स्वीकार गर्नुपर्ने भनाई राख्दै आएका छन्। 

पार्टीभित्र व्यापक विरोध भइरहेको एमसिसीको विषयमा नेकपाको नेताहरू नै फरक धारमा देखिएकाले अहिले विवाद बहसमा पुगेको उनले बताए। आफूमाथि लागेको आरोपको विषयमा मुद्दा प्रक्रियामै रहेकोले अहिले बोल्नु उपयुक्त नभएको प्रतिक्रिया दिए। 

काभ्रेको अर्जुन लामाको सापकोटा र पूर्वराज्यमन्त्रीसमेत रहेका सूर्यमान दोङको संलग्नता रहेको भन्दै लामाकी श्रीमती पूर्णिमाया लामाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। जुन मुद्दा अहिले सर्वोच्व अदालतमा विधाराधीन छ। 

करिब ४ महिनाको रिक्ततापछि आएका सभामुख सापकोटाले संसदको गरिमा बचाइराख्ने प्रतिबद्धता जाहेर गरे। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासमा जेल परेपछि संसदले सभामुख पाउन सकेको थिएन। सभामुख नहुँदा संसदको बैठक पटकपटक स्थगित हुँदै आएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.