'हामीले धेरै ढिला गर्‍यौँ, अब यसरी हुँदैन'

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख चयनसहितका काममा धेरै ढिला भएकाले अब रोकिन नहुने बताएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाई दिने क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

‘सभामुखजीले मर्यादित ढंगले संसद अगाडि बढाउनु हुनेछ। मेरो तर्फबाट तपाईँलाई पूर्ण सहयोग हुनेछ। सभा सञ्चालनमा सकारात्मक भूमिकाका साथ सहयोग रहनेछ’, उनले भने, ‘राजनीतिक आन्दोलनको चरण पार गरेर हामी यस बिन्दुमा आइपुगेका छौँ। हामीले विचार पुर्‍याएर अघि बढ्नुपर्छ। हाम्रो समाजको चरित्र पनि मेलमिलाप गरेर अघि बढ्ने खालको छ।’

ओलीले देशमा लोकतान्त्रिक प्रणाली स्थापना गरिसकेकाले अब विकासतर्फ लाग्नुपर्नेमा जोड दिए। ‘जनतामा सार्वभौमसत्ता आइसकेको छ। सार्वभौम जनताले सबै कुराको अन्तिम निर्णायक हुन्छन्’, उनले भने, ‘निर्वाचन गरेर सार्वभौम संरचना पनि तयार गरिसकेका छौँ। हामीले बाटो तय गरिसकेका छौँ, अगाडि बढिसकेका छौँ।’

अबको बाटो सुशासन रहेको ओलीले बताए। ‘यस्तो अवस्थामा हामीले सुशासन र विकासका प्रश्नहरमा हाम्रा सम्पूर्ण विचार र प्रयास केन्द्रित गर्न जरुरी छ’, उनले भने, ‘बहुदल, बहुविचार र विविधता हामीले रोजेको छानेको, स्वीकारेको प्रणाली हो। हामी आधारभूत कुरामा एकतावद्ध भएर स्वस्थ प्रतिस्पर्धामा जानुपर्छ।’

ओलीले ठूला असहतिका बावजुद सहमति जुटाउँदै दलहरु यस ठाउँमा उभिएको बताए । ‘हाम्रो समाजको चरित्र पनि त्यस्तै छ, हामी संघर्ष गरेर पनि अन्तिममा सहमतिमा पुग्छौँ’, उनले थपे, ‘२००७ सालमा आन्दोलन र सशस्त्र संघर्ष भएर सम्झौतामा टुंगियो। जो राणाविरुद्ध आन्दोलन गरियो, उनैलाई प्रधानमन्त्री बनाइयो। जो राजा भागेका थिए, उनैलाई गद्दीमा ल्याएर राखियो, सहमति गरे।’ 

एकतावद्ध नभएका समय दलहरु असफल भएको उनले बताए। ‘हामी नमिल्दा प्रतिगामी कदम चालिए, हामी एकतावद्ध नभए समस्या हुन्छ। २०४६ सालमा एक हुँदा ३० वर्षे पञ्चायत ढल्यो। पछि एक हुँदा माघ १९ को निरंकुशतालाई हरायौँ’, उनले भने, ‘एकतावद्ध नभएको भए संविधान पनि आउँदैनथियो, निर्वाचन पनि हुँदैन थियो। सत्यलाई कम महत्व दिने कुरा अब हुँदैन। दुनियाँ तीव्र गतिमा अगाडि बढेको छ। विकास, प्रविधि हरेक हिसाबले दुनियाँ अघि बढेको छ।’

ओलीले समय तीव्र गतिमा अघि बढेकाले अब रोकिन नहुनेमा जोड दिए।  ‘हामीले समय खेर फालेका हुन्छौँ, हामीलाई समयले पर्खिँदैन। सबै सांसदहरुमा विकासको यस गतिलाई समात्न सक्नुपर्छ। त्यसको नेतृत्व अहिलेको सरकारले गर्छ’, उनले भने, ‘हामीले लडेर ल्याएको उपलब्धी र प्रणाली, त्यस अनुकुलको संविधान, कानुन निर्माण र कार्यान्वयनमा सरकार लागेको छ। हामी यति बेला ससाना कुरामा अल्झिने, आग्रह पूर्वाग्रहमा अल्झिनु हुँदैन।’

ओलीले अब ढिलो भइसकेको पनि दाबी गरे। ‘हामी ढिलो भइसकेका छौँ, सभामुख चयनमा ढिला ग¥यौँ’, उनले भने, ‘हाम्रा कामहरुलाई संसदले पनि सरकारले पनि तीव्र गतिमा अगाडि बढाउन जरुरी छ। अब ढिला गरेमा हामी पछाडि पर्छौँ। धेरै अगाडिदेखि बढ्दै आएको ६/७ प्रधानमन्त्री गुजार्दै आएको एमसिसी जस्ता कुराहरु पनि पारित गर्नुपर्ने छ।’

हिउँदे अधिवेशनमा अलिकति समय खेर गए पनि अब खेर जान नदिएर अगाडि बढ्नुपर्ने ओलीले जोड दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.