|

धनकुटा : जिल्लाको पाख्रीबास नगरपालिका २ सान्नेमा बाबुको निधन भएपछि १६ वर्षीया छोरी काजकिरियामा बसेकी छन्। गत शनिबार पोखराबाट घर फर्कंदै गर्दा सप्तरीको बरमझियामा सवारी दुर्घटनामा ४८ वर्षीय ज्ञानबहादुर कुँवरको निधन भएपछि छोरी विद्यता काज किरियामा बसेकी हुन्। उनी आमा गंगा र हजुरबुबा शान्तबहादुरको साथ कोरामा बसेकी छन्। गत आइतबार हुने ज्ञानबहादुरकी आमाको वार्षिकीको लागि घर आउँदै गर्दा दुर्घटनामा परेर उनको निधन भएको थियो।

पविारका एक सदस्यको वार्षिकीको तयारीमा रहेका परिवारजनलाई ज्ञानबहादुरको दुर्घटनामा परी ज्यान गएको खबर सुन्दा बज्रपात भएको थियो। उनको पोखराबाट मोटरसाइकलमा घर फर्कंदै गर्दा टिपरको ठक्करबाट घटनास्थलमा नै निधन भएको थियो। अकल्पनीय खबरले मर्माहत बनेको मृतकका बाबु (विद्यताका हजुरबुबा) शान्तबहादुरले आँशु झार्दै बताए।

सुरुमा अशुभ खबर सुनेका उनले घरपरिवारका सदस्यलाई त्यस्तो खबर कसरी सुनाउने भन्ने पीडा भएको सुनाए। ‘जे पर्छ त्यो भोग्नैपर्ने,’ उनले भने, ‘नातिनीले आफै काजकिरियामा बस्छु भनेपछि सबैले स्वीकार गर्‍यौं।’ उनी पत्नीको निधन भएको वर्ष दिन नपुग्दै छोरालाई गुमाउनु पर्दा शोकमाथि शोकमा परेका छन्। बुबाको निधनको खबरपछि खप्न गाह्रो भए पनि सम्हालिएको विद्यता बताउँछिन्।

पोखरामा बुबा आमाका साथका रहेकी उनी हजुरआमाको वार्षिकीको लागि आमासँग गाडीमा घर फर्कंदै थिइन्। बाबु र भान्जा दाजु मोटरसाइकलमा र आमा छोरी गाडीमा आउँदै गर्दा बाबुको दुर्घटनामा परेर निधन भएको उनले बताइन्। बाबुको निधन भएपछि शोकमा डुबेको परिवारलाई सान्त्वना दिँदै छोरी विद्यताले आफैं बाबुको काजकिरिया गर्न जिद्दी गरेको छिमेकी शान्तिराम गौतमले बताए।

‘उनको अठोट र समझदारीलाई देख्दा हामी अचम्मित भयौं,’ उनले भने, ‘सबैलाई मनाएर उनी काजकिरियामा बसेकी छन्। बुबाको निधनले सुरुमा निकै विछिप्त बनेकी उनी आफैँ सम्हालिँदै सबैलाई सम्झाइ-बुझाइ गरिन्। उनलाई साथ दिन हजुरबुबा शान्तबहादुरसमेत छन्।

पोखरामा व्यापार व्यवसाय गर्दै आएका कुँवर नेकपाका नेता तथा उद्योग वाणिज्य संघ पोखराको सदस्य समेत रहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.