|

कञ्चनपुर : कृषिको व्यवसायीकरण गरी कृषकको आम्दानी बढाई जीवनस्तर उकास्ने उद्देश्यले कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको छ।

नगरपालिकाका १९वटै वडालाई निश्चित कृषि वस्तु पहिचान गरी रोजगारी सिर्जना गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको हो। वडामा माटो सुहाउँदो बालीको छनोट गरी उत्पादकत्व बृद्धि गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले बताए। 

खाद्यान्न बालीका लागि एक विघा, तरकारी बालीका लागि १० कठ्ठा, माछापालनका लागि छ कठ्ठा जलासय, फलफूल खेतीका लागि पाँच कठ्ठा र प्लाष्टिक घरमा तरकारी खेतीका लागि तीन सय वर्ग मिटर जग्गा निर्धारण गरिएको छ। यसैगरी, गाई भैंसीपालन (वयस्क दुधालु) पाँच वटासम्म र कुखुरापालन पाँचसय वटा हुनुपर्ने प्रावधान राखिएको छ। 

कृषिजन्य बाली वस्तु कृषि योग्य क्षेत्रको माटोको किसिम, सिँचाइको उपलव्धता, व्यवसायीकरणको सम्भावना  र कृषिजन्य बाली वस्तुमा कृषकको संलग्नतालााई ध्यानमा राखी बाली छनोट गरिएको छ। 

वडा नं १ मा आलु खेती, वडा नं २ मा माछापालन, वडा नं ३, ५,६,७ मा बेमौसमी तरकारी खेती, वडा नं ९,१३,१४ मा तरकारी खेती, वडा नं ४ मा अर्गानिक तरकारी खेती, वडा नं ८ र १० आँप, लिची, केरा खेतीका लागि छनोट गरिएको छ। यसैगरी, वडा नं ११ गाई भैंसीपालन, वडा नं १२ स्थानीय जातका कुखुरापालन, वडा नं १५ बीउ उत्पादन (खाद्यान्न तथा तरकारी बाली), वडा नं १६ चैते धान, वडा नं १७ भैंसीपालन र मसिनो धान खेती, वडा नं १८ प्लाष्टिक टनेलसहित आइपिएम तरकारी खेती र वडा नं १९ जडिबुटी खेती र कागती खेतीका लागि छनोट गरिएको छ।

छनोटमा परेक किसानलाई आवश्यक बीउ, बेर्ना, विरुवा, माछा भुरा, कुखुराका चल्ला, पाडा-पाडी, बाच्छा-बाच्छी, रसायनिक मल, जैविक विषादी, प्रांगारिक मललगायतमा नगरपालिकाले ५० प्रतिशत अनुदान सहयोग गर्ने व्यवस्था गरेको छ। मेशिनरी औजार, पोखरी निर्माण, सिँचाइ पूर्वाधार तथा कृषिसँग सम्बन्धित अन्य पूर्वाधार निर्माणमा समेत ५० प्रतिशत अनुदान दिने योजना नगरपालिकाको रहेको छ। 

कार्यक्रममा संलग्न किसानलाई नगरपालिकाले सम्बन्धित बालीको विज्ञको व्यवस्था गरी आवश्यक तालिमको समेत व्यवस्था मिलाइएको छ। कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले कार्यक्रम सञ्चालन कार्यविधि २०७६ तयार गरी लागू गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.