सरकारसँग उपसभामुख नमागेको जिकिर

|

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्ना मागहरुमा सरकार सकारात्मक भए सरकारलाई समर्थन गर्ने संकेत गरेको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित प्रतिनिधिसभा सभामुखलाई सफल कार्यकालको शुभकामना दिँदै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महेन्द्र राय यादवले सरकार सहमति कार्यान्वनय गर्न तयार भए समर्थन जनाउन सकिने बताए। 

उनले सहमति कार्यान्वयनमा सत्तारुढ दल सकारात्मक नदेखिएपछि समर्थन फिर्ता लिनुपरेकाले संविधान संशोधन लगायतका मुद्धामा आफुहरु स्पष्ट भएको बताएका छन्। 

संविधान संशोधन, रेशम चौधरी लगायत थारुहट र मधेश आन्दोलनका सहभागिहरुमाथि लगाइएको झुठा मुद्धा फिर्ता लिन सरकार तयार भए सरकारलाई पुनः समर्थन गर्न सकिने उनले बताए । 

'संविधानका राम्रो पक्षलाई संस्थागत गर्न  र पूर्णता दिनका लागि हामीले संशोधनको माग राखेका हौँ। सरकारले संविधान संशोधनको प्रकृया अगाडी बढाउनुपर्‍यो', उनले भने, 'राजापा मुद्दाको पार्टी हो। सरकारको पार्टी होइन। सरकारले जति भन्छ त्यति दिनका लागि समर्थन दिन्छौँ। सरकारले हाम्रा माग पूरा गरोस, रेशम चौधरी लगायतलाई रिहा गरोस, सरकारलाई समर्थन गर्न तयार छौँ।’

अहिलेकै अवस्थामा सरकारमा सहभागी हुने सम्भावना न्यून रहे पनि संघीयता मजबुद पार्ने र गणतन्त्रलाई बलियो बनाउन पार्टीका मुद्दाहरु गम्भीर रुपमा लिए समर्थन गर्न सकिने उनले बताए। 

सांसद यादवले सरकारलाई उपसभामुखका विषयमा पनि प्रष्ट हुन आग्रह गरेका छन्। आफ्नो पार्टीले सरकारसँग उपसभामुख नमागेको तर कहिले कांग्रेसलाई दिने त कहिले राजपालाई दिने भन्‍ने कुरा बाहिर आएको र यो विषयमा सरकार प्रष्ट हुनुपर्ने उनले बताए। 

‘सरकारसँग हामीले उपसभामुख मागेका छैनौँ । उसले कसरी दिन्छ', उनले भने, 'राष्ट्रिय जनता पार्टीलाई दिने नदिने के हो सरकारले स्पष्ट पारोस।’

सीमा समस्या समाधानका लागि सबै राजनीतिक दलहरु एक हुँदा पनि सरकार अगाडि नबढेको आरोप उनले लगाए। उनले उखु किसानहरुको पैसा भुक्तानी गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.