|

भद्रपुर : भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।

यही माघ २७ देखि फागुन ५ गतेसम्म हुने फुटबल प्रतियोगिताको बारेमा मंगलबार कचनकवलमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले उक्त जानकारी गराइएको हो। कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा बनियानी खेल मैदानमा हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी आठ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष हरि बस्नेतले जानकारी दिए। 

उक्त प्रतियोगितामा आयोजक बनियानी युवा क्लब, जलथल फुटबल क्लब झापा, रेड हर्ष फुटबल क्लब इलाम, उर्लाबारी फुटबल क्लब मोरङ, ताल तलैया फुटबल क्लब सुनसरी, चर्च ब्वाइज युनाइडेट ललितपुर, युनाइटेड फुटबल क्लब दार्जिलिङ भारत र मानेभञ्जाङ फुटबल क्लब पश्चिम बंगाल भारतले सहभागिता जनाउन लागेको अध्यक्ष बस्नेत बताए।

प्रतियोगिता सम्पन्न गर्न १६ लाख ५ सय अनुमानित बजेट रहेकोमा लागि प्रदेश १ सरकारअन्तर्गत प्रदेश सांसद कोषबाट वसन्त बानियाँले चार लाख २५ हजार, कचनकवल गाउँपालिकाले तीन लाख, बाँकी रकम विभिन्न दाता र टिकटबाट संकलन गरिनेछ। प्रतियोगिताबाट बचत भएको रकम गाउँपालिकाको खेलकुद क्षेत्रकै स्तरोन्नतिका लागि खर्च गरिने उनले बताए। प्रतियोगितामा विजेता टिमलाई नगद एक लाख ५० हजार र उपविजेता टिमलाई एक लाख नगद पुरस्कारसहित विभिन्न विधामा पुरस्कार वितरण गरिने छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अन्जार आलमले भ्रमण वर्षलाई लक्षित गर्दै आयोजना गर्न लागिएको यस प्रतियोगिताले कचनकवलमा पर्यटन भित्र्याउन सहयोग पुर्‍याउने बताए। ‘भ्रमण वर्ष सफल बनाउन फुटबल खेलसँगै गाउँपालिकाले आउँदो फागुन महिनामा कचनवकल महोत्सवको आयोजना गर्न लागेका छौं, उनले भने।’

नेपालकै होचो भूभाग कचनकवललाई पर्यटकीय क्षेत्रको रूपमा विस्तार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै परिचित गराउन संघीय तथा प्रादेशिक सरकारले बजेट छुट्ट्याउनु पर्ने उनको माग छ। यता कार्यक्रमको सञ्चालन क्लबमा सचिव शिवप्रसाद गुरुङले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.