|

काठमाडौं : विभिन्‍न स्थानमा भएका छुट्टाछुट्टै घटनामा वडाअध्यक्षसहित पाँचजनाको मृत्यु भएको छ।

बाराको कलैया उपमहानगरपालिका-५ का वडाध्यक्ष रामअयोध्य मण्डलको निधन भएको छ। क्यान्सर, सुगर र जन्डिसबाट पीडित मंगलबार साँझ मृत्यु भएको हो।

दुई महिना देखि घरमै आराम गरिरहेका वडाध्यक्ष मण्डलको मंगलबार साँझ ५ बजे आफ्नै घरमा निधन भएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवले जनाए। ‘उहाँले २ महिनादेखि वडाको सबै जिम्मेवारी निमितको रूपमा  वडा सदस्यलाई दिएर आफू घरमै आराम गरिरहनु भएको थियो’नगरप्रमुख यादवले भने।

उपचारको कम्रमा धेरै खर्च लागेको भन्दै वडाध्यक्ष मण्डलले नगरपालिकासँग उपचार खर्चसमेत माग गरेका थिए। वडाध्यक्ष मण्डल नेकपाका वडाध्यक्ष हुन्।

त्यसैगरी, सल्यान मोटरसाइकल दुर्घटना हुँदा सल्यानमा एक शिक्षकको ज्यान गएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका-६ कल्लेखोलामा रा. ३ प ७००० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दार्मा गाउँपालिका १ रानीपानीका ४२ वर्षीय टेक बहादुर केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

मंगलबार साँझ सल्यानबाट दाङ जाँदै गर्दा दुर्घटना परी गम्भीर घाइते भएका केसीको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो। बसलाई ओभरटेक गरेर जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ। घटनाबारे थप अनुसन्धान भई रहेको र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

यसैगरी, धादिङको सिद्धलेक गाउँपालिका-१ कालिदहनजिकैको भीरमा स्थानीय दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन्। बाटो छेउको भीरमा शव फेला परेकाले उनीहरू दुवैजना भीरबाट खसेर मृत्यु भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। दुवै  सिद्धलेक गाउँपालिका-१ को कार्यालय गहतेचौर जान भनेर आइतबार घरबाट निस्किएको आफन्तहरूले बताए।

सिद्धलेक गाउँपालिका-१ का ३८ वर्षिय भीमबहादुर गुरुङ र राजु भनिने ५७ वर्षीय नकुल सापकोटा आइतबार अपरान्हदेखि घर परिवारको सम्पर्कविहीन रहेका थिए। सापकोटा बुबाको मृत्यु दर्ताका लागि वडा कार्यालय गएर घर फर्कदै गरेका थिए भने गुरुङ वडा कार्यालयतर्फ जाँदै गरेको स्थानीयले बताए।

हराइरहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा सोमबार राति उनीहरूको शव कालीदहनजिकै सिक्रेखोलाको भीरमा भेटिएपछि स्थानीयले प्रहरीलाइ खबर गरेको नलाङ प्रहरी चौकीले जनाएको छ। शवलाई पोष्टमार्टमको लागि मंगलबार जिल्ला अस्पताल धादिङवेशीमा ल्याइएको भए पनि मृत्यु शंकास्पद भएको परिवारको दावीपछि दुवै शव थप अनुसन्धानका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको धादिङ प्रहरीले जनाएको छ।

मृतकका परिवारहरूको तर्फबाट जिल्ला प्रहरी कार्यलयमा जाहेरी आएपछि घटनाको विषयमा अनुसन्धान भइरहेको धादिङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। ‘शव फेला परेको छ हामी अनुसन्धानमै छौँ, घटनास्थलको प्रकृति हेर्दा उनीहरू भीरबाट लडेको हुनसक्ने अनुमान गरेका छौँ। तर, अहिले नै कारण यहि हो भन्न नसकिने अवस्था छ’ खड्काले भने।

पोष्टमार्टम हुन बाँकी रहेकाले पोष्टमार्टमपछि विस्तृत अनुसन्धान अघि बढाउने खड्काले जानकारी दिए। उनीहरूको साथबाट स्थानीय एक सहकारीको शेयर सदस्य परिचय पत्र र नगद २० हजार रुपैयाँ पनि फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यसैगरी, गोर्खाको शहीद लखन गाउँपालिका-७ बुङकोटका ४७ वर्षीय काजिराम थापाको शव फेला परेको छ। गत शुक्रबारदेखि हराएका थापाको मंगलबार बिहान गोरखा नगरपालिका-९ सल्यानधारामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘उहाँ गत शुक्रबारदेखि हराउनु भएको भन्ने जानकारी पाउनुबित्तिकै  हामीले खोजी गरिरहेका थियौँ। आज बिहान उहाँको शव फेला परेको छ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ओमप्रसाद अधिकारीले भने, ‘घटनता बारे थप अनुसन्धान भइराखेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.