|

गुल्मी : कार्यपालिका सदस्य स्थानीय सरकारको महत्वपूर्ण पद हो। वडाध्यक्ष हैसियतकै यो पदको भूमिका र अवसर महत्वपूर्ण भए पनि जिल्लाका केही कार्यपालिका सदस्यहरूले यो पद छोडेर जागिर खाने तथा परिवारको समस्या देखाएर गुमनाम हुने गरेको खुलेको छ।

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाका कार्यपालिका सदस्य हरिकृष्ण विकले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा सहजकर्ताको जागिर खाएका छन्।

उनले जिल्लाको मालिका, मदाने र इस्मा गाउँपालिकामा सहजकर्ताको रुपमा काम गर्ने जिम्मेवारी पाएको  ५ नं प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी यमकान्त पाण्डेयले जानकारी दिए। उनी पहिलो चरणमा वैकल्पिकमा परेका थिए। पछि सबै स्थानीय तहमा कार्यक्रम सञ्‍चालन भएपछि विकलाई छनोट गरिएको पाण्डेयले बताए।

धुर्कोट गाउँपालिका ३ निवासी विक नेपाली कांग्रेसको तर्फबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए। उनले गत २६ भदौमा कार्यपालिका सदस्यबाट राजीनामा दिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले जानकारी दिए।

रोशनीले परिवारसँगै कार्यपालिका पनि त्यागिन्

जिल्लाको कालीगण्डकी गाउँपालिकाकी कार्यपालिका सदस्य रोशनी थापा एक वर्षदेखि बेखबर छिन्। उनी एक वर्षदेखि पारिवारिक समस्याले बैठक र सभामा उपस्थित छैनन्।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट कालीगण्डकी गाउँपालिका ३ जयखानीको वडा सदस्यमा तीन सय ६५ मतले थापा विजयी भएकी थिइन्। उनले तत्कालीन नेकपा एमाले र जनमोर्चाको संयुक्त उम्‍मेदवार कमला आलेलाई पराजित गरेकी हुन्।

गत वर्षको माघबाट वडा र कार्यपालिकाका कुनै बैठकहरुमा आफू सहभागी नभएको थापाले बताइन्। उनले पारिवारिक समस्याले घरमा बस्ने अवस्था नभएकाले गाउँ छोडेर बुटवलमा छोराछोरी पढाएर बस्दै आएको बताइन्।

‘गाउँमा अर्को विवाह गरेको आरोप लगाए, परिवार र आफन्तको तनावले गाउँ छोडेँ,’उनले भनिन्,‘परिवार नै नभएपछि पद त्यस्तै हो।’ परिवारका सदस्यले भने अर्का ठाउँ विवाह गरेर गएको आरोप लगाए। वडाध्यक्ष हेमचन्द्र बुढाले पटक–पटक बोलाउने प्रयास गरे पनि उनी आफैँ बेखबर भएको बताए। उनले वडा तथा गाउँपालिकामा राजीनामा भने बुझाएकी छैनन्।

यस्तै, मालिका गाउँपालिका-१ नेटाका सदस्य शेर बहादुर श्रीस पनि बेखबर छन्। उनी पनि नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए। गत वर्ष नै वडाका बैठकहरुमा कम उपस्थित हुन्थे। अहिले अधिकांश बैठकहरूमा उपस्थित नै भएनन्।

श्रीस पारिवारिक समस्याका कारण देखाउँदै बैठकमा नआउने गरेको वडाध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिए। निर्वाचित भएपछि जनप्रतिनिधिको रूपमा सेवासुविधा लिने तर वडाका बैठक र काममा सक्रियता नदेखाएको भन्दै स्थानीय र अन्य जनप्रतिनिधिले पनि आलोचना गर्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.