नेकपाकै सांसदहरु पक्ष विपक्षमा उत्रिए

|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यती होल्डिङ्स लिजन प्रकरणलाई लिएर तीव्र विवाद भएको छ। नेपाल ट्रष्टको दरबारमार्गस्थित जग्गा र गोकर्ण रिसोर्ट कौडीको भाउमा लिजमा दिएको भन्दै आलोचना भइरहेका बेला नेकपाको विवाद संसददेखि सडकसम्म देखिएको हो।

चर्चामा आएका सबै विषयमा विभाजित देखिएको नेकपा भित्र स्वार्थ समूहको छायाँ देखिन थालेको छ। पार्टी केन्द्रीय कमिटीमा उठिरहेको यो विषय, सार्वजनिक कार्यक्रम र संसदसम्ममा गुटको प्रभाव देखिएको छ। सार्वजनिक लेखा समितिको बैठकमा नेकपा भित्रको गुट छरपस्ट भएको छ। 

लेखा समितिमा ‘भिआइपी’ सदस्यका रुपमा लिइन्थे हृदयेश त्रिपाठी, विरोध खतिवडा, डा. मिनेन्द्र रिजाल र लेखराज भट्ट। त्यस्तै सबैभन्दा सक्रिय सदस्यका रुपमा प्रेम आले छन्। तर यीमध्ये त्रिपाठी र भट्ट मन्त्री भइसकेका छन् भने अन्य समिति सदस्यकै रुपमा छन्।

अख्तियारको दुरुपयोग गरिएको सार्वजनिक चासोका विषयमा सम्बन्धित अधिकारी बोलाउने र अख्तियारको अनुसन्धान शैलीले प्रश्‍न गर्दै र्‍याखर्‍याख्ती पार्ने गरेकाले लेखासमिति सक्रिय संसदीय समिति भित्र पर्छ।

उल्लेखित पात्रहरू २०७४ को निर्वाचन पछि सार्वजनिक लेखा समितिमा बहेको बहसमा करिब एकै कित्तामा देखिएका थिए। लेखा समिति संसदीय समितिमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेले नेतृत्व गरेको एउटा मात्रै समिति हो।

तर यो समिति भित्र पनि कांग्रेस सांसद भन्दा नेकपाकै सांसदले सरकारलाई जवाफदेही र पारदर्शी बनाउन प्रश्‍न उठाएको देखिएको छ। वाइडवडी विमान, चिनीको परिणात्मक बन्देज, डेडिकेटेड लाइनमा देखिएको विवाद, सिमेन्टको नयाँ मापदण्ड र मुद्रण प्रेस खरिदमा समितिले बहस गरेसँगै प्रभाव देखिएको छ। यी सबै विषयमा सांसद आले सक्रिय देखिएका पात्र हुन्। सबैका आर्थिक लेनदेन भएको आरोप समिति सदस्‍यहरू उठाउदै आएका छन्।

६ वर्ष अवधि बाँकी नै रहँदै गोकर्ण फरेष्ट रिसोर्ट लिज अवधी थप ३० वर्ष थप्ने निर्णय र मूल्यांकन समिति निर्णय भन्दा ६ गुणा कममा यती समुहलाई दरवारर्मागको जग्गा लिजमा दिइएको विषयमा नेपाल ट्रष्टसँगको छलफलमा नेकपाका दुई सांसद मात्रै बोले।

मंसिर २३ गते मन्त्रिपरिषदबाट समय थपको निर्णय भइसकेकाले माघ २ गते गोकर्ण रिसोर्टका सञ्चालकसँग सम्झौता भएको जानकारी नेपाल ट्रस्टले गराएको थियो। गोकर्णको लिज समय नसकिँदै समय थप गरिएको विषयमा सरकारको सर्वत्र आलोचना भइरहेको छ।

तर, दुई सांसदका दुई कित्तामा कुरा आयो। छलफलपछि एक सांसद भन्दै थिए ‘मान्य आलेलाई यति सफ्ट पनि बोल्न आउँदो रहेछ, पूरै युटर्न नि’ विगतमा वाइडवडी र चिनीको छानविनको क्रममा आफूले भनेको शब्द नराखेकै कारण ‘ओई सचिव भन्दै समिति सचिवसँग आक्रोश पोखेका थिए’ जुनसुकै विषयमा बोल्ने कर्मचारीलाई पनि आले तिखो प्रश्‍न गर्छन्।

गोकर्ण फरेस्ट रिसोर्ट र दरवारमार्गको जग्गाको विषयमा उनले छलफल नै गर्न आवश्‍यक नरहेको संकेत गरे। ‘एनसेलले २२ अर्ब रुपैयाँ भन्दा बढीको कर तिरेको छ कि छैन, यस विषयमा समितिले छलफल राख्नु पर्ने,’ समिति सभापतिले सोधेको प्रश्‍नपछि नेपाल ट्रष्टको तर्फबाट दिइएको उत्तर चित्त बुझेको वा नबुझेको भन्‍ने सवालमा पहिले हात उठाउँदै उनले यसो भनेका हुन्।

उनले गोकर्ण फरेष्ट रिसोर्ट र नेपाल ट्रष्टको दरवारमार्गको जग्‍गाको विषयमा पनि कुरा त राखे। तर जे भएको छ त्यही ठीक भएकाले विरोध आवश्‍यक नभएको तर्क गरे।

गोकर्ण रिसोर्टका सवालमा उनले संरचना बनाउन समयमै लिज अवधि थपिन स्वभाविक भएको तर्क उनले गरे। दरवारमार्गस्थित जग्गाको सवालमा जग्गा किन्‍नै ६ अर्ब रुपैयाँ नपर्ने अवस्थामा दिइएको रकम ठीक भएको तर्क उनले गरे।

प्रेम आलेले कानुनसम्मत काम भएको भन्दै विरोधको आवश्‍यकता नभएको भने पनि अर्का नेकपाकै सांसद विरोध खतिवडाले  भने विरोध नै गरे।

खतिवडाले ५/६ वर्ष बाँकी हुँदै गोकर्ण रिसोर्टको समय थप गर्नुपर्ने कारण सरकारसँग माग गरे।  ‘एक पटक लिज पाएको कम्पनीले लिज समय सकिनु ५/६ वर्ष अघि नै नयाँ लिज सम्झौता गर्दा अर्को पक्षले त्यहाँ प्रवेश गर्न कहिले पाउँछ।’

आलेले संरचना बनाउन समयअगावै लिज थप्नुपर्ने बताउँदा खतिवडाले यस्तो प्रश्‍न तेर्स्याएका हुन् । आले पछिल्लो समय नेकपामा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् भने खतिवडा वरिष्ठ नेता नेपालनिकट मानिन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.