|

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरका सम्पुर्ण महिलाहरुका लागी नि:शुल्क सेनिटरी प्याड वितरण कार्यक्रम शुभारम्भ गरेको छ। नगर जनस्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वीरेन्द्रनगर १६ सानिखेलस्थित स्वास्थ्य चौकीबाट प्याड वितरण कार्यक्रमको शुभारम्भ गरिएको हो।

मर्यादित महिनावारी र सरसफाईबारे सचेतना फैलाउन कार्यक्रम शुभारम्भ गरिएको वीरेन्द्रनगरकी उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्‌। उनका अनुसार अबको दुई महिनाभित्र नगरका सबै वडामा नि:शुल्क प्याड वितरण शूरू गरिनेछ।

महिनावारीका बेला पर्याप्त सरसफाई र नियमित महिनावारी नहुँदा स्तन र पाठेघरमा क्यान्सरलगायत गम्भीर प्रकृतिका रोगहरुबाट महिलाहरु पीडित हुने गरेका र यो स्थिति अन्त्य गर्न नि:शुल्क प्याड वितरण थालिएको नगरपालिकाले जनाएको छ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई नि:शुल्क प्याड वितरण गरेपनि यसरी नगरका सम्पुर्ण महिलाहरुका लागी नि:शुल्क प्याड वितरण गर्ने वीरेन्द्रनगर सम्भवत: देशकै पहिलो नगरपालिका हो।

यो अभियानले महिलाहरुलाई महिनावारीका बेला स्वास्थ्य, सरसफाई र स्वच्छताका बारेसमेत खुलेर कुरा गर्ने वातवरण सृजना हुनेछ।  महिलामा हुने धेरै रोगको कारण महिनावारी सुस्तता रहेको तथ्य बाहिरिएको भन्दै छाउपडी कुप्रथा न्यूनिकरण गर्न समेत यो अभियानले सघाउने उपप्रमुख ढकालले दाबी गरिन्‌।

नगर सभाबाट नै नगरपालिकाभित्र रहेका महिलाहरुका लागी महिनावारी हुँदा एक महिनामा एक महिलालाई एउटा नि:शुल्क सेनिटरी प्याड वितरण गर्ने निर्णय गरिएको थियो। महिनावारी कार्ड वितरण गरि नगरका प्रत्येक वडा स्वास्थ्य चौकीमार्फत प्याड वितरण गर्ने नगरपालिकाको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.