|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कार्यपालिका बैठक तीन पटक लगातार स्थगित भएको छ।

अनुमोदन नै नगरिएका योजनाको खर्च पारित लागिएपछि कार्यपालिकाका बहुमत सदस्यले त्यसको विरोध गर्दै बैठक चल्न नदिएका हुन्‌। माघ १२, १३ र १७ गते तय गरिएका कार्यपालिकाका बैठक स्थगित भएका छन।

बैठकमा पेश गर्न तय गरिए बाहेकका एजेण्डाहरु पारित गराउने परिपञ्च हुँदै आएकाले त्यसको विरोध गर्दै बैठक चल्न नदिइएको कार्यापालिका सदस्य एवं वडा नं ९ का वडा अध्यक्ष रमेश ऐरले बताए।

'आफूखुशी योजना पहिले नै कार्यान्वयन गरी बजेट खर्च अनुमोदनका लागि बैठकमा केही सदस्यले पेश गर्दै आएका छन्,'उनले भने, ‘त्यसको विरोध गरेका हौं, योजना कार्यान्वयन गर्नुअघि कार्यपालिकाबाटै बजेट अनुमोदन गर्नुपर्छ।’ कर्मचारी भर्ना गर्दा कार्यक्षमता, दक्षता र नियमपूर्वक राख्नु पर्नेमा काम गर्दै आएका पुराना कर्मचारीलाई दर किनार गर्दै मनोमानी तरिकाले कर्मचरी राखिन थालेपछि त्यसको समेत विरोध गरिएको  ऐरले बताए। 

वैकल्पिक सूचिमा रहेका ११ जनालाई करारमा राख्‍ने भन्दै कार्यपालिका बैठकमै नराखिएको एजेण्डा पारित गर्न खोजिएपछि अर्को तनाव भएको छ। राजनीतिक स्वार्थ र रकमको लेनदेनमा ११ जनालाई करारमा राख्‍न खोजिएको भन्दै सदस्यहरुले विरोध गरेका हुन्‌। 

वडासदस्य ऐरका अनुसार नगरपालिकाले केही दिनअघि मात्रै नयाँ कर्मचारी भर्ना गरेको छ। नगरपालिकाको आन्तरिक आम्दानीले नथेग्ने गरी पुनः नयाँ कर्मचारी भर्नाको चलखेल भएकाले विरोध गरिएको उनले बताए। उनले भने, 'नगरमा ठुला योजना ल्याउन भन्दै चुनाव जितेपनि अहिलेसम्म गुरुयोजना समेत बनाइएको छैन, चक्रपथ र अन्य योजनाका लागि भनेर ठुलो धनराशी डिपिआरमा खर्च गरिएको छ, रकम दुरुपयोग भएकाले त्यसको समेत छानबीन गरिनुपर्छ।'

खोलाजन्य पदार्थहरुको उपयोगका लागि वातावरणीय प्रभाव मूल्याङकन गरिएपनि उपयोग गरिएको छैन वडा नं ६ का अध्यक्ष जगता रानाले भने, ‘रोयल्टीबापत ठूलो धनराशी अन्य नगरपालिकालाई बुझाई नदीजन्य पदार्थ ल्याउने गरिएको छ।’ नदी/खोलाजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको उपयोग गरिनुपर्ने उनको भनाई रहेको छ। वडा नं ४ का वडा अध्यक्ष ज्ञान बहादुर बिष्टले कार्यपालिका बैठकमा व्यक्तिगत लाभ हुने एजेण्डा मात्रै पेश हुने गरेको बताए। जनतालाई लाभ हुने, नगरको समृद्धि हुने खालका योजना र एजेण्डा ल्याउनका लागि भन्दै आएपनि बेवास्ता हुन थालेको उनले बताए। 

दश बुँदे माग राख्दै कार्यपालिका बैठक कक्षमै तालाबन्दी  

नगरपालिकाको बैठक कार्यकक्षमै कार्यपालिकाका सदस्य तथा वडा नम्बर ८ का वडा अध्यक्ष बहादुर महराले शुक्रवार तालाबन्दी गरेका थिए। दुई घण्टा बैठक कार्यकक्षमा तालाबन्दी गरेका महरासँग नगरप्रमुख दिल बहादुर ऐरले तीन बुँदे सहमती गरी ताला खुलाएको बताएपनि सहमतिपत्रमा भने नगर प्रमुखको हस्ताक्षर छैन।

ताला खुलेपनि बैठकका अधिकांश सदस्यले बहिस्कार गरेपछि बैठक चल्न सकेन। वडाध्यक्ष महराले विगत केही दिनयता मनोमानी रुपमा नगर प्रमुख र केही जनप्रतिनिधीहरुले नगरपालिकालाई दीर्घकालिन असर पर्नेगरी निर्णय गर्न थालेको र आफूले पटक–पटक सचेत गराउदा पनि कुनै सुनवाई नभएपछि लिखित रुपमा १० वुँदे माग पत्र पेश गरेको बताए। नगर प्रमुखलाई नै लिखित माग पेश गरेपनि सुनवाई नभएपछि ताला लगाइदिएको उनको भनाई छ।

के छ माग पत्रमा 

सदस्यहरुले राखेको मागपत्रमा विगतमा सर्वदलीय सयन्त्रले बनाएको नगर गुरुयोजना कार्यान्वयन गर्न नगरपालिका उदासिन भएको, पटक–पटक ट्याम्पो तथा म्याजिकका लागि पार्किङ्ग गर्न स्थान तोकेपनि निर्णय कार्यान्वयन नगरेको, बिना कारण नगरपालिकाको बैठक पटक–पटक स्थगित गर्ने गरेको, माघ २० गते डाकिएकोे नगर सभा स्थगित गरिएको, जनताका समस्या समाधानतर्फ कुनै ध्यान नदिएको, नगरपालिका भित्रका क्याम्पस,विद्यालय तथा शैक्षिक संस्थहरुमा व्यापक अराजकता हुँदा पनि नगर शिक्षा समिति र कार्यपालिकाले कुनै पहल नगरेको उल्लेख छ।

यसैगरी, नगरभित्रका योजनाहरु गुणस्तरहीन हुँदापनि छानबीन र कारवाही नगर्ने गरेको, नगरक्षेत्र भित्र मनोमानी रुपमा मदिरा बिक्रीवितरणको ईजाजतपत्र वितरण गरिएको, नगरभित्र रहेका सार्वजनिक जमिन संरक्षण र सुरक्षा गर्न नगरपालिका उदासिन भएको, नगरपालिकामा गठन भएका विषयगत समितिले कुनै पनि काम नगरी निष्क्रिय अवस्थामा रहेका, नगरको एकमात्र सार्वजनिक खुला मञ्चको व्यवस्थापन गर्न आनाकानी गरेको र नगरभित्र सञ्चालन हुने योजना तथा प्रदेश र संघीय सरकारका योजनाहरु समयमा सञ्चालन गर्न पहल नगरेको मागपत्रमा उल्लेख छ। 

दुई घण्टामै ताला खुलाउने तीनबुँदे सहमतिमा के छ ?

नगर प्रमुख ऐरले तालाबन्दी खोल्नका लागि तीन बुँदे सहमति गरेका छन्‌। पेश गरिएको १० बुँदे मागपत्रमा उठाएका कुराहरुलाई समेटि कार्यपालिकाको बैठकमा सम्बोधन गर्ने, प्रस्ताव दर्ता गरी कार्यान्वयन गर्नेलगायत विषयमा लिखित प्रतिबद्दता गरेपछि तालाबन्दी खोलिएको हो।

के भन्छन नगर प्रमुख ऐर ?

लगातार तीन पटक बैठक स्थगित हुँदै आएपछि नगरका महत्वपूर्ण योजना सञ्चालनमा ढिलाई हुन थालेको छ। बैठक स्थगित हुन थालेपछि कार्यालयको कार्य सम्पादनमा समेत असर पर्न थालेको छ। नगरप्रमुख दिल बहादुर ऐर चाहिँ सदस्यको गणपुरक संख्या नपुग्दा कार्यपालिका बैठक स्थगित हुँदै आएको दावी गर्छन्‌।

कार्यपालिकाको बैठकमा कानुनसम्मत एजेण्डा मात्रै पेश हुने गरेको उनले दावी गरेका छन। 'छलफल गरेर नै बैठकमा एजेण्डा प्रस्तुत गरिन्छन्,' उनले भने, ‘एजेण्डा पास गर्ने नगर्ने अधिकार कार्यपालिकाका सदस्यलाई छ, उचित भए पास हुन्छ, अन्यथा पास हुँदैन।’ नगरपालिकाको आम्दानीले नथेग्‍ने गरी अनावश्यक कर्मचारी भर्ना गर्ने पक्षमा नभएको उनले बताए। कार्यपालिकाको बैठकमा कर्मचfरी भर्नाको एजेण्डा नै नलगिएको उनको भनाई छ।

वडा सदस्यका मागहरुलाई एजेण्डाकै रुपमानै बैठकमा पेश गरिने उनले बताए। 'योजना कार्यान्वयन गरेर मात्रै बैठकमा खर्च अनुमोदनका लागि लगिने भनिएका कुराप्रति सहमत छैन,' उनले भने, ‘तय भएका एजेण्डा अनुमोदनपछि मात्रै कार्यान्वयनमा ल्याउने गरेका छौं।’ 

कार्यपालिकाको बैठक बस्न नसकेपछि नगर सभाका लागि एजेण्डा नै तय गर्न सकिएको छैन। सभामा कुन एजेण्डा लैजाने भन्ने अन्यौलता समेत कायमै छ। 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रण बहादुर महरा जनप्रतिनिधीहरुको विकास निमार्ण भन्दा पनि कर्मचारी राख्नमा व्यस्त भएको र लामो समयसम्म नगरपालिकालाई बन्धक बनाउनु राम्रो नहुने बताउँछन्‌। राजनीतिक दलहरुसँग सल्लाह गरी समस्या समाधान गर्नुपर्ने उनको भनाई छ।

अहिलेको समस्या नगर प्रमुख र जनप्रतिनिधीको कार्यशैलीका कारण नगरमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले भने ‘नगर प्रमुख, जनप्रतिनिधी र कर्मचारीहरुले कानुनको खिल्ली उडाएका छन्‌।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.