कांग्रेसको गुटअनुसार उम्मेदवार खोजिँदै

|

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) यतिबेला आन्तरिक विवादमा रुमल्लिएको छ। त्यसो त माउ पार्टी नै गुट-उपगुटको दलदलमा फसेको पार्टीको भ्रातृसंस्था झन् भद्रगोलमा फस्‍ने नै भइहाल्यो। 

नेविसंघको नेतृत्व अहिले करिब ५० वर्षका राजीव ढुंगानाको काँधमा पार्टी सभापति शेरबहादुर देउवाले थोपारिदिएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको २०७५ फागुन १ गतेको बैठकको निर्णयअनुसार कांग्रेसको संशोधनसहितको विधान २०७१ को धारा ४२ (१) को (च) बमोजिम रिक्त भएको नेविसंघको केन्द्रीय तदर्थ कार्यसमिति यही माघ १६ गते सभापति देउवाले पेलेरै गठन गरे।

तदर्थ समितिमा अध्यक्षमा ढुंगाना, महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई चयन गरियो। नेविसंघको महाधिवेशन २०७७ साउनभित्र भइसक्नुपर्ने प्रावधान छ। 

लागू होला त ३२ वर्षे उमेर हद

नेपाली कांग्रेसले माघ १६ गते गरेको निर्णयअनुसार अहिले विधान मिचेर सभापति देउवाले जिम्मेवारी दिएका तदर्थ समितिका पदाधिकारीहरूले महाधिवेशनमा चुनाव लड्न पाउने छैनन्। नेविसंघको विधानअनुसार ढुंगानालाई नेविसंघको नेतृत्व दिन मिल्दैन। नेविसंघमा ३२ वर्ष उमेर ननाघेको व्यक्ति मात्रै साधारण सदस्य हुन पाइने प्रावधान छ। 

नेविसंघको विधान २०२७ को सातौँ संशोधन कार्यान्वयन भई ३२ वर्ष उमेर हदअनुसार नै २०  जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। ४० जिल्लामा तल्लो तहको अधिवेशन भएको र १६ जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भइसकेको अवस्था छ।

केन्द्रीय समिति पनि ३२ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई राखेर बनाउनुपर्ने एकथरीको माग छ। ३२ वर्षे उमेर हद आगामी ६ महिनाभित्र हुने महाधिवेशनमा लागू हुने कांग्रेसको भनाइ छ।

‘यसअघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति विघटन भएको मिति २०७५ माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरूले नेविसंघको आगामी १२ औँ अधिवेशनमा भाग लिन पाउनेछन्,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

को होला त अध्यक्ष

नेविसंघमा ३२ वर्षे उमेर हद लागू हुनुपर्छ भन्दै पूर्व-महामन्त्री कुन्दनराज काफ्ले पक्षले आन्दोलन पनि गर्‍यो। ४० दिन रिले अनशनसमेत गरेको कुन्दन पक्षबाटै पूर्व-केन्द्रीय सदस्य नवराज त्रिपाठी झण्डै एक हप्ता आमरण अनशनसमेत बसे।

अन्ततः स्ववियुको चुनाव मुखैमा आएको र त्यसका लागि नेविसंघले आन्तरिक तयारी गर्नुपर्ने कारण देखाएर उनले अनशन तोडे। अनशन बसेका विद्यार्थीको माग सुनुवाइ नगरेको आरोप कांग्रेस नेतृत्वलाई लागेको छ। विद्यार्थीको माग सुनुवाइ नगरेका देउवाले भागबण्डाकै आधारमा तदर्थ समिति गठन गरेका हुन्। 

पार्टीले नै निर्णय गरेर जारी गरेको विज्ञप्तिमा भनिएअनुसार सभापति देउवाले आगामी अधिवेशनमा नेविसंघमा विधान मिच्ने छैनन्। त्यसैले सभापति देउवा नेविसंघको नेतृत्व आफ्नो पक्षमा ल्याउन नेताहरूसँग छलफलमा जुटेका छन्। 

देउवानिकट कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘३२ वर्षे उमेर हद जुनकुनै हालतमा पनि लागू हुने देखिन्छ। सभापतिज्यू कहाँ अहिले विद्यार्थीका नेताहरूको आउजाउ पनि बाक्लिएको छ।’ उनका अनुसार नेविसंघका पूर्व-सहमहामन्त्री प्रेम जोशीलाई सभापति देउवाले नेविसंघको अध्यक्षको रूपमा उम्मेदवार बनाउने तयारी गरेका छन्। 

यता, विधान कार्यान्वयनको माग गर्दै आइरहेको पूर्व- महामन्त्री कुन्दनराज काफ्ले पक्ष पनि सभापति आफ्नो पक्षले पाउनुपर्ने दाबी गर्दै आइरहेको छ। स्रोतका अनुसार हालै आमरण अनशन तोडेका नवराज त्रिपाठीलाई कुन्दनराज काफ्ले पक्षले नेविसंघको अध्यक्ष पदमा चुनाव लडाउने तयारी गरेको छ।

नेविसंघको तदर्थ समितिका बाँकी पदाधिकारी र सदस्यहरूको मनोनयन नहुँदासम्म नेविसंघको नेतृत्वमा को आउला यसै भन्न नसकिने विद्यार्थी नेताहरू बताउँछन्।

‘पहिले तदर्थ समितिमै भए पनि आउने इच्छा देखाएकाहरू अहिले पछि हटेका छन्,’ नेविसंघका एक नेताले भने, ‘उमेर हद कार्यान्वयन गर्ने पार्टीको निर्णयपछि उनीहरू तदर्थमा नरहने बरु महाधिवेशनमा चुनाव लड्ने मनस्थितिमा पुगेका छन्। अरू पदाधिकारी र सदस्यमा भने अध्यक्ष जस्तै उमेर हद नाघेका आउने देखिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.