होटलबाट महिनामै एक लाख कमाइ

|

काठमाडौं : सिन्धुली जिल्लाको दुर्गम ठाउँमध्ये एक पर्छ मुल्कोट। अहिले यो सुनकोशी गाउँपालिका-५ मा पर्छ। मुल्कोटमा सुनकोसी बगर थियो। त्यही बगरमा पहिले खेतीपाती गरेर स्थानीयले गुजारा चलाउने गर्थे।

मुल्कोटका ६१ वर्षीय स्थानीय पहेली श्रेष्ठ अहिले सम्झिन्छिन्, ‘२०४५ सालमा गोरेटो बाटोमा हिँड्नेहरूलाई खाना खुवाउने गर्थें। झाडीले गोरेटो बाटो ढाक्ने गरेकाले पन्छाउँदै हिँड्नुपर्ने थियो। २०६० सालमा बाटो बनेपछि एक शहर नै स्थापित भयो। अहिले त पर्यटक र यात्रुलाई नयाँ होटलमा  खाना खुवाउन पाएकी छु।’ 

कसैले पनि सोच्न सकेका थिएनन् कि दुर्गम ठाउँ शहर बन्छ भनेर। तर, बिपी राजमार्ग बनेपछि दुर्गम मुल्कोट ठाउँ अहिले शहर बनेको छ। स्वच्छ हावा, हरियाली वातावरण र सुनकोशीको कलकल आवाजले अहिले जो पनि त्यहाँ पुग्दा मग्‍नमुग्ध बन्छ नै।

त्यसो त काठमाडौंबाट ओखलढुंगा,सोलुखुम्बु,सिन्धुली,महोत्तरीलगायत जिल्ला जाने यात्राको केन्द्रविन्दु  बनेकाले यात्रुहरूले खाना खाने ठाउँ पनि यहीँ हो। काठमाडौंबाट ८५ किलोमिटरको दूरीमा पर्छ मुल्कोट। यहाँबाट १७ किलोमिटरमा खुर्कोट पुगिन्छ।

बगरबाट बन्‍यो शहर 

'आमा' होटलका सञ्चालिका समेत रहेका श्रेष्ठका अनुसार मुल्कोट शहर बनेको दुई वर्ष मात्रै भएको छ। पहिला भीरको गोरेटो बाटो थियो। राजमार्ग खोल्दै गर्दा साना होटलहरू थिए। दुई घर र दुईवटा गोठ मात्रै थिए। बाँकी सबै बगर।

‘पहिला सडक सर्भे गर्दा माथिबाटै  जानेगरी सडक बनाउने कुरा भएको थियो,’उनले भनिन्,‘हामीले बजार चाहिन्छ भनेर माथिबाट लान दिएनौँ। हाम्रो मागबमोजिम सडक बन्यो।’

 

दुर्गम ठाउँमा दैनिकी बिताएको  कथा सुनाउँदै उनले शहर बजारमा अहिले बस्न पाउँदा खुसीले गदगद भएको सुनाइन्। उनले भनिन्,‘पहिला अन्धकारमा जीवन बिताउनुपर्थ्यो। खानेपानीको अभाव हुन्थ्यो। अहिले त बत्ती बलेको पाँच वर्ष भइसक्यो। पर्यटकलाई आकर्षण गराउन सांस्कृतिक महोत्सव हुन्छ।’ उनले बजार व्यवस्थान बढ्दै गएको बताइन्।  

उनका अनुसार मुल्कोटमा बस्ने जो कोही आन्तरिक तथा बाह्‍य पर्यटकले आनन्ददायी पाएको महसुस गर्नेछन्। पर्यटकले ताज रिसोर्टमा घुम्न  पाउँछन्। मुल्कोटनजिकै खाल्टे छ। मुल्कोटमा बस्‍नेले सुनकोशीको फ्रेस माछा र खाना सस्‍तैमा पाउँछ।

अहिले सुविधाका लागि लोकल गाडीसमेत उपलब्ध छन्। ‘धार्मिक रूपमा पनि यो ठाउँ राम्रो छ,’ श्रेष्ठले भनिन्,‘२०६० सालमा निर्मित पशुपतिको शिव मन्दिर पनि यहीँ छ। खनियाँखर्क घुम्‍नका लागि राम्रो ठाउँ छ।’ अहिले बस्ती संख्या बढ्दै गएको उनको भनाइ छ।

बासका लागि सफा र सुन्दर मुल्कोट

यात्रुले समेत मुल्कोटलाई पर्यटकीय गन्तव्यको रूपमा समेत हेर्ने गरेका छन्। मुल्कोटमा भेटिएका सोलुखुम्बुका निर्मल श्रेष्ठले मुल्कोट सफा र सुन्दर ठाउँ रहेकाले बस्‍न आनन्दायी हुने गरेको बताए। ‘मुल्कोट हरियाली र धेरै सफा ठाउँ छ,’उनले भने,‘काठमाडौंबाट सोलु जाँदै थिए। राम्रो ठाउँ देखेकाले यहीँ मैले पनि खाना खाएँ। काठमाडौंको धुवाँधुलो भएको शहरभन्दा दुई गुणा यो ठाउँ सुन्दर र सफा शहर देख्छु। खाना पनि मीठो खान पाइन्छ।’

विदेशी पर्यटक होस् या आन्तरिक यस्तो ठाउँमा जो कोही रुचाउने गरेको उनले बताए। हरियाली वातावरणले पनि मग्‍नमुग्ध बनाएको सुनाउँदै उनले यो ठाउँलाई पर्यटकीय गन्तव्यकै रूपमा हेर्न सकिने बताए।  पर्यटकलाई आकर्षण गर्न र  स्थानीयको सेवासुविधाका लागि बनाइएको झोलुंगे पुल। त्यही पुलमा धेरै फोटो खिच्न मन पराउँछन। पानीको समेत धेरै राम्रो सुविधा रहेको छ।

 होटलबाट मासिक एक लाख आम्दानी

पहिला दुर्गम ठाउँले चिनिने त्यस ठाउँमा सडक पुगेपछि स्थानीयले होटलबाट राम्रो आम्दानी गर्ने गरेका छन्। स्थानीय पहेली श्रेष्ठले होटलबाट मासिक एक लाख आम्दानी हुने गरेको सुनाइन्। ‘हामीले होटलबाट महिनामै एक लाखसम्म आम्दानी गर्ने गरेका छौँ,’उनले भनिन्,‘कहिले बढी पनि फाइदा हुन्छ। सुनकोशीको फ्रेस माछा पाइने भएकाले होला धेरैले यही ठाउँमा खाना खाने गर्छन्। आफ्नै ठाउँमा यति कमाउनु भनेको ठूलो कुरा हो।’

उनले आफैँले उब्जनी गरेका परिकारहरू यात्रुलाई खुवाउने गरेको पनि सुनाइन्। आफ्नो उत्पादनले नपुगे मात्र खाद्यान्न बनेपाबाट मगाउने गर्छन्। उनले अहिले करिब ३० वटा नयाँ होटल रहेको जानकारी दिइन्। ‘पहिला केही सुविधा नभएकाले कोही पनि घर बनाएर बस्न मान्दैनथे। अहिले मुल्कोट शहर,बजार बनेकाले होला होटल बनाउने,घर बनाउनेको कमी छैन’ उनले थपिन्।

इतिहाससँग जोडिएको नाम मुल्कोट 

श्रेष्ठका अनुसार मुल्कोट नाम अहिले राखेको नयाँ नाम नभई केही इतिहाससँग जोडिएको प्राचीन नाम हो। ‘मैले सुनेको अनुसार यहाँ पहिला कोट बस्ने डाँडा थियो रे,’उनले भनिन्,‘त्यही ठाउँमा कोट बसेकाले मुल्कोट र खुर्कोट नामले चिनिएको भनाइ छ। अहिले पनि ती डाँडा छन्। धेरैले ती डाँडाको अवलोकन गर्न रुचाउँछन्।’ 

सिन्धुलीबाट फर्केपछि

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.