कृषि सचिवको राजीनामा प्रधानमन्त्री कार्यालयमा

|

काठमाडौं : कार्यविधि सकिन बाँकी हुँदै नेपाल सरकारका सचिवहरूले राजीनामा बुझाउन थालेका छन्। राजीनामा दिएर पनि लामो समय स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको राजीनामा तीन महिना रोकेर पुस अन्तिम साता सरकारले स्वीकृत गरेको थियो।

सोमबार मात्रै कृषि सचिव डा. युवकध्वज जिसीले पनि राजीनामा बुझाएका छन्। उनले करिब दुई वर्ष कार्यविधि रहँदै राजीनामा बुझाएका हुन्। 

खुला प्रतिस्पर्धाबाट सहसचिव बनेर २०७३ माघ ६ गतेको मन्त्रिपरिषद् निर्णयबाट सचिवमा बढुवा भएको जिसीले राजीनामा बुझाइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्राविधिक क्षेत्रबाट सचिव बनेका उनी कृषि विभाग, वातावरण विभाग हुँदै कृषि मन्त्रालयमा पुगेका थिए। 

आकर्षक जागिर पाएपछि...

नेपाल सरकारका उपसचिव, सह-सचिव, सचिव मात्रै हैन मुख्य सचिव समेतले विदेशी संस्थामा आकर्षक सेवा सुविधाको तलब पाएपछि जागिर छोड्ने गरेका छन्। यसअघि तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदीले एसियाली विकास बैंकमा जागिर पाएपछि मुख्यसचिव जस्तो पदबाट पनि राजीनामा दिएका थिए। 

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) को कन्ट्री अफिस भारतका लागि पी ५ लेभलमा जागिर सुनिश्चित भएपछि स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले राजीनामा दिएकी थिइन्। तर, उनको राजीनामा १७ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले अस्वीकृत गर्ने निर्णय गरे पनि उनले सोही दिनबाट डव्लुएचओमा जागिर सुरु गरेकी थिइन्। पुस अन्तिसाता बसेको मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको थियो। 

संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन (एफएओ) को जागिर सुनिश्‍चित भएपछि कृषि सचिवले राजीनामा दिएको कृषि मन्त्रालयका अधिकारीहरूले बताएका छन्। जिसीले भने यस विषयमा प्रतिक्रिया दिएका छैनन्। एफएओको क्षेत्रीय प्रमुखको रूपमा केही समयअघि जिसीले नाम निकालेका बताइएको छ। फागुन पहिलो सातादेखि एफएओको जिम्मेवारी सम्हाल्ने तयारीमा जिसी रहेको मन्त्रालयका अधिकारीले नै बताउने गरेका छन्। 

अवकाश पाउने दिन दुई दिन मात्रै बाँकी रहँदा गृहसचिव प्रेम राईले पनि राजीनामा बुझाएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको छ। त्यस्तै, अर्थसचिव डा. राजन खनाल, नेपाल ट्रष्टको कार्यालयका सचिव गजेन्द्र ठाकुर, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यले पनि  अवकाशमा गएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.