साना-ठूला कुनै माछालाई सरकारले छाड्दैन

|

गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रहितलाई केन्द्रमा राखेर अमेरीकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) टुङ्गो लगाउने बताएका छन्। 

पे्रस संगठन नेपाल गुल्मीले मंगलबार गुल्मीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले राष्ट्रहितलाई केन्द्रमा राखेर एमसिसी विवाद समाधान गर्ने बताएका हुन्। 

एमसिसीको बारेमा स्पस्ट नभएका र अध्यननै नगरी बाहिर धेरै हल्ला भएको भन्दै मन्त्री  ज्ञवालीले पहिले अध्ययन गर्न र बोल्नका लागि आग्रह गरे। अहिले इन्डो प्यासिफिक सैन्य रणनीतिलाई जोडेर हल्ला फैलाएको भन्दै हल्लाका पछि नलाग्न र सत्य तथ्यका  आधारमा रहेर बोल्नसमेत मन्त्री ज्ञवालीले आग्रह गरे। 

आफू एमसिसीको बिषयमा छलफल गर्न बनाएको कार्यदलको सदस्यसमेत रहेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले राष्ट्रहित विपरीत कुनै सम्झौता नगर्ने बताए। उनले विस्तृत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन  बुझाउने पनि बताए । मन्त्री ज्ञवालीले बाहिर हल्ला गर्नुभन्दा अध्ययन गरेर बोल्न आग्रहसमेत गरे। 

अर्को एक फरक प्रसंगमा मन्त्री ज्ञवालीले दुई ठूला पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्र एक भएपछि बाहिर आएका धेरै अनुमानका खेती समाप्त भएकोसमेत दाबी गरेका छन्। 

‘पहिले बाहिर यी दुई पाटी एक हुन सक्दैनन्, भइहाले पनि केही समयसम्मका लागि मात्रै भन्दै हल्ला फिजाएँ’, उनले भने, ‘अनुमानका भरमा बाहिर हल्ला फिजाउनेको पनि अहिले मुख बन्द भएको छ।’

मन्त्री ज्ञवालीले अब पार्टीमा पूर्व एमाले र माओवादी केन्द्र भन्‍ने नरहेको भन्दै सबै नेकपा हौ भन्ने रहेको बताए। पहिले जुनसुकै पृष्ठभूमिबाट आएको भए पनि अब पार्टी एकीकरण भएसँगै नेकपा हौँ भन्ने गरी काम गरिरहेकाले नेकपाले गर्ने कामहरुमा कुनै असर नपर्ने बताए । 

पछिल्लो समयमा देशमा बिकासले गति लिएको भन्दै  लामो समयदेखि अलपत्र रहेका योजनाहरुले पनि गति लिन थालेको बताए । निर्माण ब्यवसायीहरुले धेरै काम ओगटने तर  बिभिन्‍न बाहना बनाएर  समयमा  काम सम्पन्‍न नगर्ने  निर्माण व्यवसायीहरुलाई पनि कारबाहीको दायमा ल्याउन लागेपछि कामले तीव्रता पाएको मन्त्री ज्ञवालीको दाबी छ । 

देशमा अब विधि र कानुनको शासन लागु भएकाले कानुनको नजरमा पहुँचवाला र सर्बसाधरण बराबर भएको भन्दै गल्ती गर्ने कसैलाई पनि कानुनको दायरामा ल्याएरै छाड्ने मन्त्री ज्ञवालीले दाबी गरे । 

मन्त्री, कर्मचारी र अख्तियारकै प्रमुखहरु पनि भष्ट्रचार काण्डमा फसेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले साना माछाहरु मात्र समातिने र ठूला माछाहरुलाई नसमात्ने भन्‍ने हल्लाको पनि खण्डन गर्दै  भ्याट छलीमा संलग्‍नलाई पनि कानुनको दायरमा ल्याएको दाबी गर्दै उक्त उदाहरण पेश गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.