|

संखुवासभा : संखुवासभाको उत्तरी क्षेत्रको किमाथांका नाका १७ दिनदेखि बन्द भएको छ। कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गरेको छ।

चीनले किमाथांका नाका बन्द गरेपछि रोजगारीका लागि चाँगा पुगेका १४ मजदुर उतै रोकिएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताएका छन्‌। चीनियाँ भूमीमै रोकिएकामध्ये १२ जना संखुवासभा र २ जना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका रहेको उनले जानकारी दिए। 

सदरमुकामबाट ५ दिनको पैदलमा रहेको भोटखालाका नागरिक दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन्। किमाथांका गाउँ र चीनको चाँगा बजार बिचमा रहेको कामु खोला पुलमा रहेको गेटमा चीनियाँ सुरक्षाकर्मी ताला लगाएर बसेका छन्।

नाका बन्द हुँदा सीमापारी नै थुनिएका १४ जनालाई नेपाल फर्काउन पहल भइरहेको र यसका लागि आवश्यक प्रबन्ध मिलाउन आज जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको अध्यक्ष भोटेले बताए। उनले भने,'हामीले माथिल्लो निकायलाई समेत जानकारी गराएको छौं, चाँडै नै उनीहरुलाई नेपालतर्फ फर्काइनेछ।' 

भोटखोला गाउँपालिकाको सीमा चीनसँग जोडिएका कारण कोरोना भाइरस नेपाल भित्रन सक्ने स्थानीयबासीको चिन्ता छ। चीनमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि भोटखोला गाउँपालिकाले स्थानीय नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

कोरोना भाइरसले नाका बन्द सीमावर्ती गाउँमा खाद्यान्न संकट हुने अवस्था 

संखुवासभाको उत्तरी क्षेत्र भोटखोलाका नागरिक चीनको तिब्बतस्थित चाँगा र देन्दाङ बजारमा आश्रित छन्। कोरोना भाइरसका कारण चीनले गत माघ ५ गतेदेखि किमाथांका नाका बन्द गरिदिएको छ। 

चीनसँगको नाका बन्द भएपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट हुने अवस्था रहेको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताए। अध्यक्ष भोटेले भने, 'हामी थुनिएका १४ जना र दैनिक उपभोग्य सामग्रीको अभावको बारेमा सरोकारवाला निकायसँग जिल्ला प्रशासन कार्यालय छलफल गरिरहेका छौं।'

सोमबारको गाउँकार्यपालिकाको बैठकले किमाथांकाका नागरिकलाई खाद्यन्न उपलब्ध गराउने विययमा निर्णय गरेको गाउँपालिका अध्यक्ष भोटेले जानकारी दिए।प्रत्येक घरलाई एक महिनासम्म पुग्ने खाद्यान्न ढुवानीमा पहल गर्ने हेलिकप्टरको प्रबन्ध मिलाईदिन प्रशासनमा अनुरोध गर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.