|

काठमाडौं : महोत्तरी जिल्लाको बर्दिबास बजार चोक धुलाम्मे बनेपछि दिउँसै अन्धकार देखिन थालेको छ। सडक कालोपत्रे उप्किँदै गएपछि मुख्य बजार मानिने ठाउँ नै धुलाम्मे बनेको हो।

बर्दिबास चोक वरिपरिको सडक चौडा भए पनि पिच नगरिएकाले धुलो उड्दा  दिउँसै अन्धकार देखिन्छ। कुनै निकायले सरसफाइसमेत गरेको पाइँदैन। पिच गरिएका कालोपत्रे पनि  उप्किँदै गएको छ। तर, मर्मतका लागि कुनै सरोकारवाला निकायले चासो देखाएका छैनन्। सम्बन्धित निकायले बेवास्ता गरेपछि अहिले स्थानीय मारमा परेका छन्। 

बर्दिबास चोकका स्थानीय एसपी भट्टराईले धुलोले घरबाहिर हिँड्नै नसकेकोे बताए। ‘सवारीसाधन चलेको बेला धुलोले बर्दिबास क्षेत्र नै कुहिरोले ढाकेझैँ हुन्छ,’उनले भने,‘धुलोले हाम्रो स्वस्थ्यमा गम्भीर असर गर्दै गएको छ। राति खाना खाँदासमेत धुलो खानुपर्ने बाध्यता छ।’

उनका अनुसार पानी पर्दा बर्दिबास चोक हिलाम्मे हुन्छ। त्यसबेला बालबालिका,वृद्धवृद्धा ओहोरदोहोर गर्न सक्दैनन्। घाम लाग्दा धुलाम्मे हुन्छ। बाहिर मास्क लगाएर हिँड्नुपर्ने अवस्था छ। यो समस्या अहिलेको मात्र नभई २०२८ सालदेखिकै रहेको पनि उनले बताए। 

नगरपालिकाले काम नगरेको आरोप

धुलोले सर्वसाधारण र स्थानीयलाई आक्रान्त बनाउँदै आए पनि बर्दिबास नगरपालिका भने मौन बसेको उनको आरोप छ। भट्टराईले भने,‘सडक मर्मतको लागि नगरपालिकाले केही पहल गरेको छैन। हामीले तिरेको करको सदुपयोग छैन। जनप्रतिनिधि भने ठूलठूला गफ गर्दै हिँड्छन्। जनताको समस्या समाधान गर्ने पक्षमा छैनन्।’

धुलाम्मे बजारमा घुम्‍न आउने आन्तरिक पर्यटक तथा बाह्‍य पर्यटक पनि मुख थुनेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ। अर्का स्थानीय सन्तोष यादवले बजार क्षेत्रमै यस्तो धुलाम्मे हुनु लज्जास्पद विषय रहेको बताए।

सलले मुख थुनेर हिँडिरहेकी एक महिलालाई देखाउँदै  उनले भने,‘यो ठाउँलाई बर्दिबासको मुख्य बजारको नामले चिन्छौँ। बजार क्षेत्रमै यस्तो कारुणिक समस्या छन्। भित्री ठाउँमा झनै हालत कस्तो होला?’ तत्काल सडक कालोपत्रे गरी बर्दिबास चोक क्षेत्रलाई धुलोमुक्त बनाउनुपर्ने स्थानीयको माग छ।

‘सडक पिचको प्रक्रियामा छौँ’

बर्दिबास नगरपालिकाका सूचना प्रविधि अधिकृत सोमकुमार फुँयालले सडक पिच गर्ने प्रक्रियामा रहेको बताए। उनले भने,‘बजेटले भ्याएसम्म नगरपालिकाले सडक पिच गर्ने हो। बाँकी प्रदेश सरकार र सडक विभागले बनाउनुपर्छ। विभागलाई जानकारी गराइसकेका छौँ। छिट्टै सडक पिच थाल्ने प्रक्रियामा विभाग रहेको छ। नगरपालिकाले सक्दो पहल गर्दै आएको छ।’ 

उनले मुख्य बजार क्षेत्रमा झाडुले सफा गर्दै आएको दाबी गरे। उनका अनुसार पहिला झनै बर्दिबास बजार फोहोरले अस्तव्यस्त देखिन्थ्यो। अहिले ठाउँठाउँमा फोहोर राख्न डष्टबिनहरू  राखिएका छन। सूचना पार्टीहरू राखिएका छन्। त्यसैले अहिले विस्तारै फोहोरमैला व्यवस्थित हुँदै गएको छ। 

‘वातावरण स्वाच्छ भए मानिस सजिलैसँग जिउन सक्छ,’उनले भने,‘यो बजार क्षेत्र हो। नगरपालिकाले बेलाबेला सफा गर्दै आएको छ। नगरपालिका क्षेत्रभित्रका ठाउँहरूमा स्वच्छ, हरियाली वातावरण बनाउनेमा हाम्रो कञ्‍जुस्याइँ छैन।’

महोत्तरीबाट फर्केपछि

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.