बारा : सरकारी कागजपत्रको दुरुपयोग गरी किर्ते हस्ताक्षरको माध्यमबाट सार्वजनिक सम्पति हडप्ने क्रियाकलाप बारा जिल्लामा बढ्दै गएको छ।
वीरगञ्ज-पथलैया व्यापारिक मार्गको करोडौं मूल्य पर्ने सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गर्न सर्वोच्च अदालतको ‘लेटर प्याड’ नै किर्ते भयो। यस्तै, जीतपुरसिमरा वडा नं १० का वडाध्यक्षको हस्ताक्षर र वडा कार्यालयको ‘लेटर व्याड’ नै किर्ते गरेर वडा नं २४ को जग्गा वडा नं १० बाट सिफारिस भयो।
केही महिनाअघि जीतपुरसिमराकै वडा नम्बर ९ को कार्यालयमै मध्यरातमा चोरी भयो। तर वडा कार्यालयमा चोरी गर्नेले नगद लगेनन्, वडा कार्यालय लेटर प्याड मात्रै हरायो। यो चोरीकाण्ड लगत्तै वडाध्यक्षको किर्ते हस्ताक्षर गरेर स्थानीय रामचन्द्र चौधरीले बाबुको सम्पति बेचबिखन गरेको थाहा लाग्यो।
बारा जिल्लामा किर्ते भएका यी त केही उदाहरण मात्रै हुन्। खोज्दै जाँदा जिल्लाका अधिकांश सावर्जनिक जग्गा, सरकारी कागजपत्र, छाप र कार्यालय प्रमुखको हस्ताक्षर नै किर्ते गरेर व्यक्तिको नाममा कायम भएका छन्।
जीतपुरसिमरा वडा नम्बर ९ का वडाध्यक्ष प्रभुनाथ चौधरीले वडा कार्यालयको ‘लेटर प्याड’मा आफ्नो हस्ताक्षर नै किर्ते भएको धेरै समय पछि मात्रै थाहा भएको बताए। ‘वडा कार्यालयमा दर्ता भएको मिति र दर्ता नम्बरसहित मालपोतमा जग्गा बेचेको कागजपत्र भिडाएपछि मात्रै थाहा,' चौधरीले भने, 'मेरो हस्ताक्षर किर्ते भएको रहेछ,’ वडाध्यक्ष चौधरीले भने।
त्यस्तै, वडा नं १० का वडाध्यक्ष सरोज पटेलले वडा नं २४ को जग्गा क्षेत्राधिकार मिचेर सिफारिस गरेको सम्बन्धमा बारा प्रशासनमा उजुरी परेपछि मात्रै उनले आफ्नो हस्ताक्षर र कार्यालयको कागजपत्र किर्ते भएको जवाफ प्रमुख जिल्ला अधिकारीलाई दिएका थिए। तर वडा कार्यालयको कागजपत्र र आफ्नो हस्ताक्षर कसले किर्ते गर्यो भनी अहिलेसम्म उनीहरुले प्रहरीमा उजुरी दिएका छैनन्।
अधिकाशं किर्ते हस्ताक्षरमा दुवै पक्षको मिलेमतो हुने गरेको कारण पनि उजुरी कम आउने गरेको बताउँछन् बाराका प्रहरी नायव उपरीक्षक (डिएसपी) गौतम मिश्र।चालु आथिक वर्षको ६ महिनामा सरकारी कागजपत्र, स्ट्याम प्याड र छाप किर्ते भएको सम्बन्धमा हालसम्म ८ ओटा मात्रै उजुरी आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
‘सरकारी कागजपत्र,कार्यालय प्रमुखको हस्ताक्षर किर्ते भएको सम्बन्धमा उजुरी मात्रै आएमा पनि हामीले ‘सरकारी छाप किर्ते’ मुद्दामा अनुसन्धान गर्न सक्छौं, प्रमाणित भएमा जेल सजाय समेत हुन्छ,’ डिएसपी मिश्रले भने, ‘तर सम्बन्धित निकायबाट उजुरी नै आउँदैनन्।’ अधिकाशं घटनामा सरकारी कागजपत्र र हस्ताक्षर किर्ते भइसके पछि मात्रै पत्ता लाग्ने गरेको छ।
मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले किर्ते भए/नभएको विषय तत्काल पत्ता लाग्न नसक्ने गरेको बताए।‘ तत्कालै किर्ते हो भन्ने थाहा पाएमा हामी आफैंले त्यस्तो काम गर्नै दिँदैनौं,तर धेरै घटनामा तत्काल किर्ते हो/होईन भन्ने थाहै हुँदैन। यस्ता घटना भएको धेरै वर्षपछि मात्रै पत्ता लाग्ने आचार्यले बताए।
सर्वोच्च अदालतको ‘लेटर प्याड’ नै किर्ते गरेर अभिलेख शाखाबाट सार्वजनिक सम्पति व्यक्तिको नाममा कायम आएको पत्र सम्बन्धमा किर्ते गर्नेमाथि छिट्टै उजुरी दिने आचार्यले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।