|
गोरखाको लिगलिगकोट ।

गोरखा : सरकारले आर्थिक वर्ष २०७५/०७६ कोे नीति तथा कार्यक्रममा सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी लक्ष्य राख्दै ‘नेपाल भ्रमण बर्ष २०२०’ घोषणा गर्याे। जनवरी १ अर्थात् पुस १६ गते तीनवटै स्थानीय सरकारका जनप्रतिनिधिहरु मिलेर देशैभरि भ्रमण वर्ष २०२० को शुभारम्भ भएको भन्दै तामझामका साथ विभिन्न होटल र पार्टी प्यालेसमा रौनकका कार्यक्रम गरे।

कार्यक्रममा सहभागी भएका जनप्रतिनिधिहरुले भ्रमण बर्ष सफल पार्न आफुहरु दत्तचित्त भएर लाग्ने भन्दै चर्काे भाषण ठोक्दै आम नागरिकहरुलाई विभिन्‍न आश्वासनसहितका प्रतिबद्धता दिए। तर, कार्यक्रमको रौनक सकिएलगत्तै अधिकांश जनप्रतिनिधिहरुले आफुले गरेका भाषण र प्रतिबद्धता मात्रै हैन, आफ्नो जिम्मेवारीसमेत बिर्सिन थालेका छन्।

मन्त्री र सांसदले समय नदिँदा पर्यटकीय स्थल छनोट हुन सकेन

भ्रमण बर्ष शुभारम्भको अवसरमा भएका कार्यक्रममा पुगेर प्रमुख अतिथि, बिशेष अतिथिको आसनग्रहण गर्न भ्याइनभ्याइ दौडधुप गर्ने गण्डकी प्रदेशका मन्त्री र सांसदहरुले समय नदिँदा गोरखाको चार पर्यटकीय स्थल छनोट हुन सकेको छैन।

गोरखाको विभिन्‍न चार पर्यटकीय स्थल छनोट गर्ने बैठकमा सहभागी हुन गण्डकी प्रदेशका मन्त्री तथा सांसदहरुलाई पटकपटक पत्राचार गर्दासमेत समय नदिएको जिल्ला समन्वय समितीका प्रमुख अशोक गुरुङले जानकारी दिए।

यि हुन् समय नदिने मन्त्री र सांसद

जिससका अनुसार जिल्ला छनोट समितिमा निर्वाचित जेष्ठ प्रदेश सांसद संयोजक रहने र अन्य सांसद सदस्य रहने व्यवस्ठा छ। सोही व्यवस्ठाअनुसार प्रदेश सभामा निर्वाचित जेष्ठ सदस्य गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत हुन्।

अन्य सदस्यहरुमा भूमि व्यवस्ठा कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगर, सांसद प्रकाचन्द्र दवाडी, हरिशरण आचार्य, धनमाया पोखरेल र मनकुमारी गुरुङ रहेका छन्। 

जिल्ला आउँछन्, तर पर्यटकीय स्थल छनोट गर्न समय दिँदैनन्

मन्त्री र सांसदहरुलाई पहिलो पटक गत पुस २३ गते र दोस्रो पटक माघ ५ गते बैठकका लागि पत्राचार गर्दा पनि जिल्ला समन्वय समितीलाई समय नदिएका हुन्‌।

जिससले दुई पटकसम्म पत्राचार गरेपनि बैठकमा नआउने मन्त्री तथा सांसदहरु सबैजसो विभिन्‍न कार्यक्रमका लागि भने गोरखा धाइरहन्छन्‌। तर, पर्यटकीय स्थल छनोटका लागि जिससले पटकपटक पत्राचार गर्दापनि बेवास्ता गरिरहेका छन्‌।

म्याद सकियो, कहिले दिन्छन् समय ? 

जिससलाई गत पुस १८ गते पत्राचार गर्दै प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले गोरखा जिल्लाका १० वटा पर्यटकीय गन्तब्य छनोट गरी तीमध्ये चारवटा सिफारिस गरी पुस मसान्तभित्र पठाउन निर्देशन दिएको थियो। तर, हालसम्म मन्त्री र सांसदले समय नदिएकाले पर्यटकीय स्थल छनोट हुन सकेको छैन। 

पत्रचार गरेपनि बैठकमा नआउने मन्त्री र सांसदहरुलाई टेलिफोनबाट पर्यटकीय स्थलको छनोट गर्ने विषयमा बारम्बार जानकारी गराएको जिल्ला समन्वय समितिका खरिदार दिपक गुरुङले बताए।

मन्त्री तथा सांसदहरुले आफु अनुकुलका पर्यटकीय स्थलको नाम प्रस्ताव गरेको र चारवटामा सहमति नजुट्दा बैठक बस्न नसकेको हुनसक्ने जिल्लाका पर्यटन व्यवसायीहरुले अनुमान गरेका छन्‌।

समयमै पर्यटकीय स्थल छनोट नभए बजेट गुम्ने खतरा

पर्यटन मन्त्रालले गोरखाबाट छानिएका चार वटा गन्तब्यका लागि चालु वर्ष १०/१० लाख रुपैयाँ गरी गोरखामा ४० लाख रुपैयाँ विनियोजन गरेको छ। तर, हालसम्म पर्यटकीय स्थल छनोट हुन सकेको छैन। 

‘पर्यटकीय स्थल छनोट गर्न कोही माननीय आउनुभएको छैन’, जिसस प्रमुख गुरुङले भने, ‘प्रदेशको पर्यटन मन्त्रालयले पुस मसान्तभित्र चार प्रमुख पर्यटकीय गन्तब्य छनौट गरेर पठाउन निर्देशन गरेको थियो।

यसरी छानिएका गन्तब्यका लागि मन्त्रालयले चालु वर्ष १०/१० लाख गरी गोरखामा ४० लाख रुपैयाँ विनियोजन गरेको छ तर स्थल छनोट हुन नसक्दा पर्यटकीय गन्तब्यको प्रवर्द्धनमा खर्च गर्नुपर्ने बजेट खर्च हुन सकेको छैन।’ समयमै चारवटा नाम सिफारिस नभए ४० लाख रुपैयाँ गुम्ने खतरा रहेका उनले बताए।

यि हुन्, गोरखामा १० पर्यटकीय स्थल

जिल्लास्थित पर्यटन प्रवर्द्धन समितिले गोरखाका १० पर्यटकीय गन्तव्यको पहिचान गरी सूची तयार पारिसकेको छ। जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्ला स्तरीय पर्यटन प्रवर्द्धन समितिले स्थानीय तहको समन्वयमा पर्यटकीय गन्तव्यको सूची तयार पारेको हो । 

सूची अनुसार बारपाक सुलिकोट गाउँपालिकाको सीता गुफा, शहीद लखन गाउँपालिकास्थित लखन स्मृति पार्क, अजिरकोट गाउँपालिकाको अजिरकोट कालिका मन्दिर र पुरानो दरबार, धार्चे गाउँपालिकाको लाप्राकस्थित निर्माणाधीन एकीकृत नमुना बस्ती र तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यमा सूचीकृत गरिएको छ।

त्यसैगरी, गोरखा नगरपालिकाको भीमसेन पार्क, पालुङटार नगरपालिकाको लिगलिगकोट, गण्डकी गाउँपालिकाको महादेव भैरवस्थान, सिरानचोक गाउँपालिकाको सिरानचोक कोट र भिमसेनथापा गाउँपालिकाको बराम आदिवासीको बसोवास रहेको क्षेत्रलाई पर्यटकीय गन्तव्यमा सिफारिस गरिएको छ। 

चुमनुब्री र आरुघाट गाउँपालिकाले अन्तिम समयसम्म पनि पर्यटकीय स्थलको विवरण पठाउन नसकेकाले यी स्थानीय तहबाट कुनै पनि पर्यटकीय स्थल छनोट भएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.