निजगढमा १० लाख मानिस उतार्छौं

|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक एक करोड विदेशी पर्यटक ल्याउने गरी सरकारले पूर्वाधार निर्माणमा काम गरिरहेको बताएका छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार बबरमहलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले महत्वाकांक्षी योजनासहित पर्यटन पूर्वाधारमा काम गरिरहेको बताएका हुन्। 

'आउने पाँच वर्षमा नागरिक उड्यनमा ठूलो क्रान्ति गर्छौं। अहिले हामी चीनको उदाहरण दिन्छौँ, हामीले पनि १८ महिनामा गर्ने काम ५ महिनामा गरेका छौँ', उनले भने, 'वार्षिक १ करोड पर्यटक ल्याउने लक्षसहित काम गरिररहेका छौँ। अबको पाँच वर्षमा अन्तराष्ट्रिय विमानस्थलतर्फ ठूलो लगानी गर्दैछौँ।

मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विकासका लागि जग्गाअधिग्रहणमा ५ अर्ब र पूर्वधार निर्माणमा २ खर्ब ५० अर्ब खर्च गर्ने योजना रहेको सुनाए । 

भट्टराईले आन्तरिक विमानस्थललाई मजबुत बनाउन पनि ठूलो लगानी गरिने जानकारी दिए। आन्तरिक विमानस्थल स्तरोन्‍नति र विस्तारका लागि ४६ अर्ब रुपैयाँ खर्च गर्ने योजना रहेको उनले सुनाए । यसका लागि जग्गा अधिग्रहणमा सरकारले ३४ अर्ब ६० करोड खर्च गर्ने तयारी गरेको छ।

मन्त्री भट्टराईले तराईका सबै विमानस्थलको धावनमार्गमा एटीआर ७२ विमान अवतरण गराउने गरी पूर्वाधार विस्तार गरिने जानकारी दिए। 'तराईका विमानस्थल विस्तार गर्दैछौँ। दुर्गममा रन वे लाई नियमित मर्मत गर्छौँ। टर्मिनल बिल्डिङ अत्याधुनिक बनाउँदैछौँ', उनले भने, 'सरकारको ध्यान कनेक्टेभिटी बढाउनेतर्फ छ। 

पाँच वर्षमा निजगढ

मन्त्री भट्टराईले अबको पाँच वर्षभित्र निजगढ विमानस्थल चलाइ सक्ने जानकारी दिए। 'निजगढ विमानस्थल अबको पाँच वर्षभित्र सञ्चालन गर्ने योजना छ। यो गेमचेन्जर आयोजना हो', उनले भने, 'निगगढमा हाम्रो अर्जुनदृष्टि छ। राजविराज विमानस्थललाई पनि रात्रीकालिन बनाउँदैछौं।'

मन्त्री भट्टराईले निजगढमा १० लाख जनता उतारेर काम थालिने दोहोर्‍याए। 'निजगढमा धेरैले मुआब्जाको पैसा लिनु भएको छ। दिन बाँकीलाई पनि पैसा सरकारसँग छ', उनले भने, 'टाँगिया बस्तीमा १४ सय घरपरिवारको प्रोफाइल आइसकेपछि अब खाली गर्छौँ।'

निजगढमा लगानीका लागि जुरिचलाई उपयुक्त ठानिएको उनले बताए। अबको १५ दिनभित्र जुरिचले प्रस्ताव पठाएपछि काम अघि बढ्ने उनले सुनाए। मन्त्री भट्टराईले निजगढको १९ सय हेक्टरभित्र पर्ने रुखहरुको कटान गर्न वन मन्त्रालयलाई भनिसकेको पनि जानकारी गराए। 


देशभर निरन्तर सञ्चालन भएका तथा अहिलेसम्म कम्तिमा एकपटक ल्याण्ड भएका ५४ विमानस्थल रहेको जानकारी दिँदै उनले पाँच वर्षमा नागरिक उड्यनमा ठूलो क्रान्ति गर्ने दोहोर्‍याए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.