शक्ति सञ्‍चय गर्न नेपालसँग नजिकिँदै ओली

|

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा ‘सारङ्गी साँझ’ को नाममा रात्रिभोज आयोजना गरे। प्रधानमन्त्रीले मुख्यत: सचिवालय सदस्यहरुलाई केन्द्रीत गरेर रात्रिभोजको आयोजना गरेका थिए।

भोजमा नेकपाका केही नेता र मन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुलाई समेत डाकिएको थियो। त्यहाँ कलाकर्मी, साहित्यकार र पत्रकारसमेत उपस्थिति भए।

प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको बैठक समापन भएको दिन पनि केन्द्रीय कमिटी सदस्यहरुलाई बालुवाटारमा रात्रिभोज दिएका थिए। माघ १९ गते राति सांसद र पार्टीका केन्द्रीय सदस्यहरुलाई रात्रिभोज दिएलगत्तै ओलीले बालुवाटारमा अर्को राजनीतिक जमघट गरेका हुन्। 

प्रधानमन्त्री ओलीको रात्रीभोजमा सचिवालय सदस्य, ओली मन्त्रिमण्डलका सदस्यहरु र नेकपाकै केही नेता तथा पूर्वप्रधानमन्त्रीहरु उपस्थित थिए।

रात्रिभोजमा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल लगायतका शीर्ष नेताहरु थिए।

तर, उक्त रात्रिभोजमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिएनन्। उनी त्यस दिन बिहान ओलीलाई भेटेर पोखरा उडेका थिए। प्रधानमन्त्रीले अध्यक्ष दाहाललाई पनि रात्रिभोजमा डाकेका थिए। तर दाहाल पोखरा पुगेर त्यहाँको कार्यक्रममा सहभागी भएपछि डाँडातिर टहलिन निस्किए।

मंगलबार पोखरा पुगेका अध्यक्ष दाहालले प्रधानमन्त्री निवासको कार्यक्रममा छुट्नु संयोगमात्रै भएको तर्क पोखरामा आयोजित सञ्चारकर्मीहरुसँग गरे। ‘हिजो बिहान म बालुवाटारमै गएको थिएँ', उनले भने,'त्यही क्रममा प्रधानमन्त्रीले मलाई रात्रिभोजबारे जानकारी गराउनु भएको थियो। तर, पोखरा जाने भइसकेकाले बस्‍न नसक्ने बताएको थिएँ।’

प्रचण्ड नआएको उक्त सारङ‍्‍गी साँझमा प्रधानमन्त्री ओलीले बाँसुरी बजाउँदा दायाँबायाँ झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी रेटेका थिए। उसो त रमाइलो मिजासका ओलीले सारङ्‍गी पनि रेट्न भ्याए।

भैँसेपाटीको गुटभेला तोड्ने रणनीति

प्रधानमन्त्री ओलीको रात्रिभोजको मुख्य रणनीति भैंसेपाटीमा भएको गुट भेलालाई तोड्ने रणनीति भएको स्रोत बताउँछ। पार्टीभित्र सभामुख चयन र एमसिसी लगायत विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच तिक्तता बढेको थियो। सभामुख आफूनिकटलाई दिने ओलीको रणनीतिमा दाहाल हाबी भएपछि अग्‍नि सापकोटाले अवसर पाए।

अर्कातिर एमसिसीमा पनि दुई नेताबीच अझै मतभेद् छ। ओली एमसिसी जस्ताको तस्तै पास गर्ने पक्षमा छन् भने दाहाल संशोधनपछि मात्रै पास गर्ने रणनीतिमा देखिएका छन्। 

पार्टीभित्र विवाद चलिरहेका बेला संगठन विभाग प्रमुख वामदेव गौतमको भैंसेपाटीस्थित घरमा दाहालको नेतृत्वमा एउटा गुट भेला भएको थियो।

दाहालको नेतृत्वमा झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल लगायतको नेताहरूले गोप्य वार्ता गरेका थिए।

भैँसेपाटी भेलाकै कारण ओली दाहालले चाहेको नेता (अग्नि सापकोटा) लाई सभामुख दिन बाध्य भएका थिए।दाहालप्रतिको ओलीको आक्रोश केन्द्रीय कमिटी बैठकमा पनि देखियो। जहाँ ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दाहालले पार्टी भन्दा धेरै गुटको नेतृत्व गरेको आरोपसहितको लिखित दस्तावेज नै पेश गरे। 

गौतम निवास भैंसेपाटी भेलाले अध्यक्ष दाहालको भूमिकालाई लिएर प्रधानमन्त्री ओली सशंकित भएका थिए। केन्द्रीय कमिटीको बैठकमा पनि शीर्ष नेताहरुबाै गुटबन्दी गरेको आरोप केन्द्रीय सदस्यहरुले लगाए।

तत्कालीन माओवादीबाटै कृष्णबहादुर महरा सभामुख निर्वाचित भएका थिए। तर महरा जेल गएसँगै खाली रहेको सभामुख पद ओलीले आफूनिकट सुवास नेम्वाङ या डा. शिवमाया तुम्बाहाङ्फेलाई दिने रणनीति बनाएका थिए।ओली अडानबाट टसमस नभएपछि दाहाल नेतृत्वको टोली गौतम निवासमा जुटेर दबाब बढाएका थिए।

अध्यक्ष दाहाल नेतृत्वको भेलाले प्रधानमन्त्री ओलीको पञ्‍जाबाट सभामुख पद उम्काएको थियो। पार्टी एकीकरण प्रक्रियाबाटै रुष्ट माधवकुमार नेपाल पनि शक्तिमा आउने बाटो खोजिरहेका थिए। फलतः प्रधानमन्त्री ओलीलाई माइनस गरेर शक्तिशाली बन्‍ने उनको रणनीतिमा भैंसेपाटी भेलाले केही बल दियो। 

भैंसेपाटी भेलापछि प्रधानमन्त्री ओली पार्टीको शक्ति सन्तुलनमा कमजोर देखिएका छन्। अध्यक्ष दाहालसँग नेता नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरु नजिकिएपछि ओली कमजोर देखिएका हुन्। तर उनले बुधबारमात्रै सम्पादकहरुको भेलामा पनि मिडियाले नेताहरुलाई यो वा त्यो गुटमा जोडेर हावादारी कुरा गरेको भन्दै असन्तुष्टि पोखेका थिए।

भैँसेपाटीको चर्चा धेरै : प्रधानमन्त्री

प्रधानमन्त्री ओली भैँसेपाटीमो भएको छलफलको बिषयमा धेरै चर्चा भएको बताएका छन्। रात्रिभोजअघि बुधबार अपरान्ह प्रधानमन्त्री ओलीले सम्पादकहरुसँग भने, ‘चार पाँचजना साथीहरु भैँसेपाटीमा एकफेर जम्मा हुनुभएछ, त्यसलाई अनावश्यक धेरै चर्चामा ल्याइयो।’

भैँसेपाटीमा भएको छलफलले बाहिर पार्टीबारे नराम्रो सन्देश गएको तर्क उनले गरेका छन्। ‘भैंसेपाटीमा केही नेताहरुले भेटघाट गर्नुभएको रहेछ। तर, नेपालको पोलिटिक्स नै त्यही जस्तो गरेर अब भैंसेपाटी बैठक, भैंसेपाटी बैठक भन्‍न थाल्ने? भैंसेपाटी बैठक हुन्छ, खुमलटार बैठक हुन्छ, कोटेश्वर बैठक हुन्छ, डल्लु बैठक हुन्छ, बालुवाटार बैठक हुन्छ, अन्त बैठक हुन्छ र सिंहदरबारमा पनि बैठक हुन्छ', उनले भने।

पार्टी एकताको बिषयलाई लिएर यस्ता बैठकको बिषयमा बाहिर नकारात्मक सन्देश प्रवाह हुँदा नराम्रो समस्या देखा पारेको उनले जिकिर गरे। 

ओली-नेपाल गोप्य वार्ता

प्रधानमन्त्रीको गतिविधिदेखि वरिष्ठ नेता नेपाल रुष्ट छन्। एकताका बेला पनि आफुलाई माइनस गरेको भन्दै उनले सार्वजनिक रुपमै आपत्ति जनाउँदै आएका थिए।

तर पछिल्लो समय प्रधानमन्त्री ओलीले रुष्ट नेता नेपाललाई फकाउने शूत्र प्रयोग गरिरहेका छन्। बालुवाटार स्रोतका अनुसार ओली-नेपालबीच ४ घण्टा भन्दा बढी गोप्य भेटघाट मंगलबार भएको छ। उनीहरुबीच करिब ४ घण्टा लामो छलफल चलेको थियो। 

प्रधानमन्त्रीसँग रुष्ट नेपाललाई आफू कमजोर भएपछि प्रधानमन्त्रीले फकाउन थालेका हुन्। भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपाललाई असतुष्ट हुनुको कारण सोधेका थिए। उक्त भेटघाटमा प्रधानमन्त्री ओलीले नेपालका सबै कुरा सुनेपछि  जवाफ दिएका थिए। 

ओलीले केन्द्रीय कमिटीको बैठकमा पनि सरकारबारे नेताहरुबाटै चर्को आलोचना भएपछि पार्टीमा शक्ति संचयको रणनीति बनाएका हुन्। उनले त्यही रणनीति अनुसार नेपाललाई फकाउने प्रयत्न गरेको प्रधानमन्त्रीनिकट एक नेता बताउँछन्।

प्रधानमन्त्री ओलीले भेटमा नेपालसँग अमेरिकी परियोजना एमसिसी, सीमा विवाददेखि अन्तराष्ट्रिय सम्बन्धलगायतको बिषयमा छलफल गरेका थिए। 

गुटबन्दी अन्त्य नभए पार्टी बन्दैन

पुसमा बसेको नेकपाको स्थायी कमिटी र माघ १५-१९ मा बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय ओली–दाहाल र महासचिव बिष्णु पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमै पार्टीमा गुटबन्दी मौलाएको भनिएको छ। 

केन्द्रीय कमिटीको बैठकमा शीर्ष नेताहरुले नै पार्टीभित्र गुटबन्दी चलाएको भन्दै चर्को आलोचना भयो। तर, दुई ठूला पार्टी एकता भएकाले मन माझिन केही समय लाग्‍ने केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा 'दीपशिखा' बताउँछन्। 

‘केही गुटका समस्या देखिएका छन्। त्यसलाई खारेज नगरेसम्म पार्टी एकताले अर्थ राख्दैन,’ उनले भने, ‘पार्टीको विकासका लागि भए पनि गुटगत राजनीतिको अन्त्य गर्नै पर्छ।'

शीर्ष नेताहरुबाटै गुटगत गतिविधि नरोकेसम्म पार्टीको लक्ष्य पूरा नहुने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्।

‘पार्टीमा गुटको राजनीति अन्त्य हुने विश्वास लिएका छौँ, केन्द्रीय कमिटीको बैठकमा पनि चर्को आलोचना भयो’, उनले भनिन्, ‘त्यसैले अब पार्टीको शीर्ष तह सुध्रिनुको विकल्प छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.