भन्छन् : खोई कसरी ममाथि यस्तो भयो?

|

काठमाडौं : काठमाडौंको नयाँबानेश्वर चोकदेखि बायाँतर्फ करिब ३ किलोमिटरभित्र मध्यबानेश्वरमा घर छाउने जस्तापाताको खिया लागेर रातो रङ पोतिएजस्तो देखिने घरको गेट। रङ खुइलिएको घर। घरमा पोतिएको रङको म्याद सकिएर आफैँ सिमेन्ट र बालुवासँगै फुत्तफुत्त भूइँमा झरिरहेको।

यो घरले रङ लाएर सजिन नपाएको वर्षाैँ भयो। कयौँ दशैं, कयौँ तिहार खुइलिएरै बिते। यो घर बाहिर देख्दा जस्तो छ, भित्र पनि उस्तै। घरभित्र र्‍याकमा किताब खचाखच। थोत्रो सोफा। पुराना सामानले सजिएको। यो घर २०३७ साल साउनमा नेपाली कम्युनिष्ट नेताहरूमध्ये सादगी नेताको परिचय बनाएका चन्द्रदेव जोशीले १४ हजार रुपैयाँमा किनेका हुन्।  

भिडियो

यही घरमा पुग्दा भेटिए दुई वृद्धवृद्धा। वृद्ध बाका टाउकोमा आधा कपाल, त्यसमाथि फुलेर सेतै, दाँत मक्किएर झर्न थालेका, गाला चाउरिएको। वृद्धा भने चिन्ताले ओठमुख सुकेको अवस्थामा तर, रातो पहिरनले केही खुलेकी। उनीहरू हुन्, चन्द्रदेव दम्पत्ति। पूर्वमन्त्रीसमेत रहेका जोशीलाई अहिले ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। 

२०१९ सालमा दार्चुलाबाट काठमाडौं आएका उनी त्यसबेला कांग्रेसमा थिए। २०१९ सालमा बझाङ कब्जा गर्ने आन्दोलन चल्यो त्यहाँ धेरै मारिए, घाइते भए। उनी पनि आन्दोलनमै होमिए। त्यहाँबाट बच्‍न काठमाडौं भागे।

नेपालमा सहजै बस्न नसक्ने भएपछि उनी रसिया गए। रसिया गएसँगै उनी कांग्रेसबाट कम्युनिष्ट भए। रसियाबाट २०२२ सालमा फर्केर आएपछि कम्यूनिष्ट पार्टीको वैचारिक विभागको प्रमुख, विद्यार्थीको प्रमुख भए।

कम्युनिष्ट भएकै कारण उनले सरकारी जागिर पाएनन्। जागिर नखोजेका पनि होइनन्। सरकारी जागिर खाने भूतले नछोडेपछि एक पटक लोकसेवा आयोगको जाँच पनि दिए। तर, नाम निस्केन। उनी त्यतिबेला मेकानिकल इन्जिनियर भइसकेका थिए।

‘कम्युनिष्ट पार्टीको सदस्य, राजदूतावास घेर्ने आन्दोलन गरियो,’ उनले भने, ‘त्यो बेलाको फोटो अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले छापेका थिए। त्यै भएर सरकारी जागिर पाइएन।’

उनले आफ्नै नजिकका एकजना साथीलाई भनेर नेशनल ट्रेडिङमा अस्थायी जागिर खाए। २०३६ सालमा विद्यार्थी आन्दोलन हुँदा उनी अग्रपंक्तिमै उभिएर नेतृत्व सम्हाल्न गए। आन्दोलनमा जाँदा यता बल्लतल्ल पाएको अस्थायी जागिर झण्डै फुत्कियो।

उनले जागिर बल्लतल्ल जोगाए। २०४२ मा सत्याग्रह हुँदा पहिलो चरणमै पक्राउ परे। लगत्तै जेल गए। त्यहाँबाट केही महिनापछि छुटे। छुटेको तेस्रो दिनमा काठमाडौंमा बमकाण्ड भयो। बमकाण्डमा सबैभन्दा पहिले यही (घरमा) आएर 'सर बमकाण्डको प्रमुखलाई पक्राउ गरियो' भनेर पुलिसले हेडक्‍वार्टरमा भनिरहेको थियो, उनी सुनिरहेका थिए।

उनले रुसमा सिकेर यहाँ बम बनाउँदै पड्काएको आरोप लाग्यो। ‘रुसमा बम बनाउन सिकेर आएको इन्जिनियर भनेर १२ महिनासम्म हतकडी लगाएरै पुलिसले खोरमा राख्यो’, उनले त्यो बेला सम्झिए। त्यो बेला बाहिर उनी मरेको भनेर हल्लासमेत फैलाइएको थियो। पुलिसले सार्वजनिक रूपमा जोशीलाई समातेकै छैन भन्दै आएको थियो। तर २०४३ मा छोड्यो। 

जेल परेपछि अस्थायी जागिर पनि गयो। त्यसपछि कहिले मार्बल पसलमा कहिले निजी कम्पनीमा काम गरे। २०४६ सालमा जनआन्दोलन हुने पक्का भएपछि पोखरामा जागिरे गरिरहेका उनी आन्दोलनको मोर्चा सम्हाल्न काठमाडौं हानिए। आन्दोलनमा मोर्चा सम्हालेकै कारण उनलाई सर्वसम्मत पार्टीको अध्यक्ष बनाइयो। उनी अहिले पनि नेकपा संयुक्तका अध्यक्ष हुन्। 

बालुवाटारस्थित ललिता निवासको जग्गा विक्री प्रकरणमा अख्तियारले ७ करोडको भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी अहिले तनावमा छन्। ‘यती ठूलो बिगो दिन सक्ने मसँग केही छैन। मैले तिर्न सक्दै सक्दिन, जे पर्छ त्यही भोग्‍ने हो,’ उनले भने, ‘न मैले अहिलेका महंगा वकिल राख्‍न सक्छु। न २५ हजार ३० हजार लिएर वकालत गर्ने व्यक्ति राख्‍न सक्ने मेरो क्षमता छ।’ 

उनलाई आफ्ना वकिल साथीहरूले माया गरेर बहस गरिदिन्छन् भन्‍ने ठूलो आशा छ। ‘होइन भने अदालतमा गएर श्रीमान्! मेरो भएको यति हो भनेर हात जोड्छु। पैसा तिरेर वकिल राख्न सक्ने मेरो क्षमता छैन।’

उनलाई आफूलाई लागेको मुद्दाबारे आफैंलाई विश्वास छैन। ‘खै कसरी ममाथि यस्तो भयो। अहिलेको मेरो मुद्दा यही कम्युनिष्ट पार्टीभित्र पनि सबैलाई थाहा छ,’ उनले भने, ‘कांग्रेस-कम्युनिष्ट उद्योगी-व्यापारी सबैले म्यासेज पठाएका छन्। सबैलाई थाहा छ। जे प्रक्रियामा गएको छ त्यही हुन्छ।’ बिगो रकम तिर्न नसके आफूसँग जेल बस्‍नेबाहेक अरू उपाय नरहेको प्रतिक्रिया जोशीले दिएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.