|

मुगु : गत साउन ७ गते मुगुस्थित रारा विमान स्थलबाट २ ग्राम २५ मिलीग्राम परिमाणको ब्राउन सुगरसहित प्रहरीले १ जना युवकलाई नियन्त्रणमा लियो। २२ दिन हिरासतमा बसेपछि मुगु जिल्ला अदालतको आदेश अनुसार सोही महिनाको २९ गते १ लाख २० हजार रुपैयाँ धरौटीमा उनी छुटे।

गत कार्तिक १८ गते रारा विमान स्थलबाटै अर्का २४ वर्षीय युवकलाई पनि नाइट्राभेट ३५ र ट्माडोल ४ टयाप्लेट लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लियो। युवक एक महिना हिरासतमा बसेर मंसिर १८ गते अदालतकै आदेश अनुसार १ लाख धरौटीमा रिहा भए।

यहि महिनाको २१ गते सदरमुकामको कृष्ण चोकनजिक रहेको चन्दननाथ होटलबाट ०.१० मिलीग्राम ब्राउन सुगरसहित एक जोडी युवा युवतीलाई प्रहरीले नियन्त्रणमा लियो। उनीहरुमाथि अहिले थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए।

लागुऔषधका ९ मुद्दा दर्ता 

गत साउनबाट यता नेपाल प्रहरीले लागुऔषध सम्वन्धमा ९ वटा मुद्दामा १२ जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा मुद्दा चलाइरहेको छ। यो अवधिमा प्रतिवादीहरुबाट प्रहरीले २ ग्राम ६३ मिलीग्राम ब्राउन सुगर,१७३० ग्राम ९५ मिलीग्राम चरेश र नाइट्राभेट ३५,ट्माडोल ४ टयाब्लेट बरामद गरेको छ।

जिल्लामा युवायुवतीहरु पछिल्लो समयमा चरेश,ब्राउन सुगर र ट्याब्लेट जस्ता लागुऔषध दुर्व्यसनीमा फस्दै गएपछि लागुऔषध सेवन र ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीहरु सक्रिय रुपमा खटिएका छन्‌।

उनीहरुलाई लागुऔषध नियन्त्रणमा शून्य-सहनशीलता अपनाउन निर्देशन दिईएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए। आफू आएपछि मात्र जिल्लामा ८ वडा लागुऔषध घटनामा ९ जना विरुद्ध मुदा्र चलेर धरौटीमा छुटेका र २ जनामाथि अनुसन्धान चलिरहेको प्रनाउ साहले बताए।

लागुऔषध सेवनकारी र कारोबारी बढदै गएपछि प्रहरी कठोर रुपमा प्रस्तुत भएको र दिनरात नभनि नाका-नाका र शंकास्पद स्थानमा चेकजाँच बढाएको पनि प्रहरीले दाबी गरेको छ।

विगत वर्षहरुमा भन्दा अहिले प्रहरीले सकारात्मक काम गर्दै गएको र युवाहरुलाई दुर्व्यसनीबाट बचाउन सक्रियता बढाएकोमा नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्लले प्रहरीको प्रसंशा गरे।

उनी भन्छन्‌ 'विगतमा मुगुमा लागुऔषधको कारोबार शून्य हुने गरेपनि गाडी र हवाईजहाजको सहजतासँगै लागुऔषधका नयाँ-नयाँ प्रकार भित्रिएकाले अझै सुरक्षा निकायले जिल्लामा भित्रने मालबाहक, यात्रुवाहक र हवाई जहाजमा जाँच बढाउनु पर्छ।'

प्रभावकारी बन्दै समुदाय-प्रहरी साझेदारी 

गत बर्ष लागुऔषध घटनामा १ जना प्रतिवादी रहेको र विभिन्न घटनाका विरुद्ध ४१ वटा उजुरी परे भने चालू वर्षको मध्यमै लागुऔषधमा ९ वटा गरी कुल ८२ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालयको रेकर्डमा देखिन्छ।

विगत वर्षहरुभन्दा यो वर्षमा किन घटनाका परिमाण धेरै भए त?  यो प्रश्नको जवाफमा प्रहरी नायव उपरीक्षक साह भन्छन्‌, 'प्रहरी र समुदायबीचको सम्वन्ध विगत वर्षहरु भन्दा प्रगाढ भएको र समुदायसँग मिलेर काम-कारबाहीहरु अघि बढाउँदा सकारात्मक परिणाम आएको छ।' 

गृह मन्त्रालयको कार्ययोजना अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम टोलदेखि जिल्लास्तरसम्म सञ्‍चालित छ। प्रत्येक समितीमा स्थानीयहरुको सहभागीता छ। 

समुदायको पनि साथ 

आपराधिक घटना र लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरुलाई नियन्त्रण लिन समुदायको पनि साथ रहेको प्रहरीले बताएको छ। 

समुदायऔप्रहरी साझेदारीले गाँउघरमा कतै झै-झगडा, अस्वभाविक क्रियाकलाप र लागुऔषधको कारोबार भएमा स्थानीय समितीका सदस्यहरुले सीधै नजिकको प्रहरीमा खबर गर्ने भएकाले संलग्न व्यक्तिहरुलाई नियन्त्रण लिन सहज भएको जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ। 

मुगु जिल्लामा २७० वटा टोल, वडा, विद्यालय, पालिका र जिल्लास्तरीय समिती गठन भएका छन्‌। प्रत्येक दिन ती समितीहरुसँग मिलेर नेपाल प्रहरीले सामुदायिक र जनचेतना मुलक कार्यक्रम गरिरहेको छ। 

गत साउन यता 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत जिल्लाभर विभिन्‍न सचेतना कार्यक्रमहरु सञ्‍चालन गरिएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.