|

भद्रपुर : महाभारतकालीन किंवदन्तीसँग जोडिएको किचकबध धार्मिक मेलामा यसवर्ष पनि श्रद्धालु तथा भक्तजनहरूको घुइँचो लागेको छ। झापाको भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलमा प्रत्येक वर्ष माघे शुल्क पूर्णिमा अर्थात् स्वस्थानी व्रतका दिन किचकबध धार्मिक मेला लाग्ने गरेको छ। 

किचकबध धार्मिक मेलाको आइतबार बिहान एक कार्यक्रमका बीच संघीय सांसद राजेन्द्र लिङदेन र प्रदेश सांसद वसन्त बानियाँले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। उनीहरूले परेवा तथा बेलुनमा किचकबध धार्मिकस्थल लेखिएको ब्यानर उडाएर उद्घाटन गरेका थिए। 

किचकबध धार्मिक मेला उप समितिका अध्यक्ष खड्ग लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रमाया श्रेष्ठ, किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबे लगायतको उपस्थिति रहेको थियो ।     

किचकबधमा रहेको ऐतिहासिक धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतफुर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनले इच्छाएको मनकामना पूरा हुने गरेको धार्मिक विश्वास छ।

भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक चलन रहेको छ। मेलामा गएका श्रद्धालु तथा भक्तजनले भीमसेनले किचकलाई वध गरेको मूर्तिमा पूजाआर्चना समेत गर्छन्। वर्षमा एक पटक लाग्ने यस मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजन आउने गर्दा घुइँचो लाग्ने गरेको किचकबध धार्मिक मेला उप समितिका अध्यक्ष खड्ग लिम्बूले बताए। 

महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो किचक सेनापति थिए। पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूपमाथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ। सोही कथावस्तुलाई आधार मानेर यस ठाउँका नाम किचकबध नामकरण गरिएको किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल राखिएको हो।

अघिल्लो वर्षको तुलनामा यस वर्ष मेलामा व्यवस्थित बनाइएको उप समितिका कोषाध्यक्ष पुनम लिम्बूले जानकारी दिइन्। उनले मेलामा विभिन्न किसिमका मनोरञ्जनका खेल सामग्रीसहित विभिन्न स्टलहरू राख्दा आकर्षण बढेको बताइन्।  

यता मेलाको उपलक्ष्यमा यस वर्ष भद्रपुर नगरपालिका, कचनकबल, बाह्रदशी र हल्दिबारी गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.