|

काठमाडौं : ठमेल क्षेत्रलाई काठमाडौं उपत्यकाको पर्यटकीय चहलपहलको बजारका रूपमा लिइन्छ। जहाँ दैनिक हजारौँको संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्छन्। सरकारले भ्रमण वर्ष २०२० घोषणा गरिसकेको छ। तर,रोचक कुरा पर्यटकीय चहलपहलले व्यस्त बजार ठमेल क्षेत्रमै सार्वजनिक शौचालय छैन।

ठमेल क्षेत्रमा पैदल यात्रामा रहँदा आन्तरिक तथा बाह्यय पर्यटकले शौचालय सेवा लिन परेमा सार्वजनिक शौचालय कहीँ कतै भेटिँदैन। भारत केरला घर भएका अमित सिंह ठमेलमा सार्वजनिक शौचालय नहुँदा पर्यटकहरूलाई समस्या हुने गरेको बताउँछन्।

होटलबाट काम परेर बाहिर निस्केको र शौचालय जान खोज्दा आफूले कहीँ कतै सार्वजनिक शौचालय नदेखेको उनले थाहाखबरलाई बताए। पर्यटकीय बजारमा ठमेल क्षेत्रमा सार्वजनिक शौचालय नपाउँदा समस्या भएको उनले सुनाए।

'पर्यटकीय बजारमा सार्वजनिक शौचालय नहुँदा कहिलेकाहीँ निकै समस्या हुने गरेको छ', उनले भने, 'आफू बसेको होटलमै तुरुन्तै पुग्‍न सकिँदैन शौचालयकै लागि कुनै कफी सप वा होटलमा पसेर पहिले शौचालय सोध्‍नुपर्ने अवस्था छ।' ठमेल क्षेत्र पर्यटकहरूका लागि राम्रो ठाउँ भए पनि सार्वजनिक शौचालय नभएकोमा उनको गुनासो थियो।

सामाखुसीका दिनेश महर्जन पनि उस्तै समस्या सुनाउँछन्। उनले भने,'ठमेलमा क्षेत्रमा शौचालय प्रयोग गर्नकै लागि क्याफेमा गएर कफी खानुपर्ने बाध्यता छ।  खुला बजारमा र मानिसको बढी ओहोरदोहोर हुने ठाउँमा  सार्वजिनक शौचालय अनिवार्य हुनुपर्ने उनले बताए। काठमाडौं उपत्यकाको सबैभन्दा चर्चित पर्यटकीय बजार ठमेल बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा यस क्षेत्रमा आउने पर्यटकहरूलाई समस्या हुने गरेको उनको भनाइ छ। 

जग्‍गा नभएकाले शौचालय बनाउन सकेनौँ

ठमेल क्षेत्रमा खाली जग्गा नभएकोले सार्वजनिक शौचालय बनाउन नसकिएको ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजुमान डंगोल बताउँछन्। उनका अनुसार पहिले डबली मार्गको वडा कार्यालयमा सार्वजनिक शौचालय थियो। तर, प्राविधिक कारण भन्दै अहिले  त्यो शौचालय बन्द भएको छ।

'ठमेल क्षेत्रमा बढी पर्यटक आउनुका साथै मानिसको भिडभाड पनि बढी नै हुने भएकाले यस क्षेत्रमा सार्वजनिक शौचालय नभई नहुने उनको भनाइ छ। स्थानीय सरकार र पर्यटन विभागसँग यस विषयमा छलफल पनि भइरहेको उनले बताए। 'ठमेल क्षेत्रमा सार्वजनिक शौचालयको प्रयोग गर्न नपाएको चौतर्फी गुनासो आइरहेको छ, 'उनले भने, 'शौचालय निर्माणका लागि स्थानीय सरकार र पर्यटन विभागसँग पनि छलफल गरिरहेका छौँं।'

ठमेल क्षेत्रमा बढीजसो पर्यटकहरूलाई लक्ष्‍य गरेर बनाइएका व्यापारिक संरचनाहरूका कारण पनि त्यस अगाडि  स्मार्ट ट्वाइलेट राख्‍न नमिल्‍ने उनको भनाइ छ। स्मार्ट ट्वाइलेट पनि जहाँ पायो त्यहीँ राखिएमा दुर्गन्ध फैलिएर थप गलत सन्देश जाने डर भएको उनले सुनाए। सुरुमा त राम्रै होला भए पनि पछि यसै विषयले नराम्रो हुनसक्ने उनको धारणा छ। 

चाँडै समाधान गर्छौं

ठमेल क्षेत्रको सार्वजनिक शौचालयको समस्या छिट्टै समाधान गरिने बताउँछन् काठमाडौं महानगरपालिका-२६ का वडा अध्यक्ष ख्याम तिवारी। पर्याप्‍त खाली जग्गा नभएका कारण समस्या भएको र पुरानो शौचालय भएकै स्थानमा पुनः नयाँ शौचालय बनाउने तयारी भइरहेको उनले बताए।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी तत्काललाई स्मार्ट शौचालय राख्‍न लागेको पनि उनले जानकारी दिए। वडा कार्यालयले रात र बिहानको समयमा बढी हिँडडुल गर्ने पर्यटकलाई लक्षित गरी स्मार्ट शौचालय राख्‍ने तयारी गरिरहेको तिवारीले थाहाखबरलाई बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.