|

काठमाडौं : अहिले पनि कतिपय व्यवस्थित भनिएका कार्यालयहरू पनि ढड्ढे पारामा सेवा दिइरहेका छन्। जहाँ बिल भुक्तानी गर्नका लागि टोकनको व्यवस्था गरिएको हुन्छ। कतिपय ठाउँमा त टोकनको पनि व्यवस्था गरिएको छैन। टोकनको व्यवस्था हुने ठाउँमा बसेर पनि आफ्नो पालो आएपछि काम गर्न सकियो तर टोकनको समेत व्यवस्था नहुने कार्यलयमा भने लामो लाइन बस्नुको विकल्प छैन।

विगतमा विद्युत् प्राधिकरणको महशुल भुक्तानी गर्न वा टेलिकमको महशुल तिर्नका लागि लाग्ने लाइन सानो हुँदैन थियो। अहिले भने यी क्षेत्रमा लाइन बस्नुपर्दैन। फुर्सद भएको बेला आफू जहाँ बस्यो त्यहीँबाट बिल भुक्तानी गर्न सकिन्छ।

विद्युत् प्राधिकरण, नेपाल टेलिकम लगायतका संस्थाहरू डिजिटल भुक्तानिमा द्रुत गतिमा काम गर्दैगर्दा काठमाडौ उपत्यका खानेपानी लिमिटेड, खानेपानी विभागहरू अहिले पनि लाइन लगाएर परम्परागत रूपमै भुक्तानी लिने शैलीमै छन्। तर, मुलुकका विभिन्न क्षेत्रमा रहेका खानेपानी समितिहरु भने धमाधम डिजिटलाइज भइरहेका छन्।

दियालो टेक्नालोजिज र ई सेवाको सहकार्यमा खानेपानी समितिहरू धमाधम डिजिटलाइज भइरहेका हुन्। दियालो टेक्नोलोजिजले बनाएको ‘वाटरमार्क’ नामक सफ्टवेयरको प्रयोग र ई सेवाको अनलाइन भुक्तानी सेवाबाट अहिलेसम्म सयवटा खानेपानी समितिहरू डिजिटलाइज भइसकेका छन् भने उपभोक्तालाई अनलाइन भुक्तानीको सेवा पनि दिइरहेका छन्।

दियालोले ई सेवासँगको सहकार्यमा चार वर्षको अवधिमा एक सय  खानेपानी समितिमा वाटरमार्क सफ्टवेयर प्रणाली लागू गरेको छ भने केही समिति तत्काल तत्काल तयारीको क्रममा रहेका छन्।’ ई सेवाले आम मानिसले मोबाईल तथा इन्टरनेटबाटै महशुल भुक्तानी गर्न सकिने सेवा प्रदान गरेको छ। साथै अनलाइन भुक्तानीका लागि विभिन्न प्रोत्साहन मुलक कार्य पनि गर्दै आएको छ।

यसअघि बिजुलीको बिल भुक्तानी, मोबाइल रिचार्ड, जहाजको टिकटका साथै पछिल्लो समय क्युआर कोडमार्फत आफूले खरिद गरेका सामानको मूल्य मोबाइलबाटै भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको ई सेवाबाट खानेपानीको महशुल पनि अनलाइनबाट भुक्तानी गर्नेको संख्या निकै बढेको छ।

दियालो टेक्नोलोजीले बनाएको  वाटर मार्क सफट्वेयरले बिलिङ, लेखा पद्धती,जिन्सी व्यवस्थापनदेखि मिटररिडिङसम्मका कार्यलाई डिजिटलाइज गरेको छ।

‘प्रविधिको प्रयोगले नेपालको जीवनस्तरमा सुधार आओस् छोटो समयमा धेरै काम गर्न सकून् भन्ने हाम्रो चाहाना हो’ दियालोका सिइओ पिआर खनाल भन्छन्, ‘हामीले आफैँ पानीको बिल तिर्नको लागि घण्टौ लाइन बसेका छौँ, यसको समाधान गर्नुपर्छ भनेर वाटरमार्क सफ्टवेरमार्फत सुविधा दिन थालेका हौँ।’

खानेपानी समितिहरूले अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने सुविधा दिनुका साथै कार्यालय प्रयोजनमा पनि वाटरमार्क नामक सफ्टवेयर प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउँदै आएका छन्। खानेपानीको मिटर रिडिङ ‘मिटरमार्क’ नामक मोबाइल एप्लिकेसनबाट गर्न सकिन्छ, भने उपभोक्ताले आफ्नो मोबाईल तथा इन्टरनेटबाट महशुल भुक्तानी गर्न सक्नेछन्।

अनलाइनबाट महशुल भुक्तानी गर्न सकिने भएपछि महशुल बुझाउन जाने समय र खर्चमा कटौती हुँदा उपभोक्तालाई ठूलो राहत भएको देखिन्छ।

अहिलेसम्म यो सफ्ट्वेरको माध्यमबाट ३१ जिल्लामा १०० वटा खानेपानी समितिले सुविधा दिँदै आएका छन्। सबैभन्दा बढी रुपन्देहीमा १३ उपभोक्ता समितिले यस्तो सुविधा दिएका छन् भने नवलपरासीमा १३ वटा समितिले यस्तो सुविधा दिएका छन्।

पहिलोपटक यस्तो प्रविधिको सहायताले सुविधा दिएको लेखनाथ साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यालय प्रमुख शिव अमात्य बताउँछन्। उनी  पहिलेको तुलनामा निकै सजिलो भएको बताउँछन्। उनले समिति र उपभोक्ता दुवैको पैसा र समयको बचत भएको  जनाएका छन्।

अहिले हामीले अनलाइनबाट तिर्ने व्यवस्था गरेको चार वर्ष हुन थाल्यो विगतमा उपभोक्ताहरू बिल तिर्न आउनुपर्दा अधिकांशले दुईवटा गाडी परिवर्तन गरेर आउनुपर‍थ्‍यो । कार्यालयसम्म आउँदाजाँदा ६०/७० रुपैयाँ खर्च हुन्थ्यो भने लामो लाइन पनि बस्नुर्थ्‍यो’ अमात्य भन्छन् ‘उपभोक्ता अहिले घरमै बसेर पैसा तिर्न सक्छन्, हामीलाई पनि घर घरमा बिल लगेर जानु परेन, बिल काट्नुपरेन, मिटर रिडर लग्यो सबै त्यसैले देखाउँछ, अफिसमा लिएर पनि सार्नु परेन।’

दियालो टेक्नोलोजीका सिइओ खनाल भन्छन्,  ‘अहिले विश्वमा मात्रै हैन नेपालमा पनि धेरै क्षेत्रमा लाइन बस्ने प्रवृत्ति हटिसकेको छ, बढी लाइन बस्‍नुपर्ने देखिएको खानेपानी सेवामा पनि अनलाइन भुक्तानी गर्न सकिने बनाइ लाइन बस्ने परम्परालाई हटाउन हामीले प्रयास गरेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.