|

पाल्पा : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अहिलेसम्म नेपालमा कोरोना भाइरसको कुनै प्रभाव नरहेको दावी गरेका छन्। यो भाइरस नेपालमा फैलिएको छ भन्ने भ्रममा नपर्न उनले आग्रहसमेत गरे।

पाल्पा व्यापार संघको आयोजनामा तानसेनस्थित दमकडाको खेलमैदानमा सञ्चालन भएको ‘पाल्पा महोत्सव’को बिहिबार उद्घाटन गर्दै हल्लाको पछि नलाग्न उनले अनुरोध गरेका हुन्।

‘चीनबाट पढेर फर्किएका एकजना विद्यार्थीको कोरोना भाइरस परिक्षण गर्दा सुरुमा पोजेटिभ दखिएको थियो’ उनले भने ‘१५ दिनको उपचारपछि नेगेटिभ देखियो।’ कोरोना भाइरसको आशंकामा अहिलेसम्म १८ जना नेपालीलाई परीक्षण गरेको तर कसैमा पनि यो भाइरसको संक्रमण फेला नपरेको उनले बताए। यो नेपालीको लागि सुखद कुरा भएको उनको भनाई छ।

अहिलेसम्म नेपाल कोरोना मुक्त राष्ट्रको रुपमा रहेको मन्त्री ढकालले दावी गरे। पछिल्लो समयमा सामान्य रुघाखोकी लागेर हाछ्यू चल्यो भने कोरोनाले आक्रमण गर्‍यो भनेर गलत प्रचार हुने गरेको उनले बताए।

शहर होस् वा गाउँ सामान्य रुघाखोकी लागेर हाछ्यू चल्यो भने कोरोनाको संक्रमणले आक्रमण गर्‍यो भन्दै हल्ला चल्न थालेको उनले बताए। यस्तो हल्लाले समाजमा एक खालको भय र आतंक सिर्जना गरेको छ। औपचारिक रुपमा पुष्टी गरेर मात्र सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई उनले आग्रह गरे।

‘अहिले विश्वभर ४५ हजार मानिस यो भाइरसले संक्रमित भएको आशंकामा छन्’ उनले भने ‘४ सयजना बाहेक सबै चिनियाँ नागरिक छन्।’ यो भाइरसका कारण ११ सय बढीको मृत्यु भएको उनले बताए। तर नेपाली सुरक्षित छन्। यो राम्रो पक्ष भएको उनले बताए।

चिनमा रहेका नेपाली विद्यार्थी हुन् अथवा नेपालमै बसेका नेपाली नागरिक किन नहुन् उनीहरूको भविष्यप्रति सरकार चिन्तित छ। कोरोना भाइरसको आक्रमणबाट बाँच्नको लागि नेपाल सरकारले सबै प्रकारको तयारी गरिसकेको उनी बताउछन्।

गत ३१ डिसेम्बरबाट चिनमा नोवेल कोरोना भाइरसको संक्रमण फैलिएको हो। यो भाइरस जनावर तथा पशुपंक्षिबाट मानिसमा सर्ने नयाँ खालको रोग हो। ‘कोरोना भाइरस चरा, र जनावरबाट मानिसमा सर्ने र एक मानिसबाट अर्को मानिसमा सर्छ’ मन्त्री ढकालले भने ‘यसलाई नेपालमा फैलिन नदिनेगरी सरकारले सबै प्रकारको तयारी थालेको छ।’

कृषि, पर्यटनको मुख्य नारा बोकेर आयोजना गरिएको महोत्सवले अर्गानिक कृषि उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनले बताए। विषादीको अधिक्तम प्रयोगले नेपालमा रोग बढ्दै गएको उनले बताए। यसको न्यूनीकरण गर्न अर्गानिक कृषि उत्पादनतर्फ कृषकलाई प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए। 

‘पाल्पाको समृद्धिको आधार : कृषि, पर्यटन र व्यापार’ भन्ने नाराका साथ आजदेखि सुरू भएको महोत्सव ११ गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा २ सय ७५ वटा स्टल रहेका छन्।

पाल्पाका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित पाल्पाली ढाका, करुवालगायतका वस्तु, पाल्पाका पशुपालक किसानले उत्पादन गरेको दुग्धजन्य वस्तु, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामग्री स्टलमा राखिएको संघका अध्यक्ष चिरञ्जीवि पोखरेलले बताए।

झण्डै एकलाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ५ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ भने करिब ७० लाख आम्दानी हुने छ। ४० लाख खर्च गरेर ३० लाख शुद्ध नाफा हुने अनुमान रहेको संघका अध्यक्ष पोखरेलले बताए।

महोत्सव अवलोकनको लागि सर्वसाधारणले ५० रुपयाँ, विद्यार्थीले २५ रुपयाँ तिर्नु पर्ने छ भने ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिले निशुल्क व्यवस्था गरिएको सचिव पर्शुराम पौड्यालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.