वार्षिक कमाइ २ लाख
वार्षिक कमाइ २ लाख
डडेल्धुरा : पछिल्लो समयमा धेरै युवा देशमा रोजगारी पाइएन भनेर विदेशतिर उड्छन्। स्वदेशको जल, जमिन छोडेर गाउँगाउँका युवा खाडी मुलुक तथा भारतीय सहरमा ऊर्जा खर्चिरहेका छन्। एक गाँस खान, एकसरो लगाउन र घर परिवार र लालाबालालाई पाल्नैका लागि दिनहुँ सयौँ युवा विदेशी भूमिमा पुग्छन्।
तर, केही यस्तो पनि युवा छन्। जो आफ्नो मातृभूमिमै बाख्रापालन व्यवसाय गरेर लोभलाग्दो आम्दानी गरिएका छन्। जसको गतिलो उदाहरण हुन्, डडेल्धुराको अजयमेरु गाउँपालिका-३ मगराउँका ३७ वर्षीय युवा कृषक सुरेन्द्रबहादुर चन्द।
चन्दले ६ वर्ष पहिले बाख्रापालन सुरु गरे। अहिले व्यावसियक रूपमा फर्म नै दार्ता गरेर आधुनिक खोरमा व्यवस्थित रूपमा ५२ गोटा बाख्रा पालेका छन्, उनले।
‘पहिले हामी भैँसी गोठसँगै केही गोटा बाख्रापालन गर्दथेँ, जसबाट समान्य घरमा चाहिने नुन तेल खर्च आउँथ्यो’ उनले भने, ‘पछिल्लो ६ वर्षयता मैले आधुनिक खोर बनाएर ५२ गोटा बाख्रा पालेको छु।’
उनी आफूले पालेका बाख्रा सुदूरपश्चिमका पहाडी जिल्ला नै बिक्री हुने गरेको छ। बजारको पनि उनलाई कुनै चिन्ता छैन। घरमै व्यापारीहरू आएर खरिद गरि लग्ने गरेका छन्।
बाख्रासँग नै बित्छ दिन
शनिबारबाहेक उनको दैनिकी जंगलमा बाख्रा चराउने, ल्याउने खोरमा राख्नमै बित्छ। मिलन पोल्टी तथा बाख्रापालन फर्म हेर्न पनि आजभोलि छिमेकी जिल्ला बैतडी, बझाङ, दार्चुलालगायतका कृषक आउने गरेका छन्।
व्यावसायिक बाख्रापालनबाट उनले वार्षिक बैंक व्याज तथा तीन छोराको पढाइ खर्च र घरखर्च कटाएर दुई लाख आम्दानी गर्ने गरेका छन्। ‘९ लाख बैंकबाट कर्जा लिएको छु। ५ लाख गाउँको कर्जा गरी १४ लाख कर्जाको व्याज, छोराहरुको पढाइ खर्च, घरखर्च सबै कटाएर वार्षिक २ लाख आम्दानी हुन्छ’ चन्दले भने।
घाँस खेती
उनको सानो खेतीबारी हरियाली छ। त्यो हरियाली भर्खर उम्रिँदै गरेको नयाँ जातको घाँसको हो। बाख्रापालन गर्न गहुँ तथा मकैखेती हुने २८ रोपनी जमिनमा अहिले विभिन्न जातका घाँस लगाएको छ। बाख्रालाई चरन क्षेत्र प्राप्त भए पनि भिटामिन भएको घाँस तथा बधुवा प्रणालीमा बाख्रापालन गर्न घाँसखेतीको पनि सुरुवात गरेका उनको भनाइ छ।
‘मैले सुपरनेपियर जातको घाँस लगाएका ६ महिना जतिभयो, बाख्रापालनका लागि घाँस खेती पनि आधुनिकरण गरेर, बधुवा प्रणालीमा बाख्रापालन गर्न घाँसखेती गरी रहेको छु’ उनले सुनाए।
घरपरिवारको साथ
पाँच सदस्य रहेको घरपरिवारले पनि उनको व्यबसायलाई सहयोग गर्दै आएको छ। विशेष गरेर श्रीमान्–श्रीमतीले मिलेर बाख्राको गोठलो जाने गरेका छन्।
शनिबार भने छोराहरूको पालो पनि गोठलो जाने आउँछ। चन्दकी श्रीमती हेमाले भनिन्, ‘कहिले म कहिले उहाँ (श्रीमान्) बाख्राको गोठालो जाने गरेका छौँ। समस्या त केही छैन। कर्जाले पिरोलोको छ। जस्तो कति बेला लाग्छ तर बाख्रा बिक्री हुने बेला पिरोलो सकिन्छ।’
‘यो व्यवसायलाई अझैं ठूलो आकार दिन तथा हाम्रो व्यवसायलाई मजबुद बनाउन सरकारी सहयोग आवश्यक छ’ हेमाले थपिन्, ‘अहिले हामीलाई केही ऋण छ हटाउन पाएँ राम्रो लाग्थ्यो।’
बाख्रापालनकै लागि घरमा दाना बनाउन मिल, घाँस काटिङ गर्ने मसिन, माउ बाख्रा, बोका, पाडापाठी छुट्टाछुट्टै राख्ने व्यवस्था गरीएको छ। बाख्रापालनका लागि उपयुक्त हावापानीका साथै चरिचरनका लागि प्रयाप्त जंगल क्षेत्र भएकाले उनको बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ।
स्थानीय सरकार अजयमेरू गाउँपालिकाले पनि युवा कृषक चन्दलाई विभिन्न अनुदानका कार्यक्रममा समेटेको जनाएको छ। घाँसखेतीको सिंचाई पोखरीका लागि १ लाख र ५० हजार बाख्रा धुने पोखरी निमार्णका लागि अनुदान दिएको गाउँपालिका पशु सेवा शाखाले जनाएको छ। तकालिन पशुसेवा कार्यालयले पनि उनलाई १ लाख अनुदान सहयोग गरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालय डडेल्धुराका प्रमुख खड्कबहादुर शाहले जानकारी दिए।
‘उनी राम्रो कृषक तथा मिहेनती कृषक भएकाले उनलाई त्यो समयमा हामीले सहयोग गरेका छौँ। अब पनि हामी उनलाई आवश्यक सहयोगको लागि तयार छौँ’ प्रमुख शाहले भने, ‘२०७० सालबाटै निमार्ण गरेको खोर र बाख्राहरुको १० लाख बीमा समेत गरेका छन्।’ ‘सबैको बीमा छ, सबैको खर्च बाख्रापालनबाट धान्दैछु।’ कृषक चन्दले भने।
केही वर्ष पहिलेसम्म मासुका लागि खसीबोका आयात हुने डडेल्धुराबाट आजभोलि भने खसी बोका निर्यात हुने गरेको गरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञको कार्यालय डडेल्धुरा, डोटीले जनाएको छ। युवामा इच्छा शक्ति दरिलो भए हाम्रो भूमिमा पनि सुन फालाउन सकिन्छ। सम्बन्धित निकायले पनि युवा व्यवसायीहरुलाई सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याउन यस क्षेत्रका कृषकहरुको माग छ।
युवालाई सुझाव
रोगजारीका लागि लाखौँ लगानी गरेर विदेश जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सके आम्दानीका साथै गर्वका साथ बाँच्न सकिने उनको भनाइ छ। ‘आधुनिक तरिकाले विभिन्न व्यवसाय गरेमा युवाहरू विदेश पलायन हुनुपर्दैन’, उनले भने, ‘आफूले गर्न लागेको पेसाबारे ज्ञान हुनुपर्छ। लगनशील भएर लाग्नुपर्छ।’
सरकारले बेरोजगार तथा गरिब युवालाई सीपमूलक तालिमको व्यवस्था गरे युवाले रोजगारीको खोजीमा विदेशिनु नपर्ने उनको बुझाइ छ। हरेक स्थानीय तहले युवाका लागि सीपमूलक तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ।
देशमा जे काम गरे पनि राम्रोसँग बुझेर र लगनशील भएर गर्नपर्नेको सुझाव छ। विदेशी भूमिमा १२ घण्टा पसिना बगाएर छोराछोरीको पालनपोषण गर्नुभन्दा नेपाली भूमिमै पसिना बगाएर आम्दानी गर्न सकिने उनको ठम्याइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।