|

बागलुङ : नेपाली कांग्रेसका उप-सभापति विमलेन्द्र निधिले सरकारले संघीयता र लोकतन्त्रविरोधी काम गर्दै गएको आरोप लगाए। उनले सरकार संघीयताको सुदृढीकरण र लोकतन्त्रको रक्षाका लागि कुनै पनि गतिविधि हासिल गर्न नसकेको बताएका हुन्।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै निधीले सरकारले दुई वर्षमा आफू संघीयताको सिद्धान्त अनुरुप पनि चल्न नसकेको बताए। 

‘प्रधानमन्त्री केपी शर्मा ओली सरकारको आज दुई वर्ष पुगेको दिन हो। उहाँले आफ्ना गतिविधि शनिबार सार्वजनिक गर्नुभएको थियो' उपसभापति निधिले भने, ‘मैले पनि के रैछ त प्रगति भनेर राम्रोसँग सुने, उहाँको मुख्य प्रगति भनेको त दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो भन्ने रैछ। यो त निकै हास्यास्पद प्रगति भयो।' प्रधानमन्त्रीले आफू कुर्सीमा टिकिरहेको नै उपलब्ध ठान्नुहुन्छ भने जनता के-को आशा गर्ने?'

पूर्व गृहमन्त्री निधिले दुई वर्षमा कांग्रेसका पालामा गरेका गतिविधिको रिबन काट्नेबाहेक अन्य कुनै पनि गतिविधि सरकारले हाँसिल गर्न नसकेको बताए। उनले सरकारका उपलब्धि भनेको प्रेस र अभिव्यक्तिको स्वतन्त्रतालाई निषेधको काम मात्र रहेको जिकिर गरे। उनले नेपालमा कांग्रेस मात्र लोकतान्त्रिक र प्रजातान्त्रिक पार्टी भएको उदघोष गरेका छन्। पछिल्लो समयमा कम्युनिष्ट पनि हामी लोकतन्त्रबादी हौ भन्दै हिड्छन्?

नेता निधिले भने,'बाहिर खोक्रो नारा लगाएर हुँदैन। लोकतन्त्रको महशुस जनतालाई गराउनुपर्‍यो। नेपालमा ‘बाई वर्थ’ लोकतन्त्रबादी पार्टी भनेकै कांग्रेस हो। यसको जन्म हुँदा कम्युनिष्टको कुनै जन्म भएको थिएन।' उनले कम्युनिष्ट आफूलाई रुपान्तरण गरेर अगाडि बढन नसके लोकतन्त्रबादी बन्न नसक्ने बताए। उनले आफ्ना कार्यकर्तालाई संघीयाताको सिद्धान्त अनुसार स्थानीय तहसम्म आफ्नो संगठनलाई बलियो बनाउन आग्रह गरेका थिए। 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले कांग्रेसका पालामा खनेका बाटोमा धुलो उढाउँदै गएर कांग्रेसलाई नै गाली गर्ने कम्युनिष्टको बानी अलि निरंकुशताबादी भएको बताए। 

दुई दिनसम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचन, आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल, कांग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापा, पूर्व पार्टी सभापति एवं गण्डकी प्रदेशका प्रमुख सचेतक मणिभद्र शर्मा कंडेल, पूर्व पार्टी सभापति हरिप्रसाद श्रेष्ठ, संविधानसभा सदस्य एवं पूर्व पार्टी सभापति प्रकाश शर्मा पौडेल, पूर्व राज्यमन्त्री चम्पादेवी खड्का, कांग्रेस बागलुङका सचिव नवराज पौडेल, महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, जैमिनी नगरपालिका नगरप्रमुख इन्द्रराज पौडेल, गलकोट नगरपालिकाका नजरप्रमुख भरत शर्मा गैरे, निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय उपाध्यक्ष दिनेश थापालगायतको आअफ्नो बिचार राखेका थिए।

कार्यक्रमको विषयवस्तुको बारेमा कांग्रेस बागलुङका क्षेत्रीय सभापति नारायण शर्मा पौडेलले प्रकाश पारेका थिए। कार्यक्रम क्षेत्रीय सभापति चिरञ्जीवी गौतमको अध्यक्षता प्रदेश क्षेत्रीय सभापति शिवप्रसाद कंडेलको स्वागत र सचिव विकास पौडेलको संचालनमा सम्पन्न भएको थियो। 

प्रशिक्षण कार्यक्रममा राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष डा गोविन्द पोखरेल, कांग्रेसका युवा नेता देवराज चालिसे, कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य एलबि पुनलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको कांग्रेस बागलुङले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.